चुलाचुली । माटो मुनी फल्ने सिमलतरुल खेतीबाट इलामको चुलाचुली गाउँपालिकाका किसानले आम्दानी लिन थालेका छन् । चुरेको फेदिमा रहेको चुलाचुली गाउँपालिका सिमलतरुल खेतीका लागि उपयुक्त रहेको कृषि विज्ञ टोलीको निष्कर्षपछि पालिका समेत प्रवद्र्धन गर्ने योजना बनाएको छ ।
सिमलतरुलको खरिद बिक्रि पुष र माघ महिनामा बढी हुन्छ । माटो मुनी फल्ने यो तरुलको माग पछिल्ला दिनमा बढ्दै गएपछि किसानले आम्दानीको श्रोत बनाउन थालेका छन् ।

घरमा खाजाका लागि रोपण हुँदै आएको यो तरुलको पछिल्ला दिनमा माग बढेसँगै चुलाचुलीमा व्यवसायीक खेती हुन थालेको हो । उत्पादन बढेसँगै सिमलतरुल खरिद गर्न चुलाचुली आउने व्यवसायीको संख्या बढ्दै गएको किसान धन बहादूर योगीले बताए ।
बजार निर्यातका लागि चुलाचुलीमा सिमलतरुल स्थानीय व्यवसायीबाट संकलन समेत हुन थालेको छ । संकलन भएको तरुल दैनिक रुपमा झापाको दमक, बिर्तामोड मोरङको उर्लाबारी, सुनसरीको इटहरी, धरानसम्मका व्यवसायीक पुग्ने गरेका छन् । सिमलतरुल प्रायः बोक्रा तासेर उसिनेपछि खाने गरिन्छ ।

यो तरुल सुकाएर पिठो बनाइ रोटि खाने पनि चलन छ । त्यस्तै यस तरुलबाट आदिवासी समुदायले रक्सि पारेर बिक्रि गर्दै आएका छन् । चुरेको माटो बगेर जम्ने ठाउँ भएकाले चुलाचुलीमा सिमलतरुत खेतीको प्रचुर संम्भाव्यता रहेकाले लगानी शुरु भएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।
बजारको समस्या नहुने र लगानी पनि खासै नहुने भएकाले चुलाचुलीमा वडाहरुले पनि खेती बिस्तारमा बजेट विनियोजन गरेका छन् । फलफुल उत्पादनको प्रथम सुचिमा राखेर विभिन्न दातृसंस्थाको लगानीमा पालिकाले सिमलतरुल खेती विस्तार गर्ने योजना बनाएको छ ।
सुगर, प्रेसर लगायत दिर्घ रोगीले पनि खान मिल्ने सिमलतरुल किसानका बारीमा प्रतिकिलो २० देखि ३० रुपैयाँमा बिक्रि हुँदै आएको छ ।