डम्बरबहादुर खड्का
नेपाली कांग्रेस इलामका सभापति डम्बरबहादुर खड्काको दुई वटा परिचय छ । राजनीतिसँगै समाजसेवाको क्षेत्रमा पनि परिचित छन् उनी । उनले सहयोग गरेका विपन्नहरूको संख्या ठूलै छ इलाममा । खड्काले खास गरेर बिरामी परेका असहायहरूको उपचारमा सहयोग पु¥याउँदै आएका छन् । कोरोना महामारी कालमा गरिब र निमुखाहरूलाई मन खोलेर सहयोग गरेको उनी बताउँछन् ।
नेविसंघबाट राजनीतिक यात्रा थालेका खड्का २०५१ सालमा नेविसंघको इलाम जिल्ला सभापति निर्वाचित भए । २०५८ मा नेविसंघको केन्द्रीय सदस्य र २०६४ सालमा नेविसंघ केन्द्रीय उपाध्यक्ष बनेका उनी कांग्रेसको १२औं महाधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भए । त्यसपछि महाधिवेशन प्रतिनिधि र जिल्ला सभापति निर्वाचित भएका उनी २०६२÷६३ को जनआन्दोलनमा नेतृत्वदायी भूमिकामा रहने नै भए ।
त्यसक्रममा उनी प्रहरी दमनमा पनि परे । इलामको राजनीति र समाजसेवासँगै व्यवसायमा सक्रिय ४८ वर्षीय खड्काको राजनीतिक जीवन यो साल सबभन्दा रोमाञ्चक बनेको छ । दुई वटा संविधानसभामा अध्यक्ष रहिसकेका नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विरुद्ध पार्टीले इलाम–२ मा उतारेपछि उनी जीवनमा पहिलो पटक सांसद बन्ने रोमाञ्चक माथापच्चीमा छन् ।
खड्काको यो पहिलो संसदीय प्रतिस्पर्धा हो भने नेम्वाङको लगातार पाँचौं पटक जित्ने प्रयास । चौथो जितमा नेकपा (माओवादी केन्द्र)को पनि साथ पाएका नेम्वाङ यसपालि एक्लो एमालेको भरमा छन् भने खड्कालाई सत्ता गठबन्धनको साथ छ । गठबन्धनको बलबाहेक स्वच्छ व्यवसाय र समाजसेवाको क्षेत्रमा बनाएको छविका कारण पनि यसपटक ‘हेभिवेट’लाई हराउन आफू सफल हुने उनको दाबी छ ।
त्यसो त उनी २०७४ मा पनि इलाम–२ (क) बाट प्रदेश सभामा कांग्रेसको उम्मेदवार थिए । वाम गठबन्धनको तर्फबाट उठेका एमालेका राम रानासँग उनी पराजित भएका थिए ।
चुनावी अंकगणित
गत स्थानीय चुनावमा इलाम–२ मा वडाध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस र एमाले लगभग बराबर अवस्थामा छन् । कांग्रेसले ३२ हजार ९७८, एमालेले ३२ हजार ५२७, माओवादी केन्द्रले २ हजार ७१७, जनता समाजवादी पार्टी (जसपा)ले ५५४, नेकपा (एकीकृत समाजवादी)ले २७७ र राप्रपाले १३० मत पाएका छन् ।
यस हिसाबले एमालेको ३२ हजार ५२७ विरुद्ध गठबन्धन दलको कुल मत ३६ हजार ५२६ हुन आउँछ । यो क्षेत्रको प्रदेश सभा सदस्यको दुई सिटमध्ये कांग्रेस र माओवादीले एक–एक सिट लिएकाले गठबन्धनको सहकार्य बलियो नै हुने देखिन्छ । स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार इलाम–२ मा खड्का बढी अनुकूलतामा रहेको प्रष्टै छ । गठबन्धन दलहरूको मत मात्र सुरक्षित राख्न सके उनका लागि संघीय संसदको ढोका खुल्ने अवस्था छ ।
सुवास चन्द्र नेम्वाङ्ग
नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पाँचौंपटक प्रतिनिधिसभा सदस्य बन्न चुनावी मैदानमा छन् । २०५६ यता लगातार चुनाव जितेर सांसद रहँदैआएका उनी उही इलाम–२ बाट उठेका छन् । अघिल्लो पटक एमाले–माओवादी केन्द्र (वाम गठबन्धन) का साझा उम्मेदवार रहेका नेम्वाङले नेपाली कांग्रेसका प्रत्यासी केशव थापालाई करिब १० हजार मतको अन्तरले पराजित गरेका थिए । यसपटक उनी एक्लो एमालेको बलमा छन् । उनीविरुद्ध सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका डम्बरबहादुर खड्का चुनावी मैदानमा छन् ।
यसपटक इलाम–२ को चुनावी अंकगणित पनि नेम्वाङ अनुकूल छैन । अघिल्ला निर्वाचनहरूमा ढुक्क देखिने उनले यसपालिको प्रतिकूलता बुझेर जिल्लामा चुनावी दौडधुप बढाएका छन् । लगातार चुनाव जित्दै आएका नेम्वाङ यसअघि अरूका लागि पनि मत माग्न हिंड्थे । चुनाव जितेपछि गाउँ बिर्सने गरेको आरोपहरूको बनिबनाउ जवाफ हुन्थ्यो उनीसँग ।
यसपटक भने पहिलेभन्दा कठोर अवस्थामा खटिरहेका छन्, नेम्वाङ । उनले संविधानसभा अध्यक्ष भएर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान ल्याउन खास भूमिका खेलेको दोहो¥याइरहँदा गाउँलेहरू जनता बिर्सने व्यवहार र विकासको कुरा उठाइरहेका छन्
इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका ६९ वर्षीय नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोहीको मुद्दामा केही समय जेल परेका थिए, उनी । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको अध्यक्ष भएका उनी २०५६ को निर्वाचन जितेर कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर ऐतिहासिक संविधानसभाको अध्यक्ष भए ।
चुनावी अंकगणित
यसपटक इलाम–२ मा नेम्वाङ विरुद्ध युवा कांग्रेस डम्बरबहादुर खड्का सत्ता गठबन्धनको शक्ति परिचालन गरिरहेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वा पनि यो क्षेत्रबाट प्रतिस्पर्धामा छन् । २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को समेत साथ पाएका नेम्वाङले ३६ हजार ५१७ र कांगे्रसबाट उनका प्रतिस्पर्धी केशव थापाले २६ हजार ८६५ भोट पाएका थिए ।
यसपटक भने अवस्था फरक छ । एमालेले २५ वर्षपछि पहिलो पटक गत स्थानीय निर्वाचनमा इलाम नगरपालिका गुमायो । उक्त चुनावमा इलाम–२ मा वडाअध्यक्षहरूले पाएको दलगत मतमा पनि एमालेभन्दा नेपाली कांग्रेस अगाडि छ ।
कांग्रेसले ३२ हजार ९७८, एमालेले ३२ हजार ५२७, माओवादी केन्द्रले २ हजार ७१७, जनता समाजवादी पार्टी (जसपा)ले ५५४, नेकपा (एकीकृत समाजवादी)ले २७७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १३० मत पाएका छन् ।
यसरी गठबन्धनको कुल मत ३६ हजार ५२६ छ । इलाम–२ को दुईवटा प्रदेश सभा सदस्यमध्ये एउटा माओवादी केन्द्रले पाएको र अरू विषयमा मतभेद नभएकोले गठबन्धनबीच राम्रै सहकार्य हुने देखिन्छ । यसपटकको यस्तो चुनावी परिदृश्यले इलाममा चानचुने प्रयासले नेम्वाङको पाँचौं जित सम्भव नहुने देखाउँछ । जितका लागि उनले गठबन्धन दलहरूको भोट तान्नुपर्नेछ, त्यो पनि उल्लेख्य संख्यामा ।