Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

रेडक्रसद्वारा दुई पत्रकार सहित दश जना सम्मानित

रेडक्रसद्वारा दुई पत्रकार सहित दश जना सम्मानित

  • लोकल सन्देश
  • बिहिबार, पौस २८ २०७९


रेडक्रसद्वारा दुई पत्रकार सहित दश जना सम्मानित

माई । नेपाल रेडक्रस सोसाईटी उपशाखा दानाबारीले दुई जना पत्रकार सहित दश जनालाई सम्मान गरेको छ । उपशाखाको १८औं साधारणसभामा पत्रकार विमल दहाल र हरि असीम अधिकारी सहित माई नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेललाई कदरपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

दानाबारी उपशाखा स्थापना काल देखिने अवरत रुपमा रेडक्रसका गतिबिधि प्रसारण तथा प्रकाशन गरे वापत दहाल र अधिकारीलाई तथा कोभिड लगायतका जटिल अवस्थामा समेत माईवासीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरिएकोमा जनस्वास्थ्य निरीक्षक पुष्कर कट्टेललाई प्रमुख अतिथि नगर प्रमुख खम्बा सिं लिम्बु र निबर्तमान नगर प्रमुख दिपक कुमार थेवेले सम्मान गरेको  रेडक्रस दानाबारी उपशाखा सभापति मित्र प्रसाद गौतमले जानकारी दिए ।

मानवीय सेवामा समर्पित रेडक्रसले गत वर्ष सन्चालन गरेको शिविरमा योगदान गरे वापत सो समयमा प्रदान गर्न बाँकी ५ जना स्वास्थ्यकर्मी सहित ७ जनालाई समेत कदर पत्र बुधबार नै प्रदान गरिएको छ । यसरी कदरपत्र प्राप्त गर्नेमा स्वास्थ्यकर्मीहरु चन्द्रकला खड्का, जीवनलाल ताजपुरिया, वविता सेलुवाल, युनिसा लुईटेल र सुमन मगर रहेका छन् ।

त्यस्तै स्वास्थ्य कार्यालयका कर्मचारी गोपाल आचार्य र सुरज मल्लिकलाई पनि सानिमा हाइड्रोपावर लिमिटेड माईका बाताबरण अधिकृत देवराज गुरागाई, रेडक्रस इलाम जिल्ला शाखा सचिव बिजय शेखर भट्टराई लगायतले कदरपत्र प्रदान गरेका थिए ।

सचिव हरि प्रसाद गुरागाईले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिबलाल आचार्यले ७ लाख ५२ हजार २ सय ६६ रुपैयाँको आर्थिक प्रतिवेदन पेश गरेको कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथि माईका नगर प्रमुख खम्बा सिं लिम्बु, निबर्तमान नगर प्रमुख दिपक कुमार थेवे, रेडक्रसकर्मी बिजय शेखर भट्टराई लगायतले मन्तव्य राखेका थिए ।

बुधबार नै सम्पन्न बन्दसत्रबाट पुन २ बर्षका लागि मित्र प्रसाद गौतमको सभापतित्वमा ११ सदस्यीय समिति गठन गर्दै अधिबेशन सम्पन्न भएको छ । नवगठित समितिको उपाध्यक्षमा रञ्जना थापा, सचिब हरि प्रसाद गुरागाईं, उपसचिव ठाकुर खाती, कोषाध्यक्षमा सेतु तामाङ र उप कोषाध्यक्षमा चन्द्रमाया लिम्बु चयन भएका छन् ।

तीन सय सदस्य रहेको उपशाखाको सदस्यहरुमा ईश्वरी पराजुली, खेमराज लिम्बु, नेत्र प्रसाद भट्टराई, राधा तामाङ र हर्कवीर योङहाङ चयन भएको निर्वाचन समितिका सदस्य हरिप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार