इलाम । उपप्रधानमन्त्री तथा जलस्रोत सिंचाई तथा उर्जा मन्त्री राजेन्द्र लिङदेनले देश नै मागी खाने जस्तो भएको बताएका छन् । इलामको रोङ गाउँपालिकामा अवस्थित बहिनी पाथीभरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लिङदेनले बिदेशी आउना साथ नेपालले माग्ने मात्र काम गरेको बताउँदै आफैमा आत्मनिर्भर बन्नु पर्ने बताए ।
उनले अन्य देशका नेता, मन्त्री , कुटनीतिक नियोगका मान्छे आएर जाने बेलामा हामीलाई सहयोग गर्नु भनेर मागेर पठाउनु पर्ने बाध्यता रहेको औल्याए । ‘राम्ररी स्वागत गर्न नपाई पहिलेको सहयोगका लागि धन्यवाद भनेर फेरी सहयोग गर्नु भन्नु पर्ने त चलनै रहेछ, मन्त्री भएपछि थाहा भयो ।’ उनले भने जनताले एउटा मात्र पार्टीलाई सरकार चलाउन जनादेश नदिएकाले कसैले निषेधको राजनीति कसैमाथि गर्न नहुने बताए ।
मन्त्री लिङदेनले बिद्युत उत्पादन र प्रसारका कामलाई प्राथमिक्ता दिईने बताए। उनले बिद्युत खरिद सम्झौता खुल्ला गरी सकेको जानकारी दिँदै उत्पादन संगै बिद्युतको ब्यपार समेत सुनिश्चित गर्नु पर्ने बताए । मन्त्री लिङदेनले भारत र बंगलादेश संग बिद्युतको ब्यपार सहज हुने बताए ।
‘हामी नतिजा आउने गरी काम गर्नु पर्छ भन्नेमा लागेका छौ, अहिले अध्ययन गर्ने काम भैरहेको छ’ मन्त्री लिङदेनले भने । उनले बिद्युत उत्पादन गरेर मात्र भएन, कुन देशलाई बेच्ने भन्ने प्रष्ट हुनु पर्छ ।’ मन्त्री लिङदेनले बुढी गण्डकी, दुधकोशी र तमोर जस्ता जलाशयमा बिद्युतका ठूलो आयोजना संचालन गरिने बताए ।
उनले बिद्युत प्राधिकरणको शेयर निष्कासन गर्ने तयारी भएको समेत जानकारी दिँदै भने ‘शेयर निष्कासन गरेर त्यहि शेयरको रकमले थप बिद्युत उत्पादन गरी बिकासका काम गर्ने होस’ उनले २९ प्रतिशत शेयर खाडीमा रहेका युवालाई दिईने जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका मन्त्री लिङदेनले आफु जति दिन पदमा बसेपनि इमान्दारिताका साथ काम गर्ने बताए । मन्त्री लिङदेनले पाथीभरामा पूजाअर्चना गरेका छन् । उनले पाथीभराको बिकासमा आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता जनाए ।