सूर्योदय । सशस्त्र जनयुद्धको अन्त्यसँगै शान्ति प्रक्रियामा आएपछि नेकपा माओवादी केन्द्रले जनताका घर घरमा पुग्ने अभियान संचालनको थालनी भएको छ । २०६४ को प्रथम संविधानसभाको निर्वाचनपछि कार्यकर्ता र जनतासँग टुटेको सम्बन्ध पुनःस्थापित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने योजनाका साथ माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु अहिले अभियानमा जुटेका छन् ।
प्रथम संविधानसभाको निर्वाचनमा प्रथम शक्ति भएर उदाएको माओवादी संविधानसभाको निर्वाचनपछि पार्टीमा आएको टुटफुट र विभाजनले कमजोर बनेको माओवादी केन्द्रले आफ्नो पार्टीलाई चुस्त बनाउने तीन महिने अभियानको थालनी भएको हो । शसस्त्र जनयुद्धको अन्त्य र शान्तिप्रक्रियासँगै सहर पसेको माओवादी पार्टी प्राप्त उपलब्धीबारे जनतामा कार्यक्रम लिएर नपुग्दा इलाममा निरन्तर खस्किएको थियो ।
दोस्रो संविधानसभको निर्वाचनमा तेस्रोमा खुम्चिएको माओवादी केन्द्र १६ वर्षपछि जनताका घर घरमा पुग्ने र जनताका भावना बुझ्ने प्रयासमा लागेको हो । माओवादी केन्द्रले जनतासँग माओवादी ः बिषेश रुपान्तरण अभियान अन्तरगत इलामको सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका र रोङ गाउँपालिकामा रचनात्मक कार्यक्रम आयोजना गरिएको छ । जनतासँग माओवादी ः बिषेश रुपान्तरण अभियान पालिका र वडा इञ्चार्जको उपस्थितिमा उद्घाटन भएको हो ।
माओवादी केन्द्रले बिषेश अभियानको सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकामा केन्द्रिय सदस्य केपि बराल, रोङ गाउँपालिकामा केन्द्रिय सदस्य लक्ष्मी न्यौपानेलाई इञ्चार्ज तोकेको थियो । सूर्योदय नगरपालिकाका भित्रका १४ वटै वडाहरुमा अभियानको उद्घाटन गरिएको नगर इञ्चार्ज प्रविन तिमसिनाले बताए । सूर्योदय नगरपालिका वडा नम्बर १३ मा अभियानको उद्घाटन गर्दै अभियान नगर इञ्चार्ज तथा केन्द्रिय सदस्य केपि बरालले देशमा ठुलठुला परिवर्तनको नेतृत्व गर्ने माओवादी पार्टी कमजोर नभएको बताए ।
पार्टीका आन्तरिक र देशको राजनीतिक परिस्थिताका कारण भुमिका कमजोर जस्तो देखिएपनि त्यो सत्य नभएको बरालले बताए । प्रथम संविधान सभा निर्वाचतनमा प्रथम शक्ति भएर उदय भएको माओवादी पार्टीले राजनीतिक मुद्धा संस्थागत गर्न बढी समय खर्च गर्नुपरेकाले जनताका घर घरमा पुग्न नसकेपनि अब सबै जनताको घर घरमा पुगेर गुनासा र मागहरु संकलन गरि सम्बोधन गर्ने गरि लाग्ने उनले बताए । उनले भने–‘ माओवादी कमजोर भएको हैन, जनता रिसाएर मत मात्रै कम दिएका हुन्, हामीले अब जनताका मागमा आधारित योजनाहरु कार्यान्वयन गर्नुपर्छ, हामी बलियो भएर पुनः फर्किन्छौ ।
यसैगरि रोङ गाउँपालिका अभियान इञ्चार्ज लक्ष्मी न्यौपानेले माओवादी पार्टी अब सच्चा गणतन्त्रवादी पार्टी भएकाले यसलाई संस्थागत गर्न पनि माओवादी नै बलियो हुनुपर्ने बताइन् । अभियान अन्तरगत सबै वडामा रचनात्मक काम गरि उद्घाटनको काम भएको हो । अभियानको कार्यक्रम अन्तरगत सन्दकपुर गाउँपालिकामा अभियानको उद्घाटन केन्द्रिय सदस्य तथा युवा नेता रञ्जित तामाङको प्रमुख आथित्यतामा थालनी भएको छ । अभियानको उद्घाटन गर्दै तामाङले माओवादी केन्द्रले आफुलाई समय अनुसार परिवर्तन गर्दै देश विकासमा लाग्ने बताए ।