माङ्सेबुङ्ग (फुलुङ्गि) । इलामको माङसेबुङ गाउँपालिका–३, मा पर्ने फुलुङ्गी किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ज्ञानभूमि हो । इलामको माई नदी, देउमाई नदी र मेक्वाखोलाको सङ्गमस्थलमा पर्ने फुलुङ्गीमा २०२७ साल साउन २५ गतेबाट किरात धर्मगुरु आत्मानन्द लिङ्देनले ध्यान गरेका थिए ।

धर्मगुरु आत्मानन्द लिङ्देनले त्यस ठाउँमा लगातार छ महिना ध्यानमा बसी समाधिज्ञान प्राप्त गरेका थिए । समाधिज्ञान प्राप्त गरेपछि लिङदेनले आफ्नो जन्मको औचित्य थाहा पाएर सोही ठाउँमा नियमित पूजापाठ सुरु गरेका थिए ।

माघे संक्रान्तिको अवसरमा लाधुङसेमी सेवा भयो । र, फुलुङगी मेला (प्रत्येक माघे संक्रान्तिमा लाग्ने मेला) मा आउने सबैलाई प्रसाद वितरण गरियो । अहिले पनि त्यस ठाउँमा प्रत्येक वर्ष माघे संक्रान्तिमा मेला लाग्ने गरेको छ ।

सो ठाउँ झापाको बिर्तामोडबाट माई नगरपालिका, शितली तथा इलामबाट देउमाई नगरपालिकाको जितपुर हुँदै एवम् माङसेबुङको चतुरे हुँदै सहजै पुग्न सकिन्छ । फुलुङ्गीमा परम्परागत रुपमा फुलुङ्गी मेला माघ १ गते लाग्ने गरेको थियो । अहिले सोहि दिने सत्तेहाङ्मा शान्ति मकर मेला लाग्ने गरेको हो ।





