इलाम । इलामको माईजोगमाई गाउँपालिका-२ जाेगमाईमा एक पुरुषले श्रीमतीको हत्या गरि आत्माहत्या गरेका छन् । टारसिंहका पिताम्बर खतिवडाले उनकी ५२ वर्षिय जेठी श्रीमती राधिका खतिवडाको हत्या गरि आत्माहत्या गरेका हुन् । इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख सन्ताेष राईका अनुसार घटना गएराती भएको र अनुसन्धान शुरु भएको छ ।
मृतकको १४ बर्षिय छोरी रचना छिमेकीको घरमा सुत्न गएको र घरमा कोही नभएको अवस्थामा बाबुले नै आमाको हत्या गरेको हुनसक्ने रचनाले आशंका ब्यक्त गरेकी छन् । राति आमा चिच्याएको आवाज सुनेपछि उनले छिमेकीमा हल्ला गरिन् । करिब १०ः३० बजेतिर अचानक चिच्याएको आवाज सुनेपछि छिमेकीहरु घरमा गएका थिए ।
घरमा जाँदा भित्र चुक्कुल लगाएकै अवस्थामा राधिका घरको कोठामा लडिरहेको फेला परेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी गोर्खेबाट प्रहरी सहायक निरिक्षक मदन बस्नेतको कमाण्डमा ३ जनाको टोली घटनास्थलमा पुगेको थियो । साथै प्रहरी चौकी जौबारीबाट समेत प्रहरी सहायक निरिक्षक धनप्रसाद रिमालको कमाण्डमा दुई जना प्रहरी घटना स्थलमा पुगेको थियो ।
श्रीमती राधिकाको घटनास्थलमा नै मृत्यू भएको इलामका प्रहरी प्रमुख दिलिपकुमार घिमिरेले जानकारी दिए । उनका अनुसार श्रीमती राधिकाको वाँया गालाको भागमा दुईवटा गहिरो चोट लागेको फेला परेको छ । आमाको हत्या बुबाले नै गराएको हुनसक्ने १४ वर्षिय छोरी रचना खतिवडाको बयान आएको प्रहरी प्रमुख घिमिरेको भनाई छ ।
घटनास्थल सुरक्षित राखिएको छ । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट थप प्रहरी परिचालन गरिएको बताइएको छ ।