कन्याम । पहाडको नाक ठोकिएला झै लाग्ने उकालो बाटो अनि पिठयुमा बोकेको भारीले असिनपसिन र थकानले लखतरान परेको शरीरलाई चौतारीमा बिसाउनुको मज्जा बेग्लै । चौतारीको काखमा विसाएर राहत दिनुको आनन्द भरिया र पैदल यात्रीले वाहेक कस्ले महसुस गर्न सक्ला र ? तीनै पाटी ,पौवा र चौताराहरु थिए भरिया र यात्रीका सुस्ताउने छत्रछायाँ ।
नेपालका धेरै गाउँहरुमा दिवंगत भएका आफन्तजन तथा प्रियजनको स्मृतिमा पाटी ,पौवा र चौतारा निर्माण गरिने प्रचलन कहिलेबाट सुरु भएको हो यकिन नभएपनि केही बर्ष अघि गाउँगाउँका बाटाहरुमा यस्ता पार्टी पौवाहरु पाइन्थे । आजकाल यस्ता पाटी ,पौवा र चौताराहरु सडक विस्तारै संगै मासिएका छन् । स्मृतिका चौताराहरु आजकाल संरक्षण नहुँदा गाउँघरबाट लोप भएर गएका छन् ।
पहिले पहिले यातायातको साधनहरु चल्ने बाटोहरु अहिले जस्तौ थिएन् मानिसहरु घोडामा सामान ओसारपसार गर्थे । घोडा नहुनेहरु पैदल हिडेर टाढाको बजार सम्म पुग्ने गर्थे वीच बाटोमै रात परेमा त्यहि बनेको पाटीमा आफू सँग भएको सातुसामल खाएर रात काट्थे । दिवंगत भएकाहरुको सम्झनामा निर्माण गरिने यस्ता संरचनाहरुले उनीहरुको स्मृतिलाइ चीरकालीन मात्र नबनाएर हाम्रो जस्तो बहुभाषिक ,बहुसांस्कृतिक तथा बहुधार्मिक बहुलताले युक्त महत्वपूर्ण अभिलेखको तथा पुरातात्विक महत्वको जिउदो दस्तावेजको रुपमा रहने जानकारहरुले बताउने गरेका छन् ।

कतिपय विकास योजनाको कामहरुले गतिलिदै जादा यी संरचनाहरु मासिदै जान थाले पछि यसको संरक्षणमा सरोकार वालाको बेलैमा ध्यान पुग्नुपर्ने स्थानीय सर्जक तथा शिक्षक अर्जुन राईले बताए । यसरी दिवंगतहरुको स्मृतिमा निर्माण गरिएका पाटी ,पौवा र चौतारामा प्राप्त भए सम्म मृतकको तस्वीर राख्ने, मृतकको संक्षिप्त परिचय ,पारिवारिक विवरण आदि राख्ने प्रचलन रहेकोले भावी पुस्तालाइ आफ्नो पारिवारिक, पुस्तागत जानकारी तथा वंशज वारे ज्ञान हासिल गर्न सहज हुने सन्चारकर्मी समेत रहेका गीतकार विवेक शर्मा लामिछानेको बुझाइ रहेको छ ।
बहुभाषिक ,बहुसांस्कृतिक तथा बहुधार्मिक बहुलता भएको नेपाली समाजमा यस्ता संरचनाहरु बनाउदा त्यसमा लिपिवद्ध गरिने भाषाहरु ऐतिहासिक शीलापत्रका रुपमा रहने भएकाले भाषा तथा संस्कृतिको अध्ययन अनुसन्धानमा समेत टेवा पुग्ने देखिन्छ । यसरी धर्म कमाउने नाममा होस या दिवंगतको आत्माको कामना गर्दै निर्माण गरिएको होस ऐतिहासिक तथा सांस्कृतिक दुवै रुपमा यस्ता संरचनाको महत्व छ ।
स्थानीय तहको सरकार बने पछि गाउँ गाउँमा सडक विस्तार वा भएका सडकको स्तरोन्न्ती गरिने नाममा यी संरचनाहरु भत्काउदै बिकासको ढोल पिटिरहेका जनप्रतिनिधीहरुले यसको संरक्षणमा भने कुनै नीति बनाएको भने पाइदैन