चुलचुली । पूर्वी नेपालबाट पश्चिम नेपालसम्म जोडिने मदन भण्डारी चुरे राजमार्गको इलाम खण्डमा पर्ने खोलाहरूमा पुल निर्माणले गति लिएको छ । राजमार्गको इलाम खण्डमा पर्ने ४ वटा खोलाहरूमा पुल निर्माणले तिब्रता पाएपछि इलामको चुलाचुली क्षेत्रका बासिन्दा खुशि भएका छन् ।
चुरे क्षेत्रमा पर्ने बस्तीलाई राष्ट्रिय राजमार्गको पहुँचबाट जोड्ने मदन भण्डारी राजमार्गको मुख्य लक्ष्य हो । आयोजनाबाट झापाको बेलडाँगीदेखि इलामको चुलाचुली खण्डमा पुल धमाधम निर्माण हुँदै आएका छन् ।

राजमार्गको इलाम चुलाचुली गाउँपालिका भित्र ५ खोलामध्ये ४ वटा खोलामा पुल निर्माणको काम धमाधम भइरहेको हो । झापाको बेलडाँगीबाट इलाम चुलाचुली जोड्ने रतुवा खोलाको पुल निर्माण अन्तिम चरणमा छ । चुलाचुली गाउँपालिकाको बुकुवा, विधुवा र चाँजु खोलामा पुल निर्माणको काम धमाधम भइहरहेको स्थानीय ओम नारायण खनालले बताए ।

मदन भण्डारी चुरे राजमार्गको सर्भेको काम इलामको चुलाचुली र माई नगरपालिकाको सुखानीसम्म सकिएको छ । सडक सर्भेपछि पुल निर्माणको थालनीले जनतामा खुसीयाली छाएको चलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।

ठेक्का सम्झौता भएका पुल मध्ये रतुवा खोलामा पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । एक सय ५० मिटर लामो पुल निर्माणको काम ९० प्रतिशत सकिएको छ । बिधुवा, बुकुवा, चाँजु खोलाको पुलको काम अहिले ५० प्रतिशत सकिएको छ । तीन वटा पुल निर्माणका लागि २०७७ भदौमा तुम्बी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको थियो । ३४ करोड ९ लाख १२ हजारमा ठेक्का सम्झौता भएका तीन वटै पुल २०८० जेठ महिनाभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।
चुलाचलीमा पर्ने बुकुवा खोलामा ४० मिटर र विधुवा खोलामा एक सय १० मिटर लामो पुल निर्माण हुनेछ । १ हजार २ सय ५० किलोमिटर लामो चुरे मदन भण्डारी राजमार्गको पूर्वी खण्ड धरान देखि इलामको चुलाचुली हुँदै झापाको बाहुनडाँगीसम्म १ सय २० किलोमिटर सडक कालोपत्रे हुनेछ ।