इलाम : इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’ को काम सम्पन्न भएको छ । केही समय अघि देखी नै परिक्षणको रुपमा खानेपानी वितरण हुँदै आएको आयोजनाको काम भर्खरै सम्पन्न भएको हो । काम सम्पन्न भएपनि सन २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मत सम्भारको काम गर्नु पर्ने जनाइएको छ ।
नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता भएर चार वर्ष अघि काम सुरु भएको थियो । निर्माण सम्पन्न भएपछि अनुगमन समेत गरिएको छ । जिल्ला स्थित राजनितिक दल, प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायमा प्रमुख, सञ्चारकर्मी तथा उपभोक्ता समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
आयोजनाको काम ‘रमण कन्ट्रक्सन कम्पनी’ ले ५७ करोड ९५ लाखमा ठेक्का सम्झौता गरेर काम अगाडी बढाएको थियो । एसियाली विकास बैंक (एडीबी) को आर्थिक सहयोगमा खानेपानी आयोजना सञ्चालन भएको हो । जुन आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । ५ प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता रहेको छ ।
सुरुमा स्थानिय उपभोक्ताहरुले १५ हजार दुई सय रकम बुझाएका थिए । यसमा इलाम नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसेको छ । खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष तथा इलाम नगरपालिकाका मेयर केदार थापाले जानकारी दिए । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड करिव ४३ लिटर पानी आइरहेको छ ।
आयोजनाका लागि सदरमुकामबाट करिब ३२ किलोमिटरको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको मुहानबाट पानी ल्याइएको छ । आयोजना अन्तर्गत सुरुमा २८ सय ७७ घरमा पानी वितरण गर्ने लक्ष लिइएको थियो । पछि थप भएर ३३ सय ४४ घरमा आयोजना मार्फत नै खानेपानी वितरण भएको छ । पुन तीन सय वढि उपभोक्ताको संख्या बढेकाले सो काम हाल भइरहेको बताइएको छ । पछि रकम जम्मा गर्ने उपभोक्ताहरुको घरघरमा समेत धारा जोड्ने काम भइरहेको जनाइएको छ ।
हाल समेत दैनिक दुई पटक पानी वितरण गरिँदै आइएको निर्माण कम्पनीका इन्जिनियर कपिलदेव यादवले बताए । हाल कतिपय स्थानमा पानी वितरणमा समस्या उत्पन्न भइरहेको भएपनि यसलाई आफुहरुले मर्मतको काम गरिरहेको उनको भनाई छ । गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गरिँदै छ ।
उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिएको छ । यो खानेपानी वितरणको जिम्मा इलाम नगरपालिकाले नै पाएको छ । अनुगमनका क्रममा उपमेयर बिष्णुकुमारी दहाल, नेपाली कांग्रेसका पुर्व जिल्ला सभापती हिमालय कर्माचार्य, नेकपा एमालेका गणेश बराल, माओवादी केन्द्रका बिजय खम्बु तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल इलाम नगरपालिका–४ का वडाध्यक्ष तथा प्रवक्ता नुतनदेव दुलाल, वडा नं ८ का वडाध्यक्ष दलमान तामाङ लगायतको उपस्थिती रहेको थियो ।