फिक्कल । लोकसेवा आयोग र शिक्षक सेवा आयोगले लिने परीक्षामा सक्षम बनाउने उदेश्यले इलामको सूर्योदय नगरपालिकाले निःशुल्क तयारी कक्षा सुरु गरेको छ । नगरपालिकाभित्र स्थायी बसोबास भएका युवाहरुलाई लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन निःशुल्क विहीबारदेखि तयारी कक्षाको उद्घाटन गरिएको नगरपालिकाले जनाएको छ ।
निजामति सेवा र शिक्षण सेवामा प्रवेश गर्ने चाहना भएर पनि आर्थिक अभावले पढ्न नसकेका युवाहरुलाई लक्षित गरी निःशुल्क तयारी कक्षा थालिकएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए । दुई महिनासम्म संचालन हुने लोकसेवा र शिक्षकसेवा तयारी कक्षामा ८० भन्दा धेरै युवाहरू सहभागी भएको नगरप्रमुख राईले जानकारी दिए ।

कार्यक्रमका लागि सूर्योदय नगरपालिका नगर युवा परिषदले चालू आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रमअन्तर्गत युवाहरुका लागि बजेट विनियोजन गरको गरेको थियो । सूर्योदय नगरपालिकाले विगतदेखि नै शिक्षक सेवा आयोगमा परीक्षार्थीहरू हुन चाहने युवाहरूलाई लक्षित गरी तयारी कक्षा संचालन गर्दै आएको छ । गतवर्ष पनि सूर्योदय नगरपालिकाले शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गरेको थियो ।
सो कक्षाबाट नगरभित्रका ५० भन्दा बढी प्राथमिक तहका शिक्षकहरू शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भई स्याथी नियुक्तिको प्रक्रियामा छन् । उनीहरुले नगरपालिकाले उपलब्ध गराएको अवसरबाट आफूहरुलाई राहत मिलेको बताएका छन् । अघिल्लो पटक संचालन गरेको शिक्षक सेवा आयोग तयारी कक्षा एकदमै प्रभावकारी भएकाले यस्तो कार्यक्रम निरन्तर संचालन गरिने नगरप्रमुख राईको भनाई छ ।
यस्तै नगरपालिकाले निशुल्क कम्प्युटर तालिम समेत सुरु गरेको छ । कम्प्युटर सिक्न ईच्छुक युवाहरूले आफूलाई अनुकूल हुने ठाउॅबाट तालिम लिने व्यवस्था नगरले मिलाएको छ । कम्प्युट तालिममा तिन सय बढी युवाहरु सहभागी छन् ।