इलाम । पुर्वी पहाडी नाका पशुपतिनगरमा निजी प्रयोजनका भारतीय नम्बर प्लेटका सवारी साधनलाई निःशुल्क सुविधा पास उपलब्ध गराउने भएको छ । आइतबार देखि नाकाबाट प्रवेश गर्ने भारतीय जीप, कार र मोटरसाइकल आदिलाई ‘सुविधा पास’ दिइने भएको हो ।
आज पशुपतिनगरमा प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, सुरक्षा निकायका प्रमुख, उद्योग वाणिज्य संघका प्रतिनिधि, व्यवसायी लगातयको संयुक्त बैठकले सुविधा पास उपलब्ध गराउने बारे निर्णय गरेको भन्सार अधिकृत प्रेम लामाले जानकारी दिए ।
विश्वमा कोभिडको संक्रमणपछि लागेको लकडाउन यता भारतीय सवारी साधनलाई यो सुविधा दिइएको थिएन । लामका अनुसार सूर्योदय उद्योग वाणिज्य संघ र पर्यटनसंग सम्बन्धित संघसंस्थाले सीमा नजिकको बजारसम्म भारतीय सवारी साधनलाई सुविधा पासमा प्रवेश दिन माग गर्दै आएको बताए ।
बिहान ८ देखि बेलुका ५ बजेसम्म चल्नेगरी भारतीय गाडीले पाउने छन् । यो सुविधा पास पाउन भारतीय सवारी साधनले कुनै शुल्क बुझाउनु पर्दैन । नेपाल तर्फ हेल्थ डेक्सको व्यवस्था गर्न छलफलमा सहभागीहरु सहमत भएका छन् ।
सविधा पाउने गाडीले दिनभर पशुपतिनगर बसपार्कसम्म आवतजावत गर्न पाउनेछ । सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले भारतीय नम्बर प्लेटका निजी प्रयोजनका सवारी साधनले नेपालसँगको सीमा नाघेर पशुपतिनगर बजारसम्म आउन ‘सुविधा पास’ पाउँदा नेपाली बजारमा चहलपहल बढ्ने विश्वास व्यक्त गरे ।
‘पहिले यस्तो सुविधा पास दिने व्यवस्था हुँदा हाम्रो व्यापार व्यवसाय र पर्यटन फस्टाएको थियो’ राईले भने ‘सुस्ताउँदै गएको हाम्रो सीमावर्ती पशुपतिनगरमा भारतीय पर्यटक र व्यवसायीको सहज आवागमनले बजार चलायमान हुने अपेक्षा गरेका छौं ।’

नगर प्रमुख रणबहादुर राईले भारतको दार्जिलिङ, मिरिक तर्फ घुम्न जाने नेपाली पर्यटकहरुलाई ट्राभल एजेन्सीहरुले महंगो शुल्क लिएको गुनासो आएको बताए । उनले शुल्क व्यवस्थापन गर्न सुझाव दिए । ५० बर्ष भन्दा पुरानो बजारमा भारतीय पर्यटकको कारण चलेकाले उनीहरुलाई सहज प्रवेश गर्न दिनुपर्ने पशुपतिनगर ट्याक्सी व्यवसायी संघका अध्यक्ष मिलन क्षेत्रीले बताए ।
उनले अन्तराष्ट्रिय कानुनमा नजिकको रेलवेलसम्म जान पाउने लेखिएपनि पशुपतिनगर आधिकारिक नाका नभएकाले सहज नभएको बताए । उनले एम्बेसी काटेका सहजै प्रवेश भइरहेको बताए । क्षेत्रीले अहिले पनि नेपालको गाडी छब्बिसे, मानेभञ्ज्याङसम्म जान समस्या नरहेको बताए ।
व्यवसायी हिमाल मास्केले भारतीय पर्यटकहरुलाई दिनभर पशुपतिनगर घुम्ने व्यवस्था नहुँदा व्यपार फस्टाउन नसकेको बताए । उनले १ घण्टा मात्र घुम्न पाउने व्यवस्थालाई परिमार्जन गर्न सुझाव दिए । प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले सुकियामा रहेको भारतीय भन्सार र अध्यागमन पशुपतिनगर नाका आए नेपाल तर्फ समेत सहज हुने बताए ।

उनले भारतीय पर्यटकहरुलाई नेपाल प्रवेशमा सहज बनाउने माग तर्फ सकारात्मक भएको बताए । ढुङ्गानाले नेपाली गाडीलाई समेत भारत तर्फ लग्न पहल भइरहेको बताए । ‘एसएबीको डिजि साव आउनुभएको थियो तपाईहरुले चाहनुभयो भने घुमसम्म नेपाली गाडी जान सक्ने व्यवस्था मिलाउन सकिन्छ भन्नुभयो ।’ उनले भने । ढुङ्गानाले ऐन अनुसारको सेवा सुविधा लिएर भारतीय पर्यटकहरुलाई आर्कषित गर्न सुझाव दिए ।
छलफलमा सूर्योदय नगर प्रमुख रणबहादुर राई, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गाना, भन्सार प्रमुख प्रेम लामा, प्रहरी उपरिक्षक दिलिप घिमिरे, शसस्त्र प्रहरी उपरिक्षक सुरेश सापकोटा, इलाका प्रहरी कार्यालय पशुपतिनगर प्रमुख बलराम गिरी, शसस्त्र प्रहरी सिमा सुरक्षा पोष्ट पशुपतिनगर प्रमुख इन्स्पेक्टर दिनेश आचार्य, उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोद राई, यातायात व्यवसायी मिलन क्षेत्री, विभिन्न राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो ।