इलाम । पूर्वी पहाडी जिल्ला इलामको पर्यटकीयस्थलमा भारतीय पर्यटकहरुको आकर्षण बढेको छ । पर्यटकीयस्थलबाट नियाल्न सकिने प्राकृतिक सुन्दरता, चिया बगान, पोखरी र धार्मिकस्थलहरुमा भारतीय पर्यटकहरुको आकर्षण बढेको हो । पर्यटकीय क्षेत्र कन्याममा अहिले भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति हुन्छ । चिसो मौसम र प्राकृतिक सुन्दरताको दृश्यमा रमाउने पर्यटकहरुको संख्या अहिले बढेको छ ।

सूर्योदयको दृश्यको आनन्द लिन सकिने अन्तुमा अहिले भारतको विभिन्न राज्यबाट पर्यटक आउने क्रम बढेको छ । दैनिक तीन सय बढी भारतीय पर्यटकहरु अन्तुको प्राकृतिक सुन्दरतामा रमाउने गरेका छन् । कन्याम, अन्तु मात्रै हैन इलामका पर्यटकीयस्थलमा अहिले भारतीय पर्यटकहरुको आकर्षण बढेको छ । चिसो हावापानी, प्राकृतिक सुन्दरता, जैविक विविधता, पोखरीहरु र धार्मिकस्थलमा भारतीय पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको हो ।

नेपाली चियाको इतिहास बोकेको इलाम चिया बगान, ऐतिहासिक महत्वको माईस्थान मन्दिरमा पनि भारतीय पर्यटक पुग्ने गरेका छन् । नेपालका पर्यटकीयस्थलहरुबाट दृश्यावलोकन गर्न सकिने प्राकृतिक सुुन्दरताले धेरै आनन्दित बनाएको पर्यटकहरु बताउँछन् । इलामको पशुपतिनगर र झापाको काँकरभिट्टा नाकाबाट भारतीय पर्यटकहरु इलाम भ्रमणका लागि आउने गरेका छन् । काँकरभिट्टाबाट इलाम आउने पर्यटकहरुको पशुपतिनगरबाट फर्किने र पशुपतिनगरबाट नेपाल भित्रने पर्यटकहरु झापाका पर्यटकियस्थल घुम्दै काँकरभिट्टाबाट भारत फर्किने गरेका छन् ।

इलाममा भारतको दार्जिलिङ र सिक्किमका पर्यटक बढी मात्रामा आउने गरेका पर्यटकीय सुचना केन्द्र जोरकलसको तथ्याङ्कमा उल्लेख छ । भारतीय पर्यटकहरुको आकर्षण इलामको सानी पाथिभरा, कन्याम, अन्तु, इलाम चिया कमान, माईपोखरी र पानीटार हुने गरेको छ ।
