Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

‘चिया मजदुरको चरम संकट छ, युवालाई विदेशिनबाट रोक्नु पर्छ’ : इन्द्र अधिकारी

‘चिया मजदुरको चरम संकट छ, युवालाई विदेशिनबाट रोक्नु पर्छ’ : इन्द्र अधिकारी

  • दिक्षा भट्टराई
  • शनिबार, असोज १३ २०८०


‘चिया मजदुरको चरम संकट छ, युवालाई विदेशिनबाट रोक्नु पर्छ’ : इन्द्र अधिकारी

चिया बिक्री गरेर मात्रै नेपाल सरकारले वार्षिक चार अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको छ । ७० हजार बढीले रोजगार पाएका छन् । चिया उत्पादक किसानका गुनासा रोकिएको छैन । किसानका कतिपय गुनासा जायज भए पनि किसानमा पनि कतिपय समस्या रहेको बताउछन् चिया तथा कफि विकास बोर्डका क्षेत्रिय कार्यालय प्रमुख इन्द्र अधिकारी । युवाहरु विदेश पलायनको असर चिया उद्योगमा पनि परेको छ । श्रमिकको चरम अभाव भएको धारणा राख्ने अधिकारीसंग गरिएको कुराकानी : 

चिया किसानको अहिलेको अवस्था कस्तो छ ?

अन्य मुलुकको तुलनामा हाम्रो देशको उत्पादन लागत बढी छ । उत्पादन लागत बढी भएकाले सोचे अनुसार किसानहरुले बिक्री मूल्य पाइरहनु भएको छैन । अधिकांश साना किसानहरु निराश छन् । चियाको बोट उखेलेर फालौं थप खर्च हुन्छ राखिराखौं आम्दानी छैन । किसानहरु एकखालको ट्रयापमा परेका छन् ।

चिया किसानले कस्ता गुनासो गर्छन् ?

करखानाले उचित मूल्य दिदैँन, समयमा दिदैँन भन्ने त स्थायी गुनासो भैहाल्यो । समयमा रासायनिक मल नपाउदा समस्या भइरहेको छ । श्रमिकहरुको अभाव सबै भन्दा ठूलो समस्या बनेको छ । चिया बगानका लागि पहिला जति श्रमिक पाइन्थ्यो, अहिले पाइदैन । युवाहरु कि त विदेश कि शहर पलायन भएकाले पनि ग्रामीण भेगमा श्रमिकको अभाव छ । यदि युवा पुस्तालाई विदेशिनबाट नरोक्ने हो भने श्रमिकको समस्या विकराल हुनसक्छ भन्नेमा राज्य गम्भिर हुन जरुरी छ ।

मजदुरहरुले काम अनुसारको ज्याला नपाएको गुनासो गर्छन्, यो गुनासो मात्र हो कि खास समस्या हो ?

श्रमिकहरुको त्यो समस्या छ । २÷२ वर्षमा ज्याला वृद्धि गर्ने भन्ने कुरा थियो । यो पटक सरकारले भर्खरै मिलाइदियो । अहिले चिया बगानको हकमा ८ घण्टा काम गरे बापत पाँचसय रुपैँया पाउँछन् । चियामा बेग्लै डबली सेक्सन हुन्छ । जस्तो २५ के। जी। टिपेपछि १ हाजिरा र त्यो भन्दा धेरै टिपेपछि इन्सेन्टिभ बोनस पाईन्छ । अहिले त्यो समस्या छैन ।

स्थानीय किसानहरुले भने अनुसारको मूल्य नपाएको गुनासो गर्छन्, कुरा के हो ?

चियाको मूल्य नपाएको भन्ने छ । समस्या किसानमा पनि छ । किसानले पनि गुणस्तर अनुसारको हरियो पत्ती टिप्नु पर्यो नि । चियाको गुणस्तर अनुसारको मूल्य हुन्छ । राम्रो चियाको त्यहिँ अनुसारको मूल्य छ । स्टान्र्डड पल्टिङ गरेर बिक्री गर्नेले राम्रै मूल्य पाएका छन् । कच्चीको चाहिँ भन्न सकिदैन ।

गुनासो सम्बोधनका लागि तपाईहरुले के पहल गर्नु भएको छ ?

हामीले सहकारीहरुलाई अनुदान दिएका छौ । सहकारीमा आबद्ध किसानले धेरै नै राम्रो मूल्य पाउनु भएको छ । सहकारीमा सबै कुरा पारदर्शी हुन्छ । कतिमा बिक्री भयो, बिक्री मूल्यको आधारमा हरियो पत्तिको मूल्य निर्धारण भइरहेको छ । अन्य किसानको हकमा चाहिँ हामीले भन्न सक्दैनौं । उहाँहरु लिने र दिनेमा आफै सहमति गर्नुहुन्छ । हामीले किसानलाई बेला बेलामा तालिम दिने गरेका छौं । यसपालीबाट सबै किसानका लागि रासायनिक मल पनि सिफारिस गरेका छौं । अहिले मलको पनि केही हद सम्म सुविधा छ । क्षमता विकासका लागि तालिम दिने, खेती प्रविधिबारे तालिम दिने, समूह सहकारी निमार्ण गरेर सहयोग गर्ने यस्तै कृषक लक्षित कार्यक्रमहरु गरि रहेका छौं ।

अन्तराष्ट्रिय बजारमा नेपाली चिया बिक्री गर्न कतिको समस्या छ ?

सि टि सि चियाको त ५० प्रतिशत नेपालको उत्पादन भारतमा बिक्री हुन्छ । अब भारत आफैं धेरै मात्रामा चिया उत्पादन हुने मुलुक हो । हामीले र्फोसफुल्ली त्यहाँ मार्केटिङ गरिरहनु परेको छ । भारत बाहेक तेस्रो देशमा जानका लागि त्यही अनुसारको गुणस्तर चाहिन्छ । त्यहिँ अनुसारको भोलममा उत्पादन पनि हुनुपर्छ । मुख्य त एकरुपता हुनुपर्यो । एक महिना एउटा उत्पादन अर्को महिना अर्को उत्पादन भयो भने त्यहाँ आफ्नो ब्रान्ड प्रर्वद्धन गर्न सकिदैन । यी चुनौती भए पनि बोर्डले काम शुरु गरिसकेको छ । आशा गरौं । चीनसंग गर्भमेन्ट टु गर्भमेन्ट एग्रिमेन्ट गर्ने तयारीमा बोर्ड छ ।

नेपाली चियाको गुणस्तरका विषयमा कतिपय मुलुकले प्रश्न उठाएका थिए, त्यो प्रश्न अझै पनि उठिरहेको छ ?

नेपाली चियाले कतिपय प्रतिस्पर्धामा गोल्डमेडल पनि पाएको छ । राम्रो छ नेपाली चियाको गुणस्तर । तर अर्गानिक चिया भनेर कत्तिले स्विकार्नु भएको पनि छ । सर्टिफाइड चियाहरुमा त्यो समस्या छैन । कहिले काहिँ हामी पनि समाचार सुन्छौं, एग्रिमेन्ट रद्द भयो भनेर तर निर्यात भइ सकेको चिया फिर्ता भएको छैन ।

समग्र चिया उद्योगले कतिलाई रोजगार दिएको छ ?

बगानले, कारखानाले गरेर ७० हजार रोजगार सृजना गरेको छ । नेपालमा चिया उद्योगले वार्षिक ४ अर्ब बराबरको वैदेशिक मुद्रा आर्जन गरेको छ । अहिले नेपालभरि २८ हजार हेक्टरमा चिया खेती भएको छ । एउटा अध्ययनले के देखाउछ भने ४५ वटा जिल्लामा चिया खेती विस्तार गर्न सकिन्छ ।

तपाईहरुलाई काम गर्न कतिको गाह्रो छ ?

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड नेपाल सरकारको आधिकारीक निकाय हो । तर अब यसमा पनि योजना, आवश्यकता अनुसार कार्यक्रम, बजेटहरुको अभाव छ । कहिलेकाहिँ राजनितीक नेतृत्व हुने भएकाले कहिलेकाँही अलिकति ड्रटि पोलेटिक्स पनि हुने गरेको छ । समृद्धिका लागि ग्रामिण अर्थतन्त्रको मुख्य आधार चिया पनि हो । यसले धेरैलाई रोजगार दिन्छ र दिइरहेको पनि छ । यसलाई व्यवस्थित गर्न नीतिगत सुधार गरेर कार्यक्रमको बजेट सहित सरकारले यसलाई बेला मै ध्यान दिन सक्यो भने यसको भविष्य धेरै राम्रो छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार