Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

विखण्डनबाट अवतरण गरेका राउतको संसद्‌यात्राका चार कारण

विखण्डनबाट अवतरण गरेका राउतको संसद्‌यात्राका चार कारण

  • लोकल सन्देश
  • बुधबार, मंसिर ७ २०७९


विखण्डनबाट अवतरण गरेका राउतको संसद्‌यात्राका चार कारण

जनमत पार्टीका अध्यक्ष सीके राउतको राजनीतिक यात्रा भने धेरै लामो छैन । उनी नेपालको राजनीतिमा विखण्डनकारी अभियानबाट उदाएका हुन् । अमेरिकामा लामो समय बसेर काठमाडौं फर्केर विखण्डनकारी आन्दोलनमा लागेका राउतले मधेसमा घृणाको राजनीति पनि गरिरहेका थिए । तर, सरकारले पटकपटक उनलाई पक्राउ गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले राउतलाई पक्राउ गरी जेलमा राखेका थिए ।

जेलबाट निस्कनुअघि २४ फागुन २०७५ मा राउतले विखण्डनकारी एजेण्डाबाट अवतरण गरेका थिए । त्यस दिन सरकारसँग राउतले तीनबुँदे सहमति गरेका थिए । संविधानको दायराभित्रैबाट राजनीति गर्न सहमत भएका राउतको संसद्‌सम्मको यात्रा खासमा रोचक बन्यो । संविधान र अलग देश बनाउन हिँडेका राउत त्यही संविधानबाट संसद्‌मा छिरेका छन् ।

जतिबेला जनता समाजावदी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव सत्ता गठबन्धनमा रहेर सरकारमा थिए, त्यतिबेला जनमत पार्टीका अध्यक्ष सीके राउत एमाले अध्यक्ष केपी ओलीसँग निकट थिए । त्यसैले, स्थानीय तहको चुनावमा राउतले एमालेसँग गठबन्धन गर्ने तयारी गरेको थियो । तर, मधेसमा एमाले र केपी ओलीसँग तुलनात्मक रूपमा नकारात्मक धारणा रहेका कारण राउत एमालेसँग सहकार्य गर्न डराए ।

जनमत पार्टी एक्लै चुनावी प्रतिस्पर्धामा उत्रियो र दुईवटा पालिका प्रमुखमा जित निकाल्यो । स्थानीय चुनावअघि मात्रै राउतले किसान आन्दोलन चलाएका थिए । मधेसमा मल नपाएको तथा किसानमाथि शोषणा भएको भन्दै उठाएको आन्दोलनले निष्कर्ष त दिएन तर राउतलाई स्थापित गराउन भने बल दियो । खासगरी, उखु किसानलाई सुगर मिलले भुक्तानी नगरेको प्रकरणलाई राउतले नगदीकरण गर्न खोजेका थिए ।

त्यसको खास तारो जसपामाथि थियो । मुख्यमन्त्री जसपाकै नेता लालबाबु राउत र केन्द्रमा जसपा सरकारमा रहेकै कारण राउतले जसपालाई तारो बनाएका थिए । तर, परिस्थिति ४ मंसिरसम्म आइपुग्दा फेरिएको थियो । यादव ओलीसँग तालमेल गर्न पुगे अनि राउत अर्को धारमै रहे । त्यसैले, राउतको जितमा चारवटा कारणले काम गरेको देखिन्छ ।

एक, यादव समुदायविरुद्धको मत । अर्थात्, मधेसमा जातीय तथा समुदायको मत बढ्ता हुन्छ । त्यसमाथि मधेसमा यादव र यादवइतर समूहबीच लामो मनोवैज्ञानिक दूरी छ । त्यसको फाइदा अहिले सीके राउतले उठाएको देखिन्छ ।
दुई, घृणाको राजनीति । सीके राउतले मधेसमा पछिल्ला दिनमा बढ्ता घृणाको राजनीति गरिरहेका छन् । त्यसले समुदाय र व्यक्तिमा इमोसनल हुन प्रेरित गरेको छ ।

मधेस मामिलाका विश्लेषक रोशन जनकपुरीको विश्लेषणमा राउतको उदयमा इमोसन र घृणाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । शिलापत्रसँग जनकपुरी भन्छन्, ‘संसदीय राजनीतिमा इमोसन बाँकी छ, इमोसनलाई सीके राउतले बोकेका हुन् । मधेसमा रहेको घृणाको राजनीतिलाई क्यास गरे ।’ राउतको जितको तेस्रो कारणचाहिँ मधेसकेन्द्रित दलको वितृष्णा हो ।

२०६३ को मधेस आन्दोलनपछि उदाएका मधेसकेन्द्रित दलप्रति मधेसमा वितृष्णा छ । मधेसका नागरिक उनीहरूको विकल्प खोजिरहेका थिए । त्यही विकल्पको रूपमा राउतले स्पेस लिएको विश्लेषण भइरहेको छ । शिलापत्रसँगको कुराकानीमा जनकपुरी मधेसकेन्द्रित दलको तात्कालिक वितृष्णाको विकल्पमा राउतलाई हेरेको बताउँछन् । उनी भन्छन्, ‘भ्रष्टाचारका कारण जनतामा मधेसकेन्द्रित दलप्रति वितृष्णा थियो, त्यसलाई क्यास गरेर राउतले जित निकालेका हुन् ।’

चौथो कारणचाहिँ यादवको ओभर कन्फिडेन्सलाई पनि मानिएको छ । उपेन्द्र यादवमा आफू नै ठीक भएको र आफ्नो जितप्रति बढ्ता नै विश्वस्त थिए । तर, भूगोलमा यादवको अवस्था बिग्रिएको थियो । उनीप्रति फैलिएको नकारात्मक भावनालाई नगदीकरण गरिरहेका थिए सीके । जुन यादवले भुईं तहका नागरिकसम्म पुगेका थिएनन् । उनीहरूको एजेण्डालाई यादवले साथ दिएका थिएनन् ।

त्यसको गतिलो उदाहरण उखु किसानको आन्दोलन हो । उखु किसानको पक्षमा राउतले जसरी साथ दिए, यादव बेखबरजस्तै बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार