४० घण्टा देखि मतगणना रोकिएको इलाम–१ मा घटनाले नयाँ मोड लिएको छ । मतपेटिकाको सिलमा छेडखानी गरिएको र सिल समेत रुजु नगराई गणना गरिएको भन्दै विवादपछि मंगलबारबाट मतगणना स्थगित भएको थियो । तर आज आएर गणना भइसकेको ४३७ वटा मतपत्र हराए भन्दै नयाँ विवाद सुरु भएपछि गणना अनिश्चित बनेको छ ।
निर्वाचन आयोगले यस बारेमा २ बजेसम्म आफ्नो धारणा दिने बताएपनि हालसम्म केही निर्णय आउन सकेको छैन् । मतगणनाको क्रममा हराएका ती मतबारे टुंगो नलागेसम्म मतगणना नहुने भएको छ । आजै २ बजे सर्वदलीय बैठक बसेर थप निर्णय लिने पनि बताइएको थियो । तर सर्वदलीय बैठकका लागि सत्ता गठबन्धनका नेताहरुलाई एमाले कार्यकर्ताहरुले प्रवेश गर्नबाट रोक लगाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयबाट आधिकारिक धारणा सार्वजनिक भएको छैन् । मंगलबारबाट पटक पटक सर्वदलीय बैठक बसेपनि निष्कर्षमा पुग्न सकेको छैन् । इलाम–१ मा २३ हजार ८ सय ६५ मतगणना सकिएको छ । सार्वजनिक भएको नतिजा अनुसार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ५ सय ७ मतान्तरले पछि देखिएका छन् ।
नेकपा (एमाले)का उम्मेदवार महेश बस्नेतले १० हजार २ सय ८७ मत ल्याउँदा खनालको ८ हजार ७ सय ८० मत आएको छ । क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ । मतगणना सूर्याेदय नगरपालिकको सभाहलमा भइरहेको थियो ।