कतार । “ज्यूँदाको जन्ती मर्दाको मलामी, हामी इलामेली” भन्ने मुल नारा सहित कतारमा स्थापित इलाम सेवा समाज, दोहा–कतारको आयोजनामा नव वर्ष २०८० को शुभकामना आदानप्रदान सहित संस्थाले प्रकाशन गरेको भित्ते पात्रो २०८० को सार्वजनिकीकरण कार्यक्रम गत मिति २२ अप्रिल, २०२३ शुक्रबारका दिन सम्पन्न गरियो । संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान प्रमुख–सल्लाहकार धन बहादुर विश्वकर्मा, संस्थापक सल्लाहकार तीलविक्रम थेवे, वर्तमान अध्यक्ष खड्क फागो, प्रथम–उपाध्यक्ष तोरण बस्नेत साथै इलामेली गितारवाधक जोएल परियारले संयुक्तरुपमा भित्ते पात्रो २०८० सार्वजनिक गरेका थिए ।

पर्यटकिय जिल्ला इलाममा रहेका विभिन्न पर्यटकिय स्थलहरु, इलामका उत्पादनहरु साथै संस्थाले स्थापना कालदेखि हालसम्म गरेका विभिन्न सामाजिक कार्यहरुको तस्वीरहरु समेटिएको उक्त भित्ते पात्रोलाई हाल इलाममा रहनुभएका संस्थाका सल्लाहकारहरु तुलसी सुवेदी, राजु देवान, सन्तोष वान्तवा र कोषाध्यक्ष चुडामणी घिमिरेद्धारा जिल्लाका सबै ४ वटा नगरपालिका र ६ वटा गाउँपालिकाका सबै वडाहरु, जिल्लाका सरकारी कार्यालय, विद्यालयहरु, होटल, पर्यटकिय सुचना केन्द्रहरु सबैतिर वितरण गरिएको छ ।

कतारमा पनि इलामेलीहरुको संस्था छ र यसले विभिन्न सामाजिक क्रियाकलापहरु गरिरहेको छ भन्ने सन्देश दिदै पर्यटकिय जिल्ला इलामको प्रचार–प्रसारमा एक इटा थप्ने मुख्य उद्देश्य लिएर प्रकाशन गरिएको भित्ते पात्रो सार्वजनिकीकरण तथा शुभकामना आदानप्रदान कार्यक्रम संस्थाका अध्यक्ष खड्क फागोको अध्यक्षता, संस्थापक अध्यक्ष तथा प्रमुख सल्लाहकार धन बहादुर विश्वकर्माको प्रमुख उपस्थिती, संस्थापक सल्लाहकार तीलविक्रम थेवेको विशेष उपस्थिती सहित संस्थाका पदाधिकारीहरु, कार्यसमिति, सक्रिय सदस्यहरु, इलामेली तथा अन्य जिल्लाबाट गरि ५० जनाभन्दा बढीको उपस्थिती रहेको उक्त कार्यक्रममा इलामेली वरिष्ठ गितारवादक जोएल परियारको प्रस्तुती, इलामेली कलाकारहरुको नृत्यसहितको विशेष प्रस्तुतीले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । दोहामा रहेको द गोर्खा नेपाली रेस्टुरेण्टमा सम्पन्न भएको कार्यक्रमलाई संस्थाका महा–सचिव श्री ज्ञानेन्द्र रसाईलीले संचालन गर्नुभएको थियो ।