Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रथम सन्दकपुर महोत्सव उद्घाटन, सन्दकपूरको पर्यटन विकासमा सबैको प्रतिवद्धता

प्रथम सन्दकपुर महोत्सव उद्घाटन, सन्दकपूरको पर्यटन विकासमा सबैको प्रतिवद्धता

  • सुजन तिमल्सिना
  • मंगलबार, बैशाख ५ २०८०


प्रथम सन्दकपुर महोत्सव उद्घाटन, सन्दकपूरको पर्यटन विकासमा सबैको प्रतिवद्धता

सन्दकपुर । इलामको पर्यटकीय गाउँपालिका सन्दकपुरमा आयोजित प्रथम सन्दकपूर महोत्सवको औपचारिक उद्घाटन भएको छ । अनौपचारिक रुपमा गत चैत्र २४ बाट शुरु भएको प्रथम सन्दकपुर महोत्सवको कोशि प्रदेशका प्रमुख परसुराम खापुङले उद्घाटन गरेका हुन् । बैशाख ५ बाट १० गतेसम्म आयोजना हुने औपचारिक कार्यक्रमलाई सफल बनाउन सन्दकपुरबासी, जनप्रतिनिधि र कर्मचारीहरु एकजुट भएर लागेका थिए ।
प्रथम सन्दकपुर महोत्सव मुल आयोजक समितिका अध्यक्ष जिवन सिवाको अध्यक्षतामा भएको उद्घाटन अघि प्रदेश प्रमुख परसुराम खापुङ सहितका अतिथिलाई सुन्दकपुरबासीले भब्य रुपमा सास्कृतिक झाँकिले स्वागत गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रमुख खापुङले सन्दकपुरको विकासमा गरिएका हरेक प्रयासहरुमा आफ्नो सहयोग र समन्वय हुने प्रतिवद्धता व्यक्त गरे ।


उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ठ अतिथि जिल्ला समन्वय समितिका प्रमुख जयप्रकाश राईले इलामको पर्यटन विकासका लागि जिल्ला समन्वय समितिले खेल्नुपर्ने भुमिकाका बारेमा कुनै कसर बाँकी नराख्ने बताए । जिल्लाको एकिकृत पर्यटन विकासका लागि हामी जिल्ला समन्वय समितिबाट निरन्तर सबैँसग समन्वय गरि पर्यटन व्यवसायलाई उद्योगको रुपमा विकास गर्न लाग्नेछौँ ।


प्रथम सन्दकपुर महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै इलाम नगरपालिका प्रमुख केदार थापाले इलाम नगरपालिका र सन्दकपुर गाउँपालिका एकिकृत भई पर्यटन प्रवद्र्धन गर्न लागि परेको बताए । हामी सँगैसँगै हिडेर आफ्नो पालिकाको मात्रै नभएर समग्र इलामको पर्यटन प्रवद्र्धनका लागि परेका छौँ नगर प्रमुख केदार थापाले भने– हाम्रो योजना पर्यटनबाटै आर्थिक आय विकास गर्ने भएकाले त्यसतर्फ एक भए लाग्ने म प्रतिवद्धता गर्दछु ।


उद्घाटन कार्यक्रममा बोल्दै इलामको प्रवेशद्धार रहेको रोङ गाउँपालिका अध्यक्ष सुबास तमाङले पर्यटन प्रवद्र्धनका लागि सबै पालिकाहरु एक भए र हातेमालो गर्दै अघि बढेमा इलामको अर्थतन्त्र विकास हुने बताए । हाम्रा अथाहा संभावनाहरुलाई प्राथमिकताका आधारमा प्रवद्र्धन र विकास गरि पर्यटनका माध्यमबाट जिल्ला, प्रदेश र देशलाई अघि बढाउन सुर्योदयको जिल्ला इलामबाट देशको विकासमा टेवा पुर्याउने योजनाका साथ लाग्नुपर्छ तामाङले भने । रोङ गाउँपालिका इलामको प्रवेशद्धार भएकाले सबै पालिकाले पर्यटन सुचना केन्द्र संचालनका लागि सहयोग गर्नुपर्ने बताए । कृषि उपजको प्याकेजिङ र बजारीकरण गर्यौ भने हाम्रो अर्थतन्त्र विकास हुनेछ, त्यसैले हामीले ग्रामीण अर्थतन्त्र विकासका लागि सबैजना लाग्नुपर्ने छ ।


उद्घाटन कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले स्थानीय तहको ५ वर्षे अवधिमा पूर्वाधार निर्माणका काम भएकाले अब हामीले किसानको अर्थतन्त्र विकासका लागि कृषिसँगै पर्यटन प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताए । हामी हाम्रा अथाहा पर्यटनका संभावनाहरुको प्रचारप्रसार गरि अघि बढ्ने गरि प्रथम सन्दकपुर महोत्सवको आयोजना गरिएको उनले बताए । हामीले यहाँको उत्पादन बिक्रि गर्ने र बजारीकरण गर्नका लागि महोत्सवको आयोजना गरिएको हो अध्यक्ष गुरुङ्गले भने– हामी सबै पालिका प्रमुख र अध्यक्षले एक स्वरले हातेमालो गरि अघि बढ्नुपर्छ ।

कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिका इलामका निर्वतमान अध्यक्ष उदय राईले स्थानीय तहको प्रथम कार्यकाल शुरु गर्दै गर्दा सादा कपि झै थियो, काम गर्न गाह्रो थियो तर असहज परिस्थिका बिचबाट पर्यटन प्रवद्र्धनका जग बसालेको बताए । हामीले आफ्नो कार्यकालमा सबै पूर्वाधार निर्माणको शुरुवात गरेकाले अब अहिलेको स्थानीय सरकारले अब सबै क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि लाग्नुपर्छ र हामी पनि सहयोग गर्न तयार छौँ ।


उद्घाटन कार्यक्रममा बोल्दै सन्दकपुर गाउँपालिका निर्वतमान अध्यक्ष शोभा पराजुलीले देशलाई आर्थिक सवृद्धिका लागि अघि बढाउन सबै एक जुट हुनुपर्ने बताए । हामीले प्रथम कार्यकालमा पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार र बाटाघाटाहरु निर्माण गर्यौ पराजुलीले भनिन्– अब व्यवसायमा आधारित पर्यटन प्रवद्र्धनका काम अघि बढाउन सबैले एकजुट भएर लाग्न पालिकाका जनप्रतिनिधिलाई आग्रह गरिन् । सन्दकपुर गाउँपालिकाले पर्यटनको जग बसालेको छ अब कृषिसँगै पर्यटन पर्यटन प्रवद्र्धनमा सबै लाग्नुपर्छ, हाम्रो साथ सहयोग हुनेछ ।


प्रथम सन्दकपुर महोत्सवको औचित्य माथि प्रकाश पार्दै सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेली मगरले कोरोना माहामारीका कारण थलिएको पर्यटन व्यवसायलाई जगाउन र कृषि उपजको प्रवद्र्धन गर्न महोत्सवको आयोजना गरिएको बताए । हामीले पर्यटन प्रवद्र्धनका लागि थालनी गरेको महोत्सवका कार्यक्रम सुरुवात भएकाले यसबाट हुने कमिकमजोरीहरुलाई सुधार गरि अझ राम्रो बनाइ आगामि दिनमा अघि बढ्नेछौँ ।
प्रथम सन्दकपूर महोत्सव आयोजक समितिका सचिव रुपेनराज नेम्बाङले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष खेम थापा मगरले प्रमुख अतिथि, अतिथि र उपस्थितहरुलाई सुमधुर शब्दहरुबाट स्वागन गरेका थिए । उद्घाटन कार्यक्रमको समापन गर्दै आयोजक समितिका अध्यक्ष जीवन सिवाले सन्दकपुरलाई देश विदेशमा चिनाउनका लागि सबै एक भएर लाग्नुपर्ने बताए । यो महोत्सव सुरुवात मात्रै भएकाले आगामि दिनमा अझ समन्वय गरि कार्यक्रमहरु गर्ने बताए ।
कार्यक्रममा पूर्व राष्ट्रिय सभा सदस्य अगम बान्तवा, शिक्षा सेवी गणेश गुरुङ्ग, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल , नेपाल प्रहरी प्रमुख दिलिप घिमिरे, शसस्त्र प्रहरी इलाम प्रमुख द्रोण बिष्ट, नेपाली काग्रेसका जिल्ला सह सचिव देबन्द्र सुवेदी, इलाम नगरपालिका प्रवक्ता नुतनदेव दुलाल लगायतको आथित्यता रहेको थियो । अहिले महोत्सवमा सांगीतिक कार्यक्रम संचालन भइरहेको छ ।
महोत्सवमा कृषि उपज, दूग्ध परिकार, जातिय सस्कृति, स्थानीय परिकार र पर्यटकीयस्थलको प्रचारका लागि प्रवद्र्धनात्मक ६१ वटा स्टलको व्यवस्था गरिएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । संघीय सरकारबाट २०७६ सालमा एक प्रदेश एक सास्कृतिक ग्राममा घोषित भई पर्यटन पूर्वाधारका काम हुँदै आएका सन्दकपृर गाउँपालिकामा पर्यटनका माध्यमबाट बढी भन्दा बढी स्थानीय बजारहरुलाई चलायमान गरि अर्थतन्त्रको विकास गर्न प्रचारप्रसारको रुपमा महोत्सव आयोजना गरिएको हो ।

कोरोनामा माहामारीका कारण देशको पर्यटन व्यवसाय ठप्प भएको अवस्थामा त्यसलाई पुनः चलायमान गर्न र गाउँपालिकाभित्रकै नागरिकलाई पर्यटन पदयात्रा गर्नसँगै भ्रमणको सस्कृति विकास गर्न महोत्सवको आयोजना भएको प्रमुख प्रशासकिय अधिकृत महेश राईको भनाइ छ । सन्दकपुर महोत्सवमा आउने पर्यटकहरुका लागि पालिकाको मुख्य प्रशासकिय केन्द्र देउराली बजार, माईपोखरी आसपास क्षेत्रका होटल होमस्टेमा खाने बस्नेको व्यवस्था मिलाइएको आयोजक समितिका सचिव रुपेन नेम्बाङले बताए ।

सन्दकपुरको गाउँपालिकाको परिचय

नेपालको सुदुरपुर्वी जिल्ला इलाम, कोशी प्रदेशको १४ जिल्लामध्ये महाभारत पर्वतको बदनमा रहेको सुन्दर हरियाली गाउँपालिका हो सन्दकपुर। राज्यको पुनःसंरचनाले इलाम जिल्लालाई १० स्थानीय तहमा विभाजित गरेको छ । इलामको ४ नगरपालिका र ६ गाउँपालिकामध्ये सन्दकपुर गाउँपालिका पर्यटनको दृष्टिले सबैभन्दा अब्बल र उत्कृष्ट प्राकृतिक गन्तव्य स्थल हो ।
दक्षिणमा माईटारबेसीदेखि उत्तरमा हिउँ तुसारो जम्ने सन्दकपुरको चुचुरोसम्म पूर्वमा आलेभञ्ज्या∙ देखि पश्चिममा थाक्लेभञ्ज्या∙ सम्मको चार सीमानाभित्र समेटिएको प्राकृतिक भु–बनोट, वहुमुल्य जडिबुटी दुलर्भ वन्यजन्तु, जैविक विविधताले सम्पन्न, विभिन्न जातजातिको फरक फरक भाषा सँस्कृति लोभैलाग्दो रहनसहन रितिरिवाज,मनोरम प्राकृतिक छटा र कृषिमा आधारित लगनशील जीवनशैलीले सन्दकपुर गाउँपालिका साच्चिकै सिंगारिएको छ ।
समुन्द्र सतहबाट ९ सय देखि तीन हजार ६ सय ३६ मिटर उचाईसम्म फैलिएको सन्दकपुर गाउँपालिकाको नामकरण विश्वमै प्रख्यात पर्यटकीय स्थल सन्दकपुर डाँडाबाट राखिएको हो । प्राचीन शासक लेप्चा जातिको भाषा ‘सन्दक्फु” नामबाट अपभ्रम्स भई सन्दकपुर नामाकरण भएको हो । लेप्चा भाषामा सन्दक्फुको अर्थ यहाँ पाईने बहुमुल्य जडिबुटी बिख्मा भन्ने बुझिन्छ ।
भारतीय पर्यटन नक्साको उत्कृष्ट १ नम्बरमा राखिएको सन्दकपुर, सन्दक्फु नामले पनि प्रख्यात छ । प्राकृतिक रमणियता साँस्कृतिक विविधता, भौगोलिक विषमतायूक्त हावापानी र विविध जातिय संस्कृति हेर्न वर्षेने हजारौ पर्यटक सन्दकपुर गाउँपालिका क्षेत्रका विभिन्न पर्यटकीय स्थलहरुमा आउने गरेका छन् ।
सिंहलिला र महाभारत पर्वतश्रृंखलाबाट उत्पन्न पवित्र माई नदी र दर्जनौ नदीनाला, विश्व सम्पदा सुचिमा सुचिकृत माईपोखरी रामसार क्षेत्र, अन्य सिमसार क्षेत्र, रेडपाण्डा, ठकठके, गलैंचे झ्याउ जस्ता लोपोन्मुख थुप्रै वन्यजन्त र वनस्पति, वनजंगलभरी हुलका हुल चराका बथान,क्षितिज भरिका हिमश्रङ्खला, तालतलैया, झरना, छाँगा छहरा र यहाँका पौरखि किसानहरुले गरेका कृषि उत्पादन तथा पशुपालन व्यवसाय सन्दकपुर गाउँपालिको आकर्षणका केन्द्र हुन् ।
टावर झै ठडिएका अग्ला डाँडा र थुम्का थुम्कीबाट देखिने सुर्योदय र सुर्यास्तको अलौकिक दृश्य लोपउन्मुख वन्यजन्तु रेडपाण्डा (हाब्रे), गाउँपिच्छे भेटिने पुराना गुम्बा मठमन्दिर तथा ढु∙ाका देविस्थान लगायतका धार्मिक तथा ऐतिहासिक साँस्कृतिक सम्पदाहरु सन्दकपुर गाउँपालिकाको पर्यटनको थप आकर्षणहरु हुन् ।स्थानीय संस्कृति र परिकारको स्वादमा रमाउँदै हिउँसँगै सधैँभरी खेलिरहुँ झै मनै लोम्याउने दर्जनौ सुन्दर हिमालहरु, निश्चल पानी भित्रै डुबुल्कि मारिरहौँ झै सजिएका दर्जर्नौ प्राकृतिक पोखरीहरु, अग्लाअग्ला सुन्दर हरियाली डाँडाहरुमा बादलुको घुम्टोभित्र लुकामारि खेल्दै, हावासँग सुसेलिदैँ, वन्यजन्तु र चराहरुको चिरबिर आवाजमा रम्न तपाईपनि सन्दकपुर गाउँबासिको आत्मिय सत्कार र अनुपम प्रकृतिमा लुटपुटिन आउनुहोस् । हामी तपाईको स्वागत गर्न आतुर छौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार