इलाम : आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा इलाममा पनि चुनावी माहोल तिव्र बनेको छ । यसअघि सिमित घरदैलो अभियानमा केन्द्रित रहेका यहाँका राजनीतिक दल र उम्मेद्वारहरु बिहीबारदेखि चुनाव प्रचारप्रसार खुला भएसंगै आक्रामक चुनावी प्रचारमा जुटेका छन् ।
समकालिन मुलुकको राजनीतिका दुई शीर्ष नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाल र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा भएको कारण पनि इलामको निर्वाचन मुलुककै चासोको विषय बनेको छ । दुई वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको इलाममा राजनीतिक दल र स्वतन्त्र गरी २५ जना चुनावी प्रतिष्पर्धामा छन् ।
दुवै क्षेत्रमा देशका दुई ठूला नेताहरू पूर्वप्रधानमन्त्री खनाल र संविधानसभाका अध्यक्ष नेम्वाङसँग पार्टीका जिल्ला अध्यक्षहरू प्रतिष्पर्धामा छन् । विगत निर्वाचनहरुमा एउटै पार्टीबाट निर्वाचित हुँदै आउनुभएका खनाल र नेम्वाङ नेकपा एमाले विभाजनसंगै यसपटक फरक(फरक दलबाट चुनावी प्रतिष्पर्धामा रहेका छन् । प्रतिनिधिसभा सदस्यको लागि इलाम क्षेत्र नम्बर १ बाट उम्मेद्वार बनेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको सातौ उम्मेद्वारी हो ।
२०५६ सालमा नेपाली कांग्रसेका उम्मेदवार बेनुपराज प्रसाईंसंग पराजित बन्नुबाहेक खनाल निरन्तर यहि क्षेत्रबाट निर्वाचन जित्दै आएका छन् । आसन्न चुनाव आफ्नो लागि अन्तिम भएको बताउँदै आएका खनाललाई यसपटक आफ्नै पूर्व पार्टी एमालेका उम्मेद्वार महेश बस्नेत चुनौती बनेर आएका छन् ।
नेकपा एमालेमा आएको फुटपछि पहिलो चुनावको सामना गरेका खनाललाई पाँच दलीय सत्तागठबन्धनको साथ रहेपनि आफ्नो पुरानो पार्टीको संगठन र जिल्ला तहमा लोकप्रिय रहेका बस्नेतका कारण विगतमा जस्तो सहज भने छैन् । तर,नेता खनाल भने चुनाब जित्नेमा ढुक्क देखिन्छन् ।
खनालसंग प्रतिष्पर्धामा उत्रिएका एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत २०७० को संविधानसभा निर्वाचनमा खनालका प्रतिस्पर्धी हिमालय कमचार्यलाई २०५४ र २०७४ मा हराउँदै इलाम नगर प्रमुखको रुपमा निर्वाचित भइसकेका छन् । २०३५ सालमा विद्यार्थी राजनीतिबाट उदाएका बस्नेतले लामो समयदेखि पार्टीमा राम्रो पकड बनाएपनि हेभिवेट नेतासंग प्रतिष्पर्धा फलामको च्युरा चपाउनुसरह हुने देखिन्छ । तर,बस्नेत भने यो कुरामा सहमत देखिदैनन् ।
उनी बाकसमा राखिएको नोट जस्तो भोट नहुने बताउँछन् । ‘भोट भनेको बाकसमा राखेको नोट जस्तो हैन् जति बेला आवश्यक पर्यो निकाल्यो चलायो ।’ उनी प्रतिस्पर्धी खनाल ठुलो पार्टी छाडेर च्याखे दाउ थाप्ने पार्टीबाट स्थापित हुने प्रयत्नमा लागेको समेत बताएका छन् । झलनाथ खनाल ठुलो पार्टी छाडेर च्याखे दाउँ थाप्ने पार्टीमा जानुभएको अहिले उहाँको हैसियत के भएको छ पुच्छ्रे नेताको रुपमा परिणत हुनभएको छ ।’ बस्नेतले भने ‘गठबन्धनबाट असन्तुष्ट बनेका कार्यकर्ताहरुसंग छलफल तिब्र बनाएको छु । एमाले जहिले पनि लोकतन्त्रको पक्षमा छ संविधानको कार्यान्वयनको पक्षमा छ । केहीले मलाई टुरिष्ट भन्दा रहेछन् अभिलेख पढेर जानकारी लिनुहोला झलनाथ जी टुरिष्ट हो की म टुरिष्ट हो । म त यहि क्षेत्रमा जन्मि हुर्कि गरेको मान्छे ।’
निर्वाचन क्षेत्र नम्बर १ मा सूर्योदय र माई नगरपालिका तथा माइजोगमाई,सन्दकपुर र रोङ गाउँपालिका गरी ५ स्थानीय तह रहेका छन् । इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसको तर्फबाट जिल्ला सभापति डम्बर खड्काबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । खड्कालाई गठबन्धनको साथ रहँदा नेम्वाङलाई पार्टी संगठन र व्यक्तित्वको साथ छ ।
खड्का प्रतिष्पर्धी भएसंगै यहि क्षेत्रबाट ०५६ सालदेखि अपराजित नेम्वाङलाई भने चुनाव जित्न सकस पर्ने देखिन्छ । पटक-पटक मुलुकको राजकीय उच्च पदमा पुगेपनि विकास निर्माणको काम नगरेको नेम्वाङप्रति यस क्षेत्रका मतदाताको असन्तुष्टिलाई क्यास गर्ने खड्काको दाउ छ । तर,सुवास नेम्वाङ भने आफ्नो जितप्रति शंका नरहेको जिकिर गर्दै आएका छन् ।
एमालेको पकड मानिएको यो क्षेत्रमा चुनाव जित्ने रणनीतिका लागि कांग्रेस सहित गठबन्धन दल लागिपरेका छन् । यो पटक एमाले फुटेका कारण पनि आफूले जित्ने कांग्रेसको दाबी छ । इलाम क्षेत्र नम्बर २ मा इलाम र देउमाई गरी दुई नगरपालिका र चलाचुली, माङसेबुङ, फाकफोकथुम गाउँपालिका गरी ५ स्थानीय तह छन् ।
प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) मा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी नेतृ खिनु लङवा लिम्बू र एमालेकी सोभा पराजुली चुनावी प्रतिष्पर्धामा छन् । क्षेत्र नम्बर १ (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका समशेर राई र एमालेका दीपककुमार थेवेबीच प्रतिष्पर्धा हुने भएको छ । त्यस्तै,क्षेत्र नम्बर २ (क) मा गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द गिरी र एमालेका गणेशप्रसाद बराल चुनावी मैदानमा छन् ।
क्षेत्र नम्बर २ (ख) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हर्क लावती (कान्छा) र एमालेका रामबहादुर मगर रानाबीच प्रतिष्पर्धा हुने भएको छ । दलगत उम्मेद्वार बाहेक चुनावी मैदानमा रहेका स्वतन्त्र उम्मेद्वारपनि आ-आफ्नो एजेण्डासहित मतदातामाझ गइरहेका छन् । मतदातासंग सबैजसो उम्मेद्वारले इलामको विकासलाई मुख्य एजेन्डाका बनाएका छन् ।