फिक्कल । इलाममा अहिले बर्षा भइरहेपनि चेतावनी स्तर भन्दा कम रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टाको अवधिमा इलाममा अधिकतम ४५ मिलिमिटर पानी परिरहेको छ । समाचार तयार पार्दासम्म महाशाखाको तथ्यांक अनुसार बरफल्याङ क्षेत्रमा ४५ मिलमिटर बर्षा मापन गरिएको हो ।
त्यसैगरी इलाम चिया बगानमा २२.८ मिलिमिटर बर्षा मापन गरिएको छ । महाशाखाका अनुसार सुनसरीको इटहरी, मोरङको लेटाङ, हरैचा आसपास अति भारी वर्षा भएको छ । थप वर्षा हुने पूर्वानुमानसमेत गरिएको छ । त्यसैले बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रा लगायत सुनसरी र मोरङका साना खोलाहरुमा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम रहेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकीका केही स्थानहरुमा हल्कादेखि मध्यम र थोरै स्थानहरुमा भारी वर्षा भइरहेको छ । आज सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको पनि सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा कोशी नदी क्षेत्रको महोत्तरीको जलेश्वरमा १६० मिलिमिटर, सप्तरी बरमझियामा १४३ मिलमिटर, मोरङको हरैचामा १४२.६ पानी परिरहेको छ । महाशाखालाई यी क्षेत्रलाई जोखिममा राखेको छ । महाशाखाका अनुसार १ घण्टामा ६० मिलिमिटर, ३ घण्टामा ८० मिलिमिटर, ६ घण्टामा १ सय मिलिमिटर, १२ घण्टामा १२० मिलिमिटर र २४ घण्टामा १४० मिलिमिटर भन्दा बढि बर्षा भएमा सतर्कता र उच्च जोखिममा राख्ने गरेको छ ।
http://www.hydrology.gov.np/#/rainfall_watch?_k=uerbx0