इलाम । इलाममा एचआईभीको नियमित औषधि सेवनकर्ताको संख्या ७५ पुगेको छ । इलाममा एक कार्यक्रममा गत बर्षको तुलनामा १३ जना थप भएको जनाइएको छ । एचाईभी संक्रमित हुनेमा २ जना बालबालिकाहरु समेत रहेका छन् । इलाम जिल्लाको हकमा होटल व्यवसायमा काम गर्ने मानिसहरु र अबैद्य ड्रग प्रयोगकर्ताहरुमा एचआइभी फैलिएको पाईएको लबकुश आश्रमकी अध्यक्ष रञ्जु शर्माले सो जानकारी दिईन् ।
रोजगारीकै मुख्य कारणले इलाममा एचआईभी संक्रमितको तथ्यांकमा बृद्धि भएको लबकुशको तथ्यांकमा उल्लेख छ । उनले इलामको कन्यामका होटलमा एचआईभी भएकाहरु कार्यरत भएको पाएको र उनीहरुको उद्धार समेत गरिएको जानकारी दिइन् । एचआईभीको आशंका भएमा परिक्षण चेकजाच गर्न इलामको फुलगाछीमा रहेको लवकुश आश्रममा सम्पर्क गर्न उनले अनुरोध गरिन् ।
विगत ३३ बर्षदेखि शर्मा आफै एचआईभी सँग बाचिरहेकी अभियन्ता हुन् । इलाम नगरपालिका–७ मा मात्रै ६ जनाले नियमित औषधी सेवन गरिरहेका छन् । इलाम जिल्लाका एचआईभीसँग बाचिरहेकाहरु झापा, धरान, काठमाण्डौ तथा भारतका अन्य शहरहरुबाट औषधि लिने भएकोले जिल्लाको सहि तथ्यांक नआउने शर्माले जानकारी दिईन् ।
इलाममा नियमित औषधि प्रयोगकर्ताहरु इलाम, पाँचथर र ताप्लेजुङका छन् । इलामकै मात्र औषधि प्रयोगकर्ताको संख्या भने ३५ रहेको छ । एचआईभीको औषधि निशुल्क इलाम अस्पतालको एआरटीबाट प्राप्त गर्न सहयोग गर्ने, एचआईभी भएकाको परिवारकै निशुल्क स्वास्थ्य विमा गरिदिने, पुर्नस्थापनाका कार्यक्रम तथा स्वरोजगार बनाउने, नियमित औषधि सेवन गर्नलाई उत्प्रेरणा गर्ने काम लबकुशले गरिरहेको छ ।