काठमाडौँ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्नेछन् ।
गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं। २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं।२ का लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि शनिबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।
दललाई छुट्टाछुट्टै समय
उम्मेदवारी दर्तालाई व्यवस्थित बनाउन जिल्लास्थित राजनीतिक दलको समन्वयमा तनहुँ–१ मा उम्मेदवारी दर्ताका लागि राजनीतिक दललाई छुट्टाछुट्टै समय निर्धारण गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार आयोजना गरेको सरोकारवालासँगको छलफलका क्रममा उम्मेदवारी दर्ता गर्न आउँदा सबै दललाई समय निर्धारण गरिएको छ ।
एकैपटक सबै दल आउँदा भीडभाड हुने र उम्मेदवारी दर्ता कार्यक्रम अस्तव्यस्त हुने भएकाले दलको समन्वयमा समय निर्धारण गरिएको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । नेपाली कांग्रेसलाई बिहान १२ बजे, नेकपा (एमाले) लाई ११ बजे, नेकपा (माओवादी केन्द्र) लाई दिउँसो २ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई दिउँसो १ बजे र नेकपा (एकीकृत समाजवादी) लाई १ः३० को समय निर्धारण गरिएको छ ।
अन्य राजनीतिक दललाई पनि सहमतिमै समय निर्धारण गरेर उम्मेदवारी दर्ताका लागि व्यवस्था मिलाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
कहाँबाट को उम्मेदवार
तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खानाल रास्वपाका स्वर्णिय वाग्ले र राप्रपाका शोभा गुरुङ लगायतले उम्मेदवारी दिँदै छन् । यस्तै चिनवन २ मा सत्ता गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने, रास्वपाका रवि लामिछाने ,राप्रपाका जीवलाल पुरी लगायतले उम्मेदवारी दर्ता गर्दै छन् ।
बारामा सत्ता गठबन्धनबाट जसपाका उपेन्द्र यादव, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, जनमतका शिवचन्द्र कुशवाह, राप्रपाका सोनेलाल शाह लगायतले उम्मेदवारी दिने छन् । गत मंसिर मा सम्पन्न निर्वाचनमा तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएपछि पद रिक्त हुन पुगेको थियो ।
चितवन २ बाट निर्वाचित रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो ।