इलाम । बलिया मुद्धाका साथ स्थापित नेकपा माओवादी केन्द्र अहिले देशभरमा तेस्रो स्थान छ । इलाम बाहेकका प्रायः जिल्लाको जनमत पनि तेस्रो नै छ ।संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जनयुद्ध गरेर स्थापित भएको संस्थापक नेकपा माओवादी केन्द्रको इलाममा जनमत खस्कदो छ । माओवादी जनमत २०७९ को संघ र प्रदेशको निर्वाचनमा चुनावको ६ महिना अघि स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकिकृत समाजवादी पार्टीको भन्दा तल छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको त इलाममा खासै संगठन छैन तर नेकपा एकिकृत समाजवादी पार्टीका नेता कार्यकर्ताले त माओवादीको हैसियत आफ्नो पार्टीको जस्तो नभएको दाबि नै गर्छन् । र परिमाणमा पनि यहि देखिन्छ ।
तर, इलाममा ओरालो लागेको नेकपा माओवादी केन्द्रको यात्रालाई भर्खरै सम्पन्न जिल्लाको महेन्द्र रत्न बहुमुखि क्याम्पसको स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीले दिएको नतिजाले ‘आइस ब्रेक’ गरिदिएको छ । २०७९ मंसिरको निर्वाचन पछि देशको सत्ता माओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा पुगेपनि पार्टीका गतिविधि निस्प्रभावि हुँदा इलाममा माओवादीका नेता तथा कार्यकर्ता पार्टी परित्याग गर्ने क्रम नै थियो ।
बढि भन्दा बढी राजनीतिक मुद्धामा अल्झिने माओवादीका नेतालाई पूर्वको स्थापित महेन्द्र रत्न बहुमुखि क्याम्पसमा आफ्नो विद्यार्थी संगठनको गतिविधि पछिको नतिजाले आशाका किरण छरिदिएको छ । हुनत पहिलो संविधानसभाको निर्वाचनमा पनि १ सिट जित्न माओवादीले सकेको थिए । तर उर्जासिल कार्यकर्ता सहित ३० हजार बढी जनमत बोटुलेको माओवादीको अहिलेको जिल्लाको मत चानचुन सात हजार मात्रै छ ।
पार्टीको यस्तो अवस्थालाई पनि वास्था नगरि महेन्द्र रत्न बहुमुखि क्याम्पसमा अखिल क्रान्तिकारीले निरन्तर गतिविधि गरि संगठन स्थापित गरायो । उसलाई क्याम्पसमा विद्यार्थीमाझ निरन्तर गरिएका गतिविधि गरि संगठन स्थापित गरायो भने सोहि स्थापित संगठनको बलमा एमाले निकट अनेरास्ववियुको साथ लिएर स्ववियूमा आफ्नो बलियो उपस्थिति गराएको छ । ऐतिहासिक विरासत बोकेको एमाले निकट अनेरास्ववियुको बिजय यात्रा माओवादीको अखिल क्रान्तिकारीको सहयोगले संभव भयो । चैत्र ५ गतेको माओवादीको अखिल क्रान्तिकारीले स्ववियुको प्रत्यक्ष निर्वाचनमा सचिव, चार सदस्यमा विजयी हासिल गरेको छ । स्ववियूमा एमाले निकट अनेरास्ववियुले अध्यक्ष, कोषाध्यक्ष, दुई सदस्यमा बिजयी हासिल गरेको छ भने राप्रपा निकट विद्यार्थी संगठनको १ जनाले प्रत्यक्षतर्फ बिजयी हासिल गरेको हो ।
समानुपातिक मतमा पार्टीको ओरालो यात्रा छोडेर अखिल क्रान्तिकारीले तेस्रो स्थान बलियोका साथ स्थापित भएको छ । राष्ट्रिय राजनितिमा माओवादीको मत १३ प्रतिशत रहेको अवस्थामा इलामको स्थापित महेन्द्र रत्न बहुमुखि क्याम्पसमा भने १६ प्रतिशत मत सुरक्षित गरेको छ ।
१७ वर्ष अघि भएको स्ववियू निर्वाचनमा एमाले निकट अनेरास्ववियुले प्यानलै जितेको महेन्द्र रत्न बहुमुखि क्याम्पसमा अखिल क्रान्तिकारीले आफ्नो संगठन क्रियासिताका साथ स्थापित गरेको हो । क्याम्पसमा रहेका संगठनहरुको क्रियासिलता, उनीहरुको पाएको मत कसैका लागि एक्लै पनि जित सुरक्षित गर्ने चै थिएन । २ हजार ८ सय विद्यार्थी अध्ययन गर्दै आएपनि महेन्द्र रत्न बहुमुखि क्याम्पसमा १२ सय ८ विद्यार्थीले भोट लगाएका थिए । विद्यार्थीको मतदान अनुसार एमाले निकट अनेरास्ववियूले ३ सय ९८ मत प्राप्त गरेको छ ।
यस्तै दोस्रो मत नेपाल विद्यार्थी संघले पाएको छ । नेविसंघले ३ सय ८७ मत प्राप्त गरेको छ । यस्तै तेस्रो मतमा नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले १ सय ९५ मत प्राप्त गरि तेस्रो स्थान लिएको छ ।
चौथोमा नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियूले १ सय १ मत प्राप्त गरेको हो । राप्रपा निकट विद्यार्थी संगठन ३७ मत सहित पाँचौ रहेको छ । यस्तै छैटौमा २८ मत प्राप्त गरि समाजवादी विद्यार्थी युनियन भएको छ ।
सातौँमा नेकपा विप्लव निकट विद्यार्थी संगठनले २६ मत प्राप्त गरेर सातौ स्थानमा रहेको थियो । पार्टीको जनमत घट्दो अवस्थामा क्याम्पसमा विद्यार्थी संगठनको प्रतिवद्ध मत तेस्रो स्थानमा दर्ज हुनुमा ठुलै चुनौती र सफलता रहेको अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरु बताउँछन् ।