Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पशुपतिनगर भन्सारमा ३४ प्रतिशत राजस्व संकलन

पशुपतिनगर भन्सारमा ३४ प्रतिशत राजस्व संकलन

  • नमीन ढकाल
  • बिहिबार, माघ १२ २०७९


पशुपतिनगर भन्सारमा ३४ प्रतिशत राजस्व संकलन

फिक्कल । पुर्वी नाका पशुपतिनगर भन्सारले चालु आर्थिक बर्षमा राजस्व संकलनको ३४ प्रतिशत भन्दा बढि लक्ष्य हासिल गरेको छ । चालु आर्थिक बर्षको पुष मसान्तसम्म भन्सारले ८७ लाख ३८ हजार राजस्व संकलन गरेको हो । पशुपतिनगरले चालु आर्थिक बर्षमा २ करोड ५३ लाख ४० हजार संकलन गर्ने लक्ष्य राखेको थियो । त्यसअघि आर्थिक बर्ष २०७७÷७८ मा १ करोड ८९ लाख ९९ हजार लक्ष्य राखेकोमा १ करोड २ हजार (५२.६५%) संकलन भएको थियो ।

आर्थिक बर्ष २०७६÷७७ मा १ करोड ८९ लाख ९४ हजार रुपैया लक्ष्यमा ७६ प्रतिशत अर्थात १ करोड ४४ लाख ३४ हजार संकलन भएको ७१ औ भन्सार दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गरिएको छ । कार्यालयले चालु आर्थिक बर्षको पुष महिनामा सवैभन्दा बढि राजस्व पशुपतिनगरले संकलन गरेको कार्यालय प्रमुख प्रेम लामाले जानकारी दिए ।

कार्यालयले पुष महिनामा मात्रै २१ लाख ८० हजार रुपैया संकलन हुने प्रक्षेपण गरेपनि १४५ प्रतिशतले बृद्धि हुँदा ३१ लाख ६५ हजार रुपैया संकलन भएको छ । अंग्रेजी नयाँ बर्षको अवसरमा भारतीय पर्यटकहरुको आगमन उच्च भएकाले अस्थायी सवारी पासबाट रकम संकलन भएको कारण पुषमा लक्ष्य भन्दा बढि संकलन भएको लामाले बताए ।

कार्यालयले सवैभन्दा कम भाद्र महिनामा ५३ प्रतिशत मात्र गरेको छ । कार्यालयमा चालु आर्थिक बर्षमा राजस्व चुहावट सम्बन्धी कसुर दर्ता ३१ वटा मुद्धाबाट ५२ लाख २५ हजार ६ सय ३६ रुपैया संकलन गरेको छ । कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भारतसंग भएको व्यापार तथा पारवहन सन्धि अनुसार पशुपतिनगर–सुखियापोखरीलाई व्यापारिक रुट मानिएको तर व्यवहारमा सो नभएकोले चुनौती देखिएको जनाएको छ ।

भारतीय क्षेत्रबाट पशुपतिनगर भन्सार स्थापना नहुँदा बिल अफ इन्ट्री जारी नहुने भएकाले निर्यातको राज्स्व संकलनमा समस्या देखिएको जनाइएको छ । ५२ कि.मि. लामो पहाडी खुला सिमाका कारण बढेको अवैध कारोबार, कर्मचारीको संख्या न्युन रहनुका साथै प्लान्ट क्वारेन्टाइनको अभाव, वैदेशिक व्यापार सम्बन्धी शिक्षाको कमी र परिमाणात्मक बन्देज र बढी पैठारी राजस्व लाग्ने मालबस्तुको चोरी पैठारी बढ्दो देखिएको जनाइएको छ ।

पशुपतिनगर नाकाबाट हरियो तरकारी, छुर्पी, दुध, फुलको दाना, तितौरा, घिउ, गोरु, राँगा र चीज गरि ९ प्रकारका बस्तुहरु निर्यात हुने गरेको छ । भारत तर्फबाट कपडा, चप्पल, जुत्ता, चिनी, आर्कशिल्ड खदा कपडा, फिङ र गमला जस्ता बस्तु पैठारी हुने गरेको छ । इलामको छब्बीसे देखि पाँचथरको च्याङथापुसम्म ८ वटा छोटी भन्सार रहेका छन् । कोभिड संक्रमणपछि अहिले सबै छोटी भन्सार बन्द रहेकाले चोरी निकासी बढ्दै गएको पाइएको छ ।

भन्सार कार्यालय र छोटी भन्सारमा भन्सार अधिकृत देखि कार्यालय सहयोगीसम्म २० जनाको दरबन्दी रहेकोमा हाल ९ जना कर्मचारी मात्र पदपुर्ति भएका छन् । पशुपतिनगर भन्सारमा अधिकृत रिक्त रहेकाले निमित्तका रुपमा नायब सुब्बा प्रेम लामाले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन् । पशुपतिनगर नाकाको बाटो हुँदै २ सय बर्ष भन्दा अघिबाट व्यपार व्यवसाय हुँदै आएको थियो ।

१८ औं शताब्दीबाटै दार्जिलिङ हुदै आउने मालबस्तु पशुपतिनगर, फालेबुङ हुदै धुलाबारी जाने गरेको थियो । भारत तर्फ सुखियापोखरी स्टेशन सन् १८७५ स्थापना भई नेपालसँगको वैदेशिक व्यापार व्यवस्थित गर्न खोजिएको थियो । नेपाल भारत मैत्री सन्धीले पशुपतिनगर सुखिया पोखरी नाकालाई स्विकृत व्यापार मार्गको रुपमा स्वीकार गरेको जनाइएको छ । भारत तर्फको सुखियापोखरीको भन्सार कार्यालयले बिल अफ इन्ट्री जारी गरेको छैन् ।

कस्टम चेक पोष्टमात्र रहेको र अध्यागमन, क्वारेन्टाइन जस्ता जस्ता अन्य सीमा कार्यालयहरु समेत छैन् । नेपाल तर्फ पशु क्वारेन्टाइन रहेको छ । तर भारत तर्फ नहूँदा नेपालबाट भन्सार काटेर पनि भारत निकासी बैधानिक रुपमा गर्न पाइएको छैन् । नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा ७१ औ अन्तराष्ट्रिय भन्सार दिवस मनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरे, शसस्त्र प्रहरी बल नेपाल १ नं गण हेडक्वाटर श्रीअन्तुका सशस्त्र प्रहरी उपरिक्षक सुरेश सापकोटाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि, सूर्योदय नगरपालिका–२ का वडाध्यक्ष डिक बम्जन, सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले भारत तर्फ भन्सार नहुँदा नेपाली बस्तुहरु सहज रुपमा निर्यात हुन नसकेको बताएका छन् । उनीहरुले नेपाली उत्पादनलाई निर्यातका लागि भन्सार खोल्न सके अहिले संकलन भएको भन्दा सयौ गुणा बढि राजस्व देशले संकलन गर्ने बताए । कार्यालयका कर्मचारी विनोद आचार्यले स्वागत गरेको कार्यक्रम निमित्त कार्यालय प्रमुख प्रेम लामा रहेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरिक्षक बलराम गिरी, शसस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट पशुपतिनगर प्रमुख शसस्त्र प्रहरी निरिक्षक सुरेश आचार्य, उत्कृष्ट व्यवसायी दादिकी शेर्पा र उत्कृष्ट कर्मचारी कार्यालय सहयोगी लाहुरे धिमाललाई सम्मानपत्र प्रदान गरिएको छ ।

गिरीलाई प्रहरी उपरिक्षक घिमिरे र आचार्यलाई शसस्त्र प्रहरी उपरिक्षक सापकोटाले सम्मानपत्र प्रदान गरे । उत्कृष्ट भन्सार राजस्व तिर्ने व्यवासी शेर्पालाई नगर प्रमुख राई र उत्कृष्ट कर्मचारी धिमाललाई कार्यालय प्रमुख लामाले सम्मानपत्र प्रदान गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार