इलाम : नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङबोले शीर्ष नेताहरूले गरेको निर्णय कार्यान्वयन गर्न आफू तयार रहेको बताए। उनले प्रदेश सरकारको औपचारिक निर्णय नहुँदासम्म मुख्यमन्त्रीमा दाबी रहेको उल्लेख गर्दै माओवादी पार्टीको इमान्दार सिपाही भएकाले गठबन्धनमा भएको सहमति कार्यान्वयन गर्नु कर्तव्य रहेको बताए।
उनले सकसपूर्ण भए पनि निर्णय कार्यान्वयनमा लागि अन्तिमसम्म लागिरहने बताए। कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका थिए। सोहीअनुसार वातावरण सहज बनाउन आङ्बोले गठबन्धन दलका शीर्ष नेताहरूको निर्णय कार्यान्वयन गर्न आफू तयार रहेको प्रतिक्रिया दिएका हुन्।
सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको गर्नुअघिसम्म आङ्बो मुख्यमन्त्रीको दौडमा थिए। असार १८ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन समझदारी गरेपछि आङ्बो पछि सरेका हुन्।
प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका सभामुख सहित १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसद छन्। माओवादीको सांसद संख्या १२ मात्रै गन्न पाउने एमाले लगायतको भनाइ छ। ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ प्रदेशसभा सदस्य चाहिन्छ। सभामुखलाई गन्न नपाउने एमाले अडानपछि अहिले सत्ता गठबन्धन दललाई आफ्नो नेतृत्वमा सरकार गठन गर्न राप्रपालाई समेत साथ लिनुपर्ने अवस्था छ।
राप्रपासँग प्रदेशसभामा ६ मत छ। राप्रपाले प्रदेशसभामा सहभागिताको बारेमा निर्णय गर्ने जिम्मा अध्यक्ष राजेन्द्र लिङदेनलाई दिएको थियो। सोहीअनुसार सत्ता गठबन्धन दल अहिले राप्रपा अध्यक्ष लिङ्देनलाई फकाउन लागि परेको छ।