इलाम । प्रतिनिधिसभा सदस्य महेश बस्नेतले नेपालकै पुरानो कारखाना संरक्षणको लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै बस्नेतले ऐतिहासिक र पुरातात्विक महत्वको इलामको चिया कारखानाका यन्त्र र उपकरण वेपता पारिएकोमा चिन्ता व्यक्त गर्दै खोजी गर्न माग राखेका हुन् । उनले दोषीलाई कारवाही गर्न सरकारसंग माग गरेका छन् । बस्नेतले नेपालकै पहिलो र दोश्रो उद्योग नीजिकरणका नाममा खण्डहर बनेको उल्लेख गरे ।
‘इलाम नगरपालिका–७ इलाम बजारमा रहेको नेपालमा सर्व प्रथम विस १९२० सालमा रोपण गरिएको चिया बगान र विस १९३५ सालमा नेपालमा सर्वप्रथम स्थापना गरिका चिया कारखाना । त्यस्तै गरी माई नगरपालिका वडा नं ९ मा रहेको सोक्तिम चिया बगान विस १९२२ सालमा रोपण गरिएको र विस १९३७ सालमा स्थापना गरिएको चिया कारखाना नेपाल सरकारको स्वामित्वमा रहेको भएपनि हाल नीजिकरणको नाममा सांघाई नामको नीजि कम्पनीलाई ५० बर्षको लागि लिजमा दिइएको छ । त्यसपछि चिया बगान उजाड बनेको छ । देशकै पहिलो र दोश्रो कारखाना खण्डहर बनेका छन् ।’ बैठकमा बस्नेतले भने
‘ ऐतिहासिक र पुरातात्विक महत्वका कारखानाका यन्त्र र उपकरण वेपता पारीएका छन् । यसको खोजी संरक्षण र दोषिलाई कारवाही गर्न सरकारको ध्यान आकृष्ट गर्दछु ।’