सन्दकपुर । बजेट निर्माण, राजश्व संकलन र खर्चबारे सन्दकपुर गाउँपालिकाद्धारा ५ वटै वडाबासीसँगको सुझाव संकलन लिने काम सम्पन्न भएको छ । प्रत्यक्ष जनतासँग सुझाव संकलन गरि बजेट निर्माण गर्ने योजना छनौट गर्ने लक्ष्यका साथ गाउँपालिकाले वडाबासीहरुसँग सुझाव संकलन गरिएको हो । बिहिबार वडा नम्बर १ मा गाउँपालिकाद्धारा जनतासँग प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेसँगै ५ वटै वडामा सुझाव संकलनको काम सम्पन्न भएको हो ।
सन्दकपुर गाउँपालिकाले जनतासँग प्रत्यक्ष अन्तरसम्बाद गरि प्राथमिकताका आधारमा योजना छनौट र कार्यान्वय गर्ने निति लिएपछि वडा नम्बर १ मा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
गाउँपालिमा संकलन हुने आन्तरिक श्रोत वृद्धि र परिचालनसँगै योजना छनौट निर्माण बारे जनतासँग अन्तरक्रिया र सुझाव संकलन लिन सबै वडाबाट प्रत्यक्ष सुझाव संकलन गर्ने योजना अनुररुप अन्तरक्रिया आयोजना गरिएको हो । सोहि योजना अनुरुप सन्दकपुर गाउँपालिका १ को जडिबुटीको उत्पादन हुने क्षेत्र छाँगेमा अन्तरक्रिया र सुझाव संकलन गरेको हो ।
सन्दकपुर गाउँपालिका राजश्व परामर्स समितिको आयोजनामा सन्दकपुर १ को वडा कार्यालयमा सुझाव संकलनको काम सम्पन्न भएको हो । गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष रहर कुमार राईको अध्यक्षतामा भएको अन्तरक्रिया र सुझाव संकलनमा वृद्धिजिवी, उद्योगी, व्यवसायी, जनप्रतिनिधि, राजनितिक दलका नेता, कर्याकर्ता, किसान र श्रमीकहरुको सहभागिता रहेको थियो । अन्तरक्रिया र सुझाव संकलन कार्यक्रममा राजश्व परामर्श समितिका सचिव तथा राजश्व शाखाका प्रमुख भुपेन्द्र कट्टेलले राजश्वको दर, दायरा, क्षेत्र, आयश्रोत वृद्धिमा जनताबाट गरिनुपर्ने सहयोग र गाउँपालिकाले बनाउनुपर्ने नितिका बारेमा जानकारी गराएका थिए ।

अन्तरक्रियामा सहभागिले जनताको सुझावका आधारमा कर निर्धारण र योजना छनौटको काम गरि गाउँपालिकाको विकासमा सबैको अपनत्व विकास गर्ने योजनाका साथ कार्यक्रम आयोजना गरिएको प्रमुख अतिथि सन्दकपुर ३ का वडाध्यक्ष तथा राजश्व परामर्श समतिका सदस्य लिल बहादूर बुर्जाले बताए । कर वृद्धि भन्दा पनि दायरा फराकिलो बनाउने योजना रहेको र जनताको सुझाव अनुसारमा मात्रै कर संकलनसँगै योजना छनौट गर्ने बताए । विकासका लागि कर संकलन गर्नुपर्ने बाध्यता रहेकाले यसलाई वृद्धि गर्न सबैखाले उद्योगी व्यवसायीलाई करको दायरामा ल्याउने तर करको दर वृद्धि नगर्ने बुर्जाले बताए ।
अन्तरक्रियामा बोल्दै सन्दकपुर वडा नम्बर १ का अध्यक्ष रहर कुमार राईले गाउँपालिकाले आन्तरिक श्रोत संकलनको लक्ष्य पुरा गर्न नसकेका कारण धेरै योजनाहरु कार्यान्वयमा समस्या भएकाले करको दायरा बढाई कर संकलन गर्ने योजना गाउँपालिकाको रहेको बताए । कर संकलनका बारेमा जनतासँग प्रत्यक्ष सम्बाद गरि योजना बनाउने तयारी अनुरुप कार्याक्रमको आयोजना गरिएको राईले बताए ।
जनतासँगै प्रत्यक्ष सम्बाद गरि सबै जनताको अपनत्व हुने गरि छलफल गरि पालिकाको विकासमा जनतासँगै हातेमालो गर्ने योजना गाउँपालिकाको रहेको गाउँपालिका लेखा अधिकृत युवाराज नेपालले बताए । उनले भने– हामीले करको दर वृद्धि गर्दा राम्रो देखिदैन, दायरा बढाउँदा सबै राज्यको निकायमा पुग्ने भएकाले जनताका माग अनुसारको योजनाहरु कार्यान्वयनमा पनि सहज हुनेछ भन्ने निष्कर्ष निकालेका छौँ । कर संकलनमा वृद्धि आए गाउँपालिका र जनतालाई पनि फाइदा पुग्ने राजश्व परामर्श समितिका सदस्य सुमन सुवेदीले बताए ।
कार्यक्रमको औचित्यमाथि प्रकास पार्दै सुवेदीले लोकतान्त्रिक सरकारले जनताका जनभावना अनुसार कर वृद्धि गर्ने र विकास गर्ने योजनाका साथ काम शुरु गरेको बताए । अन्तरक्रियामा संघ संस्थाको तर्फबाट बोल्दै व्यवसायी इन्द्रकला राईले जनप्रतिनिधिले जनताका सुझाव संकलन गर्ने योजनाका साथ गरिएको कार्यक्रमले पालिका र जनताबिचको सम्बन्ध सुमधुर हुने बताए । उनले भनिन्– जनताको मतबाट निर्वाचित भएपछि पनि जनताका सुझावका आधारमा बजेट निर्माण हुँदा जनतामा अपनत्वको विकास हुनेमा व्यवसायी पनि आसाबादी रहेका छन् ।
सन्दकपुर गाउँपालिका शिक्षा समिति सदस्य तथा शिक्षिका कुसुम राईले जनतासँगको सुझाका आधारमा करको दायरा बढाउने र कर संकलन गर्ने कुरा स्वागत योग्य भएको बताइन् । उनले हरेक विकास निर्माणका योजनाहरु जनताकै सुझावका आधारमा छनौट गरे सन्दकपुरको विकासमा टेवा गर्ने उनले बताइन् ।
जनताको माग र आवश्यकतालाई जनताकै प्रत्यक्ष सहकार्यमा बजेट निर्माण गर्ने र करको दर निर्धारण गरि अघि बढ्दा सहज जनप्रतिनिधि र जनताबिचको हातेमालो बलियो हुने राजश्व परामर्स समितिकी सदस्य तुलसादेवी खवासले बताइन् । अन्तरक्रियाको संचालिका रहेकी खवासले महिलाहरुको समूहले सन्दकपुरको आर्थिक विकासका लागि रायो साग उत्पादनको योजना रहेको र प्रथम चरणमा पालिका १ सय महिलाहरुलाई समेटेर अघि बढ्ने योजना रहेको बताइन् ।
अन्तरक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ इलामका सल्लाहाकार तथा पर्यटनकर्मी सुजन तिमसिनाले गाउँपालिकाले करको दर बढाउने भन्दापनि दायारा फराकिलो बनाउन गाउँपालिकाले निति लिइनुपर्ने बताए । सन्दकपुरको अर्थतन्त्र विकासको आधार कृषि, पर्यटन र पशुपालन निर्धारण भएकाले तिनै क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव उनको सुझाव छ ।
पर्यटनका माध्यमबाट सन्दकपुरको अर्थतन्त्र विकास गर्न सकिने भएकाले सन्दकपुर १ को माईपोखरीलाई धार्मिक पर्यटकीयस्थलको रुपमा प्रवद्र्धन गर्नुपर्ने बताए । सन्दकपुर वडा नम्बर १ का वडासदस्य तोरण मुखियाले स्वागत मन्तव्य राखेको कार्यक्रममा समाजसेवी लिलाबहादूर राई र नेकपा एमालेका जिल्ला सदस्य याम राईले सन्दकपुर गाउँपालिकाले कर संकलनमा देखिएको चुवाहाटमा पनि ध्यान दिनुपर्ने बताए ।
वडाको सबै टोलबाट १ सय जनाको उपस्थिति रहेको थियो । अन्तरक्रियामा सहभागिको तर्फबाट उपस्थिति नागरिकले कर संकलन गरे अनुसार विकास निर्माणका काम पनि गरिनुपर्नेमा जोड दिएका थिए ।
५ वटै वडामा हुने आन्तरिक श्रोत वृद्धि र परिचालनसँगै योजना छनौट निर्माण बारे जनतासँग अन्तरक्रिया र सुझाव संकलन कार्यक्रमको समापन पछि बिषयगत रुपमा पनि सरोकारवालासँग प्रत्यक्ष सम्बाद गर्ने गाउँपालिकाको योजना रहेको प्रमुख प्रसाकिय अधिकृत महेश राईले बताए ।