इलाम : जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाको दोस्रो विश्वयुद्धपछि निकै तनावपूर्ण सम्बन्ध थियो। दुवै देशबीच सन् १९७२ सम्म वार्ता भएको थिएन। शक्ति सम्पन्न दुई मुलुकबीच केही तत्वहरूका कारणले सम्बन्ध तनावपुर्ण रहन पुग्यो। शीतयुद्धको सन्दर्भमा माओ जेदोङले सफलतापूर्वक कम्युनिष्ट क्रान्तिको आयोजना गरेर सन् १९४९ बाट चीनको नेतृत्व गरेका थिए।
चीन र अमेरिकाले सन् १९५० को दशकमा कोरियामा एकअर्काको विरुद्ध लडेका थिए। भियतनाम युद्धमा चीनले अमेरिका विरुद्ध उत्तर भियतनामलाई समर्थन गरेको थियो। सन् १९७० को दशकको प्रारम्भमा चीन र सोभियत संघबीच पनि तनाव उत्पन्न हुँदा अन्तर्राष्ट्रिय सन्दर्भ परिवर्तन भयो। संयुक्त राज्य अमेरिकाले चीनसँग मित्रता गर्ने र सोभियतविरुद्ध लाभ उठाउने अवसर देख्यो। सोही सन्दर्भमा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले चीन भ्रमण गरेका थिए।
सन् १९७२ फेब्रुअरी २१ देखि २८ सम्म भएको भ्रमणले विश्व राजनीतिक मञ्चमा चीनको उदय, चीन अमेरिका सम्बन्धलगायत थुप्रै विषयहरू महत्वपूर्ण बन्न पुगे। सो भ्रमणमा रिचार्ड निक्सनलाई चिनियाँ नेता माओ जेदोङले दिएको उपहार निकै चर्चित बनेको थियो। स्वागतका क्रममा माओले रिचार्डलाई आकर्षक बक्स उपहारस्वरूप दिएका थिए। रिचार्डको भ्रमण प्रतिनिधिमण्डललाई बक्सभित्र रहेको वस्तुबारे कौतुहलता उत्पन्न भएको थियो।

FILE – In this Feb. 21, 1972, file photo, Chinese communist party leader Mao Zedong, left, and U.S. President Richard Nixon shake hands as they meet in Beijing, China. Tossed into the middle of a potential thawing in U.S. relations with China, Judy Bochenski and her American ping pong teammates helped deliver one of the great diplomatic coups of their time. Their hastily arranged trip for exhibitions in three Chinese cities helped part the Red Curtain and open the way to a new world order that included China. It worked so well that President Richard Nixon would get on Air Force One the next year to make a state visit to China that enthralled the world.(AP Photo/File)
स्वयं रिचार्डमै पनि माओको उपहार बारेमा कोतुहलता थियो। होटलमा पुगेपछि रिचार्डका सहयोगीले उक्त बक्स खोलेर हेरे। त्यहाँभित्र चार लियाङ (करिब २ सय ग्राम) चिया थियो। चीनमा कम्युनिष्ट सत्ता स्थापित भएपछि पहिलोपटक अमेरिकी राष्ट्रपति भ्रमण गरेका थिए। अमेरिकी राष्ट्रपतिको अपमान गरेको र उपहारका नाममा व्यङ्ग्य गरेको पनि भनियो।
राष्ट्रपति रिचार्ड स्वयंले असन्तोष व्यक्त गरेका थिए। माओको उपहारले असन्तोष पैदा गराएको थाहा पाएपछि चिनियाँ प्रधानमन्त्री चौ एनलाईले राष्ट्रपति रिचार्डलाई भने, ’बक्समा भएको चिया चीनमा आपूर्ति हुने सम्पूर्ण मात्राको आधा परिमाण मात्र नभएर यो २ लाख अमेरिकी डलर पर्ने बहुमूल्य उत्पादन पनि हो।’
परिमाणमा थोरै भए पनि यो विश्वकै सवैभन्दा महँगो चिया थियो। माओले रिचार्डलाई उपहारमा दिएको चियालाई चिनियाँ भाषामा ’ता होङ पाओ’ भनिन्छ। चीनको दक्षिण पूर्वी प्रान्त फुचियानको ऊयी पहाडमा मात्र हुने ओलङ चियालाई नै चीनियामा ‘ता होङ पाओ’ भन्छन्। यसलाई चियाको राजा पनि भनिन्छ। चियाको मूल्य र गुणस्तर तथा स्वाद थाहा पाएपछि अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन पनि सन्तुष्ट भए।
चीन अमेरिका सम्बन्धमा यस घटनालाई ‘चिया कूटनीति’ भनिन्छ। युनेस्कोले विश्व सम्पदा सूचिमा राखेको ऊयी पहाडमा भएका विभिन्न विशेषतामध्ये सबैभन्दा महँगो मानिएको ‘ता होङ पाओ’ चिया उत्पादन हो। चट्टानका कापमा उम्रिएको चिया वर्षको एकपटक मात्र टिपिन्छ। ता होङ पाओ’ एक ग्राम चियाको एक हजार ४ सय अमेरिकी पर्ने गरेको छ।

चियाको आविष्कार पाँच हजार वर्ष अगाडि चीनमा भएको हो। इसापुर्वको २७३७ मा दोस्रो चिनियाँ सम्राट् तथा प्रथम कृषिविज्ञ सेन नोङ चिया चाख्ने पहिलो मानिस हुन् भन्ने मिथक प्रचलित छ। सेन नोङ कुशल शासकसँगै अब्बल बैज्ञानिक समेत थिए। राज्य सञ्चालनको काम छाडेर एक अध्ययनको लागि उनी बगैँचामा पानी तताउँदै थिए।
उम्लिरहेको उनको भाँडोमा एउटा पात खस्यो। त्यहीँ भाँडोबाट पाकिरहेको पानीमा फरक स्वाद र शरीरमा फूर्ति दिएको ठानेर बादशाहले सधैँ तातोपानीमा उक्त वनस्पतिको पात भिजाएर पिउन थाले। त्यही वनस्पति नै वर्तमान चियाको विरुवा थियो। उनले आफूले खोजी गर्न लागेको विषय नै भुलेर उनले चियाको वैज्ञानिकता र यसमा रहेको औषधीय गुणहरूको अन्वेषण सुरु गरेको मिथक आज पनि चीनमा प्रचलित छ।
बादशाहले सुरुमा जसरी पिएका थिए अहिले पनि चिनियाँहरू त्यसरी नै चिया पिउँछन्। नेपालीले जस्तो चियापत्तिलाई पानीमा भकभकी उमाल्ने र विभिन्न मरमसला हालेर चिनियाँहरू खाँदैनन्। उनीहरू तातोपानीमा चियापत्ति भिजाउँछन् र सुरुपसुरुप पिउँछन्। पानी थप्दै जान्छन् र उही चियापत्तिलाई कैयौँपटक पिउँछन्।
चीनको चिया संस्कृति
चियासँग चिनियाँ इतिहास मात्र नभई संस्कृति पनि जोडिएको छ। चिनियाँको विवाह समारोह पूरा हुनका लागि चिया अनिवार्य वस्तु हो। चिया समारोह एक चिनियाँ परम्परा हो जहाँ दुलहा र दुलहीले परिवारका अग्रज सदस्यहरूलाई चिया खुवाउने गरेका छन्। चिया दिएबापत उनीहरूले शुभकामना र उपहारहरू पाउँछन्। यो दुलही वा दुलहीलाई स्वागत गर्ने कार्य हो, जसले गर्दा दुवै परिवारलाई एकताबद्ध हुन्छ।

हजारौँ वर्षदेखि कायम रहेको यो संस्कृतिलाई चियासँग साइनो साट्ने प्रचलनका रूपमा लिइन्छ। चिया र चीनबीचमा इतिहास, संस्कृति, सभ्यता, विकास, अर्थतन्त्र, समाज सबै क्षेत्रको सम्बन्ध जोडिएको छ। यस्तो पृष्ठभूमिमा चिनियाँ नेता माओले अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनलाई चिया उपहार दिएर ‘चिया कूटनीति’ अँगालेका थिए।
चीन र नेपालको चिया कूटनीति
चीनले अमेरिकासँग ‘चिया कूटनीति’ गरेकोभन्दा एक सय दश वर्षभन्दा अगाडि नै नेपालसँग ‘चिया कूटनीति’ स्थापना गरेको इतिहास छ। नेपाल–चीनबीच १८४९ भदौ ६ मा भएको सन्धिको एउटा बुँदामा नेपालले चिनियाँ सम्राटका लागि उपहारको पञ्चवर्षीय मिसन पठाउने, चिनियाँ सरकारले नेपाली मिसनको खर्च तिर्ने, यातायातको सुविधा दिलाउने र उपहार फिर्ता पठाउने उल्लेख छ। नेपाल र तिब्बतबीच व्यापारिक तथा मौद्रिक कारणले सम्बन्ध तनावपूर्ण रहेकामा १८३२ सालमा खासामा सन्धि भएको थियो।
१८४५ असार १० मा पहिलो र १८४८ मा दोस्रोपटक नेपाल–चीन युद्ध भएपछि नेपालको बेत्रावतीमा दुई देशबीच सन्धि भएको थियो। तर पुनः १९११ फागुनमा तेस्रोपटक नेपाल–तिब्बत युद्ध घोषणा भएपछि १९१२ चैतमा थापाथलीमा अर्का सन्धि हुँदा पनि ‘नेपाल र तिब्बत दुवैले चिनियाँ वादशाहलाई आदर गर्ने’ उल्लेख भएको इतिहास भेटिन्छ। सन्धिअनुसार नै चीनले नेपाललाई चिया कोसेली पठाएको थियो।

चिनियाँ बादशाहले नेपालका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई चियाको बिउ उपहार दिएका थिए। त्यही चियाको बिउ सन् १८६३ ९विस १९२०० मा राणाले आफ्ना ज्वाइँ गजराज सिंह थापालाई दिएर उपयुक्त ठाउँमा खेती गर्न सुझाव दिएका थिए। इलामका वडाहाकिम थापाले छिमेकी मुलुक भारतको दार्जिलिङमा चिया खेती फस्टाएको देखेपछि उक्त बिउ इलाममा रोप्न लगाए।
विस १९२० मा इलाम सदरमुकाम र विस १९२२ मा सोक्तिममा चिया रोपण गरिएको छ। तत्कालिन समयमा भारतको दार्जिलिङ चिया कमानबाट दक्ष कामदार झिकाई इलाम बजारमा १ सय ३५ एकड र सोक्तिममा २ सय ४० एकडमा चिया विस्तार भएको थियो।देशमै पहिलोपटक चीनबाट चिया ल्याएर रोपिए पनि ‘ओरिजिनल क्यामेलिया साइनेसिस’ चाहिँ अहिले इलाम चिया बगानमा मात्रै रहेको चियाका जानकार बताउँछन्। चीनको फुजियानबाट ल्याइएको ओरिजिनल क्यामेलिया साइनेसिस अहिले इलाम बगानको पनि सीमित ठाउँमा मात्रै छ। अहिले इलाम चिया बगान र सोक्तिम चिया बगान चीन र नेपालको कूटनीतिक सम्बन्ध विस्तारको मानकको रूपमा रहेको छ।
सी चिनफिङ र इलामको चिया
चिनियाँ राष्ट्रपति सी चिनफिङको ३ वर्षअघि नेपाल भ्रमणका क्रममा डिनर मेन्युमा इलामको चियालाई समेत समावेश गरिएको छ। इलामे चियाले बोकेको नेपाल–चीन सम्बन्धको ऐतिहासिक महत्वलाई चिया चखाउन पाउनु गौरवको विषय रहेको छ। २०७६ असोज २५ गते सोल्टी होटलको रात्रिभोजमा इलामको चियालाई समावेश गरिएको थियो। राष्ट्रपति सीको रात्रिभोजमा इलामको चियासमेत पु¥याउने काम पुर्व सभामुख एवम् इलाम क्षेत्र नं २ का सांसद सुवास नेम्बाङले गरेका थिए।