फिक्कल । इलामको सूर्योदय नगरपालिका–१४ बर्दुमा रहेको बुद्ध माध्यमिक विद्यालयको ल्याबबाट चोरी भएको सामाग्री फेला परेको छ । गत माघ १२ गते स्कुल बिदा भएको समयमा चोरी भएको एक थान कम्प्यटर मोनिटर, किवोर्ड, सिसी टिभी र केबल तार फागुन १० गते फेला परेको हो ।
विद्यालयले सामाग्री चोरी भएको थाहा पाएर अस्थायी प्रहरी बिट कटुसेमा जानकारी गराएका थिए । उजुरीपछि प्रहरीले गस्ती र पेट्रोलिङ बढाएका कारण चोरी भएको सामाग्री होराइजन बर्दु भ्याली चिया कारखानाको छेउमा बेबारिसे अवस्थामा फेला पारिएको छ ।

चिया कारखानाका प्रोपाइटर बुद्ध तामाङले बोरामा वेवारिसे सामाग्री रहेको जानकारी गराएपछि प्रहरी सहायक निरिक्षक झमक श्रेष्ठ र प्रहरी सहायक हवलदार लक्ष्मण यादव आएर हेर्दा विद्यालयबाट हराएको सामाग्री रहेको देखिएको छ । स्थानीय बासिन्दाको रोहबरमा स्कुल प्रशासनलाई सामाग्री जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
