इलाम । इलामका सशस्त्र प्रहरी बल प्रमुख फेरिएका छन् । शसस्त्र प्रहरी बल नेपाल १ नं गण हेडक्वाटर श्रीअन्तुका सशस्त्र प्रहरी उपरिक्षक सुरेश सापकोटा सरुवा भएका हुन् । ९७ सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा हुँदा सापकोटा एपिएफ काठमाण्डौ तथा स्टाफ कलेज पुगेका हुन् । उनको स्थानमा नयाँ एसपीको रुपमा द्रोण कुमार बिष्ट इलाम आउन लागेका हुन् ।
यसअघि उनी सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा रहेका थिए । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले पदबहाली गरेसँगै घोषणा गरेको सरुवा प्रणालीलाई पूर्वानुमान योग्य बनाइने नीतिअनुसार बिहीबार सशस्त्र प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको हो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पुरुषोत्तम थापाले जिम्मेवार प्राप्त नगरेका सशस्त्र प्रहरी उपरीक्षकलाई पहिलो प्राथमिकतामा राखेर सरुवा गरिएको जानकारी दिए । “एकपटक पनि कमाण्डको जिम्मेवारी नपाएकालाई पहिलो प्राथमिकतामा, रिजर्भ गण र तालिम शिक्षालयमा काम गरेकालाई दोस्रो प्राथमिकतामा, विगतमा मुख्य गणमा कमाण्ड गरेकालाई तेस्रो प्राथमिकतामा राखेर सरुवा गरेका छौँ”, उनले भने ।
एकमात्र कमाण्ड गरी हाल कमाण्डमा रहेका सशस्त्र प्रहरी उपरीक्षकलाई कमाण्ड अवधि पूरा नभएसम्म कमाण्डमा रहने गरी सरुवा गरिएको प्रवक्ता थापाले बताए । विगतमा सशस्त्र प्रहरी बल नेपालले पूर्वानुमान सूचीमै आधारित रही सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी), सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सरुवा प्रणालीसमेत कार्यान्वयन गरिसकेको जनाएको छ ।
आगामी दिनमा पनि सरुवा तथा बढुवा सूचीलाई अझ परिमार्जन र परिस्कृत गरी पूर्वानुमान प्रणालीलाई अझ प्रभावकारीरूपमा कार्यान्वयन गर्दै लैजाने प्रवक्ता थापाले बताए ।
