सन्दकपुर । इलामको पर्यटकीय गाउँपालिका सन्दकपुर गाउँपालिका इलाममा टोलविकास स्वयंसेवी उपभोक्ता संस्था गठन धमाधम भइरहेको छ । सन्दकपुरका ५ वटै वडाहरुमा अहिले जनप्रतिनिधिहरुले टोलविकास स्वयंसेवी उपभोक्ता संस्था गठनलाई अभियानकै रुपमा गरिरहेका छन् ।

गाउँको विकास निर्माणसँगै गाउँपालिका भित्रका हरेक कामलाई जवाफदेहि बनाउनका लागि सन्दकपुरले टोल विकास तथा स्वयंसेवी उपभोक्ता संस्था गठन गरिँदै आएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । सन्दकपुरका ५ वटै वडामध्ये वडा नम्बर ३ का केहि टोलमा मात्र टोलविकास स्वयंसेवी उपभोक्ता संस्था गठन कार्यक्रम बाँकी रहेको उपाध्यक्ष हरि लुङ्गेलीले बताए । गाउँपालिकाले टोलविकास स्वयंसेवी उपभोक्ता संस्था मार्फत विकास निर्माणका काम गर्ने योजना समेत बनाएको छ । सन्दकपुर गाउँपालिकाको वडा नम्बर १ मा ३ वटा टोलविकास स्वयंसेवी उपभोक्ता संस्था गठन भएको छ । भौगोलिक बस्तुस्थितिका आधारमा टोलविकास स्वयंसेवी उपभोक्ता संस्था गठन भएको वडा नम्बर २ का अध्यक्ष सनम राईले बताए ।

सन्दकपुर वडा नम्बर २ मा ५ वटा टोलविकास स्वयंसेवी उपभोक्ता संस्था गठन भएका छन् । यस्तै वडा नम्बर ३ मा चार वटा टोल विकास संस्था गठन हुनेछन् । त्यसमध्ये २ वटा टोलविकास स्वयंसेवी उपभोक्ता संस्था गठन भएको वडाअध्यक्ष लिल बहादूर बुर्जाले बताए ।

सन्दकपुर वडा नम्बर ४ मा ८ वटा टोलविकास स्वयंसेवी उपभोक्ता संस्था गठन भएको वडाअध्यक्ष ढाल बहादूर गुरुङ्गले बताए । यस्तै वडा नम्बर ५ मा ५ वटै संस्था गठन भएको वडा सदस्य कुमार गुरुङले बताए । टोल विकास संस्थाले विकास निर्माणमा सहयोग गर्ने, दैवि विपद्को उद्धारमा लाग्ने, आफ्नो टोलमा विनियोजित बजेटलाई कार्यान्वयन गर्ने, जनचेतनामुलक कार्यक्रम संचालन गर्ने, पालिकाको सकारात्मक गुणात्मक र मात्रात्मक रुपमा विकास गर्न सहयोग गर्ने लगायतका कार्ययोजना रहेका छन् ।
