Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

रहेनन् गायक एवम अभिनेता रोविन

रहेनन् गायक एवम अभिनेता रोविन

  • सन्देश सम्वाददाता
  • बुधबार, असार २० २०८०


रहेनन् गायक एवम अभिनेता रोविन

इलाम । चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ । रोविन एन्ड न्यु रिभोलुसनका लिड गायक ६० वर्षीय उनी मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत फेला परेका हुन् । रोविनकै आधिकारिक फेसबुक पेजमा उनको मृत्यु भएको खबर पोस्ट भएको थियो । उनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

ब्रिटिश सेनामा सक्रिय परिवारको कान्छो सन्तानको रुपमा उनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी बाल्यकालदेखि नै अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र लन्डनको अंग्रेजी रक ब्यान्ड डीप पर्पलबाट प्रेरित थिए । जब उनी १९८० मा टोरन्टोको हम्बर कलेजमा पढिरहेका थिए, त्यसबेला उनले एक ब्यान्डमार्फत् विभिन्न ठाउँमा प्रस्तुती दिएका थिए ।

सन् १९९६ मा नेपाल आएका रोविनले लुजा ब्यान्डमा रहेर आफ्नो सांगितिक करियर अघि बढाएका थिए । उनले लुजासँग विभिन्न स्थानमा प्रदर्शन गरे । सन् २००५ मा यो समूह विघटन भएपछि उनले रोविन एन्ड न्यु रिभोलुसन ब्यान्ड स्थापना गरेका थिए । दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

उनी अभिनयमा समेत अब्बल मानिन्थे । उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा भिलेनको रुपमा अभिनय गरेका छन् । रोविनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् । उक्त सिरिज अमेजन प्राइममा उपलब्ध छ । सिरिजमा उनले भिलेनको भूमिका निभाएका छन् ।

उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘छड्के २’ हो । उनको निधनको खबरले संगीत र फिल्म क्षेत्र स्तब्ध बनेको छ । उनलाई सामाजिक सञ्जालमा गायक सञ्जय श्रेष्ठ, अभिनाश घिसिङ लगायतले श्रद्धाञ्जली दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार