पशुपतिनगर । इलामको नेपाल भारत सीमा क्षेत्रमा शसस्त्र प्रहरीको उपस्थिति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्थामा सुदृढ भएको छ । सरकारले शसस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा पोष्ट स्थापना गरेपछि नेपाली प्रशासनको उपस्थिति नै नभएका क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ भएको हो ।

सुर्योदय नगरपालिका २ स्थित पशुपतिनगरमा शसस्त्र प्रहरीको पहिलो सीमा सुरक्षा पोष्ट स्थापना गरिएको थियो । ३ वर्ष अघि स्थापना भएको सीमा सुरक्षा पोष्टलाई गुल्ममा प्रस्ताव गरिएको छ । प्रहरी निरिक्षकको नेतृत्वमा रहेको पशुपतिनगरमा डिएसपिको नेतृत्वमा अहिले संचालनमा रहेको छ ।

पशुपतिनगर बाहेक इलामको नेपाल भारत सीमा क्षेत्रको ६ स्थानमा सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ । शसस्त्र प्रहरीको पोष्ट स्थापना गरेपछि सीमा क्षेत्रमा बसोबास गर्ने बासिन्दा खुशि भएका छन् । पर्यटनको प्रचुर संभावना भएको नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था भएपछि पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको माईजोगमाईका संजिव थामिले बताए ।

खुल्ला सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी नहुँदा भारतीय सीमा सुरक्षा बल एसएसबीको हप्कीदप्की सहनुपर्ने अवस्थाबाट नेपाली नागरिक मुक्त भएका छन् । सीमा क्षेत्रमा समन्वय गर्ने प्रशासन उपस्थिति भएपछि विकास निर्माण र पर्यटन प्रवद्र्धनको काममा सहयोग पुगेको छ ।

पर्यटकको गन्तव्यस्थल रहेको सीमा क्षेत्रमा अहिले निर्वाध रुपमा पर्यटकहरु आवातजावत गर्न पाएका छन् । नेपालका तर्फबाट समन्वय र सहकार्य गर्ने दरिलो सरकारको टोली पाएसँगै पर्यटन व्यवसाय गर्न सहज भएको पर्यटन व्यवसायी प्रविन तिमसिनाले बताए ।

इलामको नेपाल भारत सीमा क्षेत्र साढे ५२ किलोमिटर रहेको छ । रोङ गाउँपालिकाको सलकपुर, सुर्योदय नगरपालिकाको समाल्बुङ, छब्बिसे, पशुपतिनगर, सन्दकपुर गाउँपालिकाको कालपोखरी र माईजोगमाई गाउँपालिकाको जौबारीमा सुरक्षा पोष्ट स्थापना गरिएका छन् ।
सीमा सुरक्षा पोष्टमा खटिएका शसस्त्र प्रहरीले सीमा सुरक्षा सहित अपराध, चोरी तस्करी, विपद् व्यवस्थापन र जनचेतनाका काममा सक्रिय रहेका छन् ।