झलनाथ खनाल
२०४८ पछिका ६ मध्ये पाँचवटा चुनाव जितेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल ४ मंसिरको निर्वाचनमा इलाम–१ बाट छैटौं जितको खोजीमा छन् । खनालले २०४८ सालको आम निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, २०६४ सालको पहिलो संविधानसभा निर्वाचन, २०७० को दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गरेका छन् । २०५६ सालको चुनाव हारेका खनाललाई यसपटक पनि आफ्नो विजययात्रा कायम राख्न चुनौती छ । किनकि उनीविरुद्ध उनकै पूर्व पार्टीका नेता महेश बस्नेत प्रतिस्पर्धी छन् ।
६ चैत २००६ मा इलाममा जन्मिएका झलनाथ खनाल २०२३ सालदेखि निरन्तर राजनीतिमा सक्रिय छन् । २०२३ सालमा (मेची) विद्यार्थी युनियनको अध्यक्षहुँदै राजनीतिमा लागेका खनालले २०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता पाए ।
३३ वर्षमै नेकपा (माले) को महासचिव बन्नेका खनाल २०४७ मा तत्कालीन नेकपा माले र नेकपा माक्र्सवादी एकीकरण भएर बनेको नेकपा एमालेको स्थायी समिति सदस्य बने ।
२०४६ को जनआन्दोलनपछिको अन्तरिम सरकारमा वन तथा वातावरणमन्त्री र २०५३ मा सूचना तथा सञ्चार मन्त्री बनेका खनाल २० माघ २०६७ मा प्रधानमन्त्री बनेका थिए । राजनीतिअघि शिक्षण पेशामा रहेका खनालले राजनीतिक आन्दोलनका क्रममा १२ वर्ष भूमिगत जीवन बिताए भने सात वर्ष जेल बसे । राजनीतिशास्त्र र इतिहास विषयमा स्नातकसम्म अध्ययन गरेका उनका वामपन्थी राजनीतिसँग जोडिएका एक दर्जन पुस्तक प्रकाशित छन् ।
एमालेको पाँचौं, छैटौं र सातौं महाधिवेशनसम्म लगातार पोलिटब्यूरो सदस्य र स्थायी समितिको जिम्मेवारीमा रहेका उनी २०६५ मा नेकपा एमालेको कार्यवाहक महासचिव भएका थिए । त्यसपछि २०६६ मा बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट एमालेको अध्यक्षमा निर्वाचित भए । २०७७ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा एमाले विभाजन भएपछि खनाल समेतको सक्रियतामा नेकपा एकीकृत समाजवादी गठन भयो ।
हाल उनी उक्त पार्टीको सम्मानित नेता छन् । २०७४ सालको चुनावमा नेपाली कांग्रेसका भूपेन्द्र कट्टेललाई १७ हजारभन्दा बढी मतान्तरले पराजित गरेका खनाललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलको साथ छ । तर एमालेको बलियो संगठनको जगमा चुनाव जितेका खनाललाई यसपटक एमालेकै उम्मेदवार महेश बस्नेतको कडा चुनौती छ । खनालले यो आफ्नो अन्तिम प्रतिस्पर्धा भएको बताइसकेका छन् ।
३० वैशाखको स्थानीय तह निर्वाचनपछि जिल्ला समन्वय समितिको निर्वाचनमा नेकपा एकीकृत समाजवादीले नेकपा एमालेसँग तालमेल गरेको थियो । सोही कारण जिल्ला समन्वय समिति प्रमुख एमाले र उपप्रमुख एकीकृत समाजवादीले जित्यो । एकीकृत समाजवादीले धोका दिएको भन्दै कांग्रेसभित्र असन्तुष्टि छ ।
चुनावी अंकगणित
गत स्थानीय निर्वाचनमा इलाम–१ मा वडाअध्यक्षहरूले दलगत रूपमा प्राप्त मत हेर्दा एमालेले २६ हजार २३३ मत पाउँदा कांग्रेसले २५ हजार ७०० मत पाएको थियो । एकीकृत समाजवादीका वडाअध्यक्षका उम्मेदवारले ९ हजार ४८१, जनता समाजवादी पार्टीले १ हजार ८२९, नेकपा माओवादी केन्द्रले १ हजार २३५ र राप्रपाले १ हजार १६९ मत पाएको छ ।
महेश बस्नेत
२०५४ र २०७४ मा इलाम नगरपालिकाको मेयर बनेका महेश बस्नेत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा इलाम–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनको प्रतिस्पर्धीका रूपमा छन्, आफ्नै पार्टीका पूर्वअध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल । २०७८ पुसदेखि एमालेका जिल्ला अध्यक्ष रहेका बस्नेत संसदीय चुनावको पहिलो प्रतिस्पर्धामा नै जित हासिल गर्न र इलाम–१ मा झलनाथ खनालको विरासत भत्काउन चाहन्छन् ।
यद्यपि खनाललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रको साथ छ । बस्नेतलाई भने आफ्नो पार्टीको मत जोगाउँदै अन्य दलको मत पनि आकर्षित गर्नुपर्ने चुनौती छ । १७ भदौ २०१७ मा इलामको शान्तिपुर (हाल रोङ गाउँपालिका) मा जन्मिएका बस्नेत २०३० को दशकबाट राजनीतिमा सक्रिय भए । २०३६ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्य निर्वाचित भएका उनले इलाममा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको नगर सदस्यबाट राजनीति अघि बढाए ।
राजनीतिमा उनको सक्रियता देखेपछि उनलाई एमालेले २०४७ देखि २०५२ सम्म पार्टीको नगर कमिटी सदस्य बनायो । उनी २०५२ देखि २०५४ सालसम्म नगर कमिटीको सचिव बने । इतिहासमा स्नातकोत्तर बस्नेत २०५४ साल अघिसम्म इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा प्राध्यापन गर्थे । राजनीति र अध्यापनका कारण उनी शान्तिपुर छाडेर इलाम बसाइँ सरे । प्राध्यापन छाडेपछि २०५४ मा सम्पन्न स्थानीय निकायको निर्वाचनमा उनी एमालेबाट इलाम नगरपालिकाको मेयरमा निर्वाचित भए ।
गत निर्वाचनमा खनाल यही निर्वाचन क्षेत्रमा वाम गठबन्धनको बलमा २६ हजार ८०५ मतसहित विजयी हुँदा नेपाली कांग्रेसका भूपेन्द्र कट्टेल १८ हजार ६३८ मत ल्याएर पराजित भएका थिए । यही क्षेत्रबाट २०४८, २०५१, २०६४, २०७० र २०७४ मा निर्वाचित भएका खनालको किल्ला भत्काउनु बस्नेतका लागि चुनौती हो । तर बस्नेत भोट अस्थिर भएकाले गठबन्धनकै भोटबाट चुनाव जित्ने बताउँछन् । बस्नेतकै शव्द भन्ने हो भने ‘भोट भनेको बाकसमा राखेको नोट हैन् जतिबेला आवश्यक पर्यो निकाल्यो चलायो । असन्तुष्ट कार्यकर्ताको भोटबाट नै चुनाव जित्छु ।’
चुनावी अंकगणित
गत स्थानीय निर्वाचनमा इलाम–१ मा वडाअध्यक्षहरूले दलगत रूपमा प्राप्त गरेको मत हेर्दा एमालेले २६ हजार २३३ मत पाएको छ । कांग्रेसले २५ हजार ७७२, एकीकृत समाजवादीले ९ हजार ४८१, जनता समाजवादी पार्टीले १ हजार ८२९, नेकपा माओवादी केन्द्रले १ हजार २३५, राप्रपाले १ हजार १६९ मत प्राप्त गरेको छ । एकीकृत समाजवादीको कमजोर संगठन बस्नेतको अनुकूलता हो । एमालेको बलियो संगठन र सत्तारुढ गठबन्धनको मत तानेर जित निकाल्ने रणनीतिमा बस्नेत देखिन्छन् ।