सन्दकपूर । हिमाली क्षेत्रको ‘सुरक्षा गार्ड’ को उपमा पाएको तिब्बतियन मिस्टिफ कुकुरको व्यवसायीक रुपम बिक्रि शुरु भएको छ । जंगलि चितुवासँगको लडाइमा बिजय हासिल गर्ने यो कुकुरको बच्चाको मूल्य नेपाली १ लाखमा खरिद बिक्रि हुन थालेको छ ।
हिमाली जिवनशैलीमा मात्रै फस्टाउने तिब्बतियन मिस्टिफ कुकुर लोप नै हुन थालेको थियो । सय वर्ष अघि चौरी गोठ सर्ने क्रममा चीनको तिब्बतबाट नेपाल भित्रिएको तिब्बतिय मिस्टिफ कुकुर नेपालमा पछिल्ला दिनमा भेट्न ग्राहो पथ्र्यो ।

तर अहिले लोप हुन लागेको आकर्षक तिब्बतियन मिस्टिफ कुकुरको संरक्षणसँगै व्यवसायीक रुपमा बिक्रि हुन थालेको छ । ३ हजार मिटर माथिको भु–भागमा मात्रै फस्टाउने यो कुकुर चौरी, भेडा गोठालाहरुले गोठको रक्षाका लागि पालन गर्दै आएका थिए । लोप भइसकेको कुकुर इलामको सन्दकपूर गाउँपालिकाको हिमाली क्षेत्रका केहि किसानले संरक्षणसँगै व्यवसायीक रुपमा बिक्रि गर्दै आएका हुन् ।

तिब्बितियन मिस्टिफ कुकुर ताप्लेजुङको गोला र घुन्सामा मात्रै पाइने गरेको छ । इलाम र पाँचथरबाट लोप भएको यो कुकुरले चौरी, भेडाको बथानमा चितुवाले आक्रमण नहोस् भनी सुरक्षाका लागि पाल्ने गरिन्छ । यो कुकुर भारतीय ६० हजार र नेपाली १ लाख रुपैयाँमा बिक्रि हुँदै आएको छ ।
एक माउ कुकुरबाट २ देखि ४ वटासम्म बच्चा जम्मिने गरेका छन् । घरको सह र सुरक्षाका लागि राखिने गरेको तिब्बितियन मिस्टिफ कुकुरको अध्ययनको काम इलामको देउमाई नगरपालिकास्थित जीतपुरमा हुँदै आएको छ ।
ठुलो आवाजका साथ भुक्ने र आकर्षक मुहारका कारण यो कुकुरको मूल्य बढी पर्ने गरेको हो । तिब्बितियन मिस्टिफ कुकुर फाट्टफुट्ट पालन शुरु भएपछि सन्दकपूर गाउँपालिकाले संरक्षणका लागि सहयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।
लोप भइसकेको कुकुर संरक्षण गर्ने किसानका गोठमा सन्दकपूर भ्रमणमा आउने पर्यटकहरुको आकर्षणको केन्द्र बन्ने गरेको छ ।