काठमाडौँ । कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र घोषित इलामको सन्दकपुर गाउँपालिकामा विद्युत विस्तार, वन, पर्यावरण जलाधार संरक्षण र पर्यटन प्रवर्द्धनबारे दूई मन्त्रालयमा छलफल सम्पन्न भएको छ ।

एक प्रदेश एक सास्कृतिक ग्राममा घोषित सन्दकपुर गाउँपालिकाको समग्र विकासका लागि काठमाडौँ आएको टोलीले उर्जा तथा जलश्रोत मन्त्रालय र वन तथा वातावरण मन्त्रालयमा छलफल गरेको हो । पूर्व प्रधानमन्त्री झलनाथ खनालका प्रमुख स्वकीय सचिव कृष्ण भट्टराई, सन्दकपुर २ का वडाध्यक्ष सनम राई, नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष राम योङ्हाङ्ग, सल्लाहाकार सुजन तिमसिना, सन्दकपुरर ५ का स्थानीयबासी नरेश गुरुङ्ग सहितको टोलीले उर्जा मन्त्रालयका अधिकारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीसँग छलफल गरेको थियो ।

टोलीले उर्जा मन्त्रालयका अधिकारी र नेपाल विद्युत प्राधिकरणका कर्मचारीसँग नेपाल कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सन्दकपुरसम्म विद्युत विस्तार भएपनि पटक पटक विद्युत अवरोध हुने समस्या हटाउन कबर कन्डक्टर तार परिवर्तन गर्नुपर्ने माग राखेको थियो । सन्दकपुर २ का वडाअध्यक्ष सनम राईले बढी हिमपात हुने, हावाहुरी हुँदा विद्युत अवरोध हुने क्षेत्र श्रीयाङ्जीदेखि सन्दकपुर डाँडासम्मको ८ किलोमिटर क्षेत्रको तार परिवर्तन गर्न माग गरेका थिए ।

बढी मात्रामा हावाहुरी र हिउँ पर्दा दूर्घटना समेत भएकाले ८ किलोमिटर क्षेत्रको अहिलेको तार परिवर्तन गरि कबर कन्डक्टर तार लगाउनुपर्ने राईले बताए । जवाफमा उर्जा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि धर्म पुनले नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख विजुली प्रसाद यादवलाई फोन गरि का अघि बढाउन आवश्यक प्रक्रिया शुरु गर्न निर्देशन दिएका थिए । उनले सन्दकपुरमा निर्माण गर्ने निश्चित भएको सव स्टेसनको काम पनि अघि बढाउन निर्देशन दिए ।

टोलीले सन्दकपुरमा विद्युत प्राधिकरणको सव स्टेसन निर्माणको काम चाँडो गर्न उर्जा मन्त्रालयका अधिकारी र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिसँग माग गरेको थियो । यस्तै टोलीले वन तथा वातावरण मन्त्रालयमा सन्दकपुरमा निर्माण भएको रेडपाण्डा प्रजनन् केन्द्र संचालन, समुदायमा आधारित वन संरक्षण तथा पर्यटन प्रवद्र्धन कार्यक्रम र पर्यटकीय क्षेत्र गैरीबासबाट कालपोखरीसम्म जंगल सफारी निर्माणबारे छलफल भएको छ । मन्त्रालयका सचिव डा रेवतीरवण पोखरेल, सहसचिव रामचन्द्र कडेलसँग छलफल भएको थियो । छलफलमा मन्त्रालयका सचिव पोखरेल र सह सचिव कडेलले रेडपाण्डा प्रजनन् केन्द्रको रुपमा संचालन गर्न कानुनले नमिल्ने भएपनि सामुदायीक वनको समन्वयमा वन्यजन्तु उद्धार केन्द्रको रुपमा संचालन गर्न सकिने बताएका थिए ।

त्यसबारे थप अध्ययन गरि जवाफ दिने मन्त्रालयका सचिव र सहसचिवको भनाइ छ । यसैगरि पर्यटकीय क्षेत्र गैरीबासबाट कालपोखरी जोड्ने जंगल सफारी निर्माणका लागि डिभिजन वन कार्यालयसँग समन्वय गरि गर्न सकिने भएकाले मन्त्रालयले सहजिकरण गर्ने उनीहरुको भनाइ छ । यस्तै सन्दकपुर गाउँपालिका भरी नै संचालन हुनेगरि सामुदायमा आधारित वन संरक्षण तथा पर्यटन प्रवद्र्धन कार्यक्रममा मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।
