इलाम । माङसेबुङ गाउँपालिकाको केन्द्र ‘चतेरे’ सार्ने निर्णय भएपछि आन्दोलनमा उत्रिएको माङ्सेबुङ लारुम्बा बासीहरु गुहार माग्दै सदरमुकाम आईपुगेका छन् । गाउँसभाले गरेको निर्णय सच्याउनुपर्ने मागसहित आन्दोलनमा होमिएको माङसेबङबासी आईतबार सदरमुकाम आएका हुन् ।
स्थानीय स्तरमा विभिन्न दवावमूलक आन्दोलन सम्पन्न गरेर थप सहयोग जुटाउन सदरमुकाम आएका हुन् । सदरमुकाममा पत्रकार सम्मेलन गरी आफ्नो आन्दोलनमा सहयोग र समर्थन गर्न सरोकारवालाहरुसँग अपिल गरेका छन् ।
खानेपानीको मुहानलाई प्रत्यक्ष प्रभाव पार्ने गरी केन्द्र निर्धारण गरिएको भन्दै माङसेबुङ विकास समिति र माङसेबुङ सम्पदा संरक्षण नागरिक समाजले संयुक्त पत्रकार सम्मेलन गरी गाउँपालिकाको केन्द्र ‘चतरे’ बाट नबनाउन माग गरेको छ । ‘चतुरे’ मा केन्द्र बनाउँदा किँरात धर्मगुरु आत्मानन्द लिङदेनको संरक्षणमा रहेको धार्मिक तथा सांस्कृतिक सम्पदाको अस्तित्व नै मेटिने भन्दै निर्णयको पुर्नविचार गर्न गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।
पत्रकार सम्मेलनमा नागरिक समाजका अगुवा एनएस फागोले ‘चतुरे’ लाई केन्द्र बनाएमा माङसेबुङ धार्मिक तथा सांस्कृतिक सम्पदामा क्षति पुग्ने भएकाले विकल्प खोज्न आग्रह गरिरहेको बताए । ‘हामीले शान्तिपूर्ण रुपमा निर्णय सच्याउन आग्रह गरिरहेका छौं’ फागोले भने, ‘यदि वेवास्ता गरे आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य हुनेछौं ।’ उनले दोश्रो चरणको आन्दोलन शान्तिपूर्ण तर सशक्त हुने बताए । ‘चतुरे’ डाँडामा केन्द्र राखिएमा शहरीकरण हुनेक्रममा खानेपानी प्रदुषित हुने उनको भनाई छ ।
‘दूरगामी असरलाई ध्यानमा नराखी अविवेकपूर्ण र मुर्खतापूर्ण ढंगले गाउँपालिकाले केन्द्रको निर्णय गरेको छ’ फागोले भने, ‘सबै कानुन व्यवहारिक नहुन सक्छन् । तर व्यवहारिक जनप्रतिनिधिले बनाउने हो । यो निर्णय जसरी परिवर्तन गराई छाड्नेछौं ।’
यता गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम ‘चतुरे’ कायम भएकोले निर्णय परिवर्तन गर्ने कुनै अधिकार नभएको प्रतिक्रिया दिए । तर आवश्यक छलफल गरी विकल्प खोज्न सकिने बताए ।
चतुरेका फेदीबाट सञ्चालित खानेपानी आयोजना
गाउँपालिकाले केन्द्र निर्भारण गरेको ‘चतुरे’ धार्मिक क्षेत्र माङसेबुङबाट करिब ३ किलोमिटर माथि पर्दछ । करिब ११ हजार जनसंख्या रहेको माङसेबुङबासीले चतुरेको फेदीमा रहेको मुहानको पानी उपभोग गरिरहेका छन् ।
सरकारी तथा गैरसरकारी निकाय र बिदेशी दातृ संस्थाबाट निर्मित विभिन्न ९ वटा खानेपानीको मुहान ‘चतुरे’ को फेदीमा पर्दछ ।
चतुरेको फेदीबाट माङसेबुङ ग्रामिण खानेपानी तथा सरसफाई आयोजना, युनिसेफ खानेपानी आयोजना, अठासी खानेपानी आयोजना, गैरीखोला खानेपानी आयोजना, माङसेबुङ, खानेपानी आयोजना, लामिटार खानेपानी आयोजना, बा“झो ८ र ९ स्कीम नम्बर १ खानेपानी आयोजना, माक्थाम्बा खानेपानी आयोजना, आदिपुर खानेपानी आयोजना सञ्चालित छन् ।
चतुरेका पानी बगेर ती आयोजनामा पुग्ने गर्दछ । यस धार्मिक क्षेत्र माङसेबुङ सम्पदालाई वातावरणीय दृष्टीले र खानेपानी आयोजनाका मुहानहरुलाई प्रत्यक्ष असर पार्ने स्थानीयको गुनासो छ ।
कसरी भयो माङसेबुङको स्थापना
माङसेबुङको छुट्टै पहिचान छ । किरात लिम्बू भाषाअनुसार माङ भनेको देवता ९ईश्वर० र माङसेबुङ भनेको छानेको ठाउँ अर्थात देवता ९इश्वर० ले छानेको ठाउँ भन्ने अर्थमा माङसेबुङको विकास भएको छ ।
किरात धर्मावलम्बीहरुको विश्वको एकमात्र आस्थाको केन्द्र हो । किराती समाज सुधारक, राष्ट्रिय विभूती फाल्गुनन्द लिङदेनको अनुयायी तथा वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेन र उनको भक्तजनको बसोबास रहेको सो क्षेत्र पृथक पहिचान बोकेको क्षेत्र हो ।
यो गाउँ शाकाहारी गाउँ हो । त्यहाँका कसैले पनी काटमार गर्दैनन् । मासु मङ्स, जाँड, रक्सी निषेध गरिएको छ ।
सुरुमा माङसेबुङलाई लारुम्बा भनिन्थ्यो । साविकका बाँझो गाविस ८ र ९ लाई लारुम्बा भनिन्थ्यो । किरात धर्मगुरु आत्मानन्द लिङदेनको आगमनसँगै त्यस क्षेत्रलाई माङसेबुङ भन्न थालिएको हो । अहिले गाउँपालिकाको नाम पनि त्यही आधारमा राखिएको छ ।
२०३४ सालमा किरात धर्मगुरु आत्मानन्द लिङदेन सपरिवार लारुम्बा बसाई झरेका थिए । साविकका इभाङ ५ चुक्चीनाम्बा ९अहिलेको माङसेबुङ २० बाट बसाई सरी आएपछि लारुम्बामा उनका अनुयायीहरुको समेत बसोबास सुरु भएको हो । हाल त्यहाँ करिब ११ हजार किरात धर्मावलम्बीहरुको बसोबास रहेको छ ।
किरात धर्मावलम्बीहरुको प्रमुख धार्मिक केन्द्रको रुपमा स्थापित माङसेबुङ नेपालमा मात्र नभएर विश्वमा चर्चित छ । त्यहाँ प्रत्येक नितर्वाचनमा गुरुको आर्शिवाद लिन भन्दै दलका उम्मेद्वार पुग्ने गर्दछन् ।
गत ३१ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा समेत नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ गुरुको आर्शिवाद लिन माङसेबुङ पुगेका थिए । नेम्बाङले त चुनावी अभियान नै गुरुको आर्शिवाद लिएर माङसेबुङबाट सुरु गरेका थिए ।
त्यहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख लगायत राष्ट्रिय व्यक्तित्वहरुको समेत उपस्थिती रहँदै आएको छ । यसअघि तत्कालिन राजा ज्ञानेन्द्र शाह समेत गुरुको दर्शन गर्न माङसेबुङ आएका थिए ।
देश तथा विदेशका किरात धर्मावलम्बी भक्तजन र पर्यटकहरु समेत माङसेबुङ आउने गदर्एछन् । त्यहाँ नेपालका विभिन्न भुभाग र छिमेकी राष्ट भारत, भुटान, बर्मा, थाइल्याण्ड, हङकङ, सिंगापुर, बेलायत, फ्रान्स, बेल्जीयम, नर्बे, इटली, हल्याण्ड, क्यानडा, अमेरिका, अष्टेलिया, जापान, कोरियाबाट वर्षेनी लाखौंको संख्यामा पर्यटकहरु भित्रिने गर्दछन् ।