Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एकल महिलाको जीविकोपार्जन सहज बनाउन इलाम नगरपालिकामा कोष स्थापना

एकल महिलाको जीविकोपार्जन सहज बनाउन इलाम नगरपालिकामा कोष स्थापना

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र ७ २०८०


एकल महिलाको जीविकोपार्जन सहज बनाउन इलाम नगरपालिकामा कोष स्थापना

इलाम – इलाम नगरपालिका–७ ले एकल महिलाका लागि कोष निर्माण गरेको छ । इलाम नगरपालिका–७ नं वडा कार्यालयले वडाभित्र रहेका एकल महिलाको जीविकोपाजर्नमा सहयोग पुर्याउने उद्देश्यले कोष स्थापना गरेको हो ।

कोषको ब्याजबाट एकल महिलाका क्षेत्रमा काम सहजता हुने बताइएको छ । सीपमूलक कार्यमा सहभागी हुँदै एकल महिलाका क्रियाकलापमा सहजता प्रदान गर्न सो काम गरेको वडाध्यक्ष नरेश श्रेष्ठले बताए । उनले पहिला त एकल महिलालाई सङ्गठित बनाएको र उहाँहरूको क्रियाकलापमा सहज होस् भनेर सो काम गरेको बताए ।

सो कोषमा एकल महिलाका तर्फबाट समेत मासिकरूपमा रु दुई सय जम्मा गरिने छ । साथै वडाध्यक्ष श्रेष्ठले समेत मासिक रु पाँच सय रकम जम्मा गर्ने बताए । महिला सक्षम भए पनि एकल भएपछि घरमा नै रहने तथा सामाजिक कार्यमा जुट्न अप्ठ्यारो मान्ने भएकाले पनि उनीहरूलाई सङ्गठित गरेर सामाजिक कार्यमा लाग्न प्रेरणा जगाउने उद्देश्यले आफूले सो काम थालेको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

वडामा हालसम्मको तथ्याङ्क अनुसार ५४ एकल महिला छन् । एकल महिलाले समिति नै निर्माण गरेर काम गर्ने योजना बनाएका छन् । वडाभित्र रहेका अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकको स्वास्थ्य बीमासमेत गरिदिएको छ । वडाले चाँडै नै ज्येष्ठ नागरिक तथा एकल महिलाका लागि तीर्थयात्रा भ्रमण गराउने योजना छ ।

वडाध्यक्ष श्रेष्ठकै पहलमा उक्त वडामा रहेका चार महिला स्वास्थ्य स्वयंसेविकाको जीवन बीमासमेत गरिएको छ । यो कार्य इलाम नगरपालिकाको १२ वडामध्ये वडा नं ७ ले सबैभन्दा पहिला सुरु गरेको हो ।

महिला स्वास्थ्य स्वयंसेविकाको जीवन बीमा वडाको बजेटबाट नभई वडाध्यक्ष श्रेष्ठले व्यक्तिगतरूपमा रु १५–१५ हजार र महिला स्वास्थ्य स्वयंसेविकाले रु १०–१० हजार तिरेर रु १०–१० लाखको जीवन बीमा गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार