काठमाडौँ । कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र सदन्दकिपुर गाउँपालिका घुम्नैपर्ने पर्यटकीय क्षेत्रबाट पुरस्कृत भएको छ । प्रतिविइ विल राइज फाउण्डेसनले आयोजना गरेको भिडियो प्रतिस्पर्धामा सन्दकपुर देशको घुम्नैपर्ने पर्यटकीयस्थलमा पुरस्कृत भएको हो । गाउँपालिकाले निर्माण गरेको ५ मिनेटको भिडियो देशका २ सय ५० वटा बढी भिडियोहरुमा घुम्नैपर्ने पर्यटकीयस्थलमा छनौट भएको थियो ।

सो समुहमा छनौट भएका ७ वटा भिडियोलाई पछि पार्दै सन्दकपुर गाउँपालिका छनौट भएको थियो । एक समारोहका बिच उप प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिजेताहरुलाई पुरस्कृत गरेका थिए । सन्दकपुर गाउँपालिकाले निर्माण गरेको रेडपाण्डाको भिडियो २ उप समूहमा छनौट भएको थियो । दर्जन बढी पर्यटकीय गन्तव्य भएको सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य हो ।
पर्यटकीय क्षेत्र अधिक रहेको सन्दकपुरको पर्यटन प्रवद्र्धनमा यो पुरस्कारले थप टेवा पुर्याएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । भिडियो प्रतिस्पर्धामा सन्दकपुर गाउँपालिका पुरस्कृत भएकोमा धेरै खुशि लागेको र जिम्मेवारी पनि थप भएको पालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए । घुम्नैपर्ने पर्यटकीय गन्तव्यमा घोषित भइ पुरस्कृत भएकोमा सन्दकपुरका पर्यटकीय प्रवद्र्धनका काम अघि बढ्ने प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।