Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पुर्व प्रधानमन्त्री झलनाथ खनालका प्रतिस्पर्धी महेश बस्नेतको राजनीतिक यात्रा

पुर्व प्रधानमन्त्री झलनाथ खनालका प्रतिस्पर्धी महेश बस्नेतको राजनीतिक यात्रा

  • लोकल सन्देश
  • बिहिबार, कार्तिक १० २०७९


पुर्व प्रधानमन्त्री झलनाथ खनालका प्रतिस्पर्धी महेश बस्नेतको राजनीतिक यात्रा

इलाम । पुर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र भएकाले इलाम–१ लाई अर्थपुर्ण रुपमा हेरिएको छ । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता खनालसंगको प्रतिस्पर्धा नेकपा एमालेका महेश बस्नेतसंग हुनेछ । २०७७ पौष ५ अघि नेकपा र २०७५ जेठ अघि नेकपा एमालेको केन्द्रमा खनालले प्रतिनिधित्व गर्दा जिल्ला तहको प्रतिनिधित्व बस्नेतले गरेका थिए ।

एउटै पार्टीबाट राजनीतिमा स्थापित भएका २ नेतृत्व अहिले प्रतिस्पर्धीको रुपमा होमिएका छन् । खनाल विरुद्धको प्रतिस्पर्धा बस्नेतका लागि सहज हुनेछैन् । गठबन्धन भएको कारण कांग्रेसको मतबाट जित्नेमा विश्वस्त छन् खनाल ।

यता इलाम नगरपालिकाको बागडोर २ पटक नगर प्रमुखको रुपमा सम्हालेका बस्नेत आफु इलाम क्षेत्र नं १ को बासिन्दा भएको कारण मत जित्नेमा विश्वस्त रहेको सुनाए ।
को हुन् महेश बस्नेत
भुपु हवल्दार पदम बहादुर बस्नेतको माहिला छोराको रुपमा २०१७ भदौ १७ गते इलामको शान्तिपुर (हाल रोङ गाउँपालिका) मा बस्नेतको जन्म भएको हो । २०३० को मध्यबाट राजनीति सुरु गरेका बस्नेत २०३६ सालमा महेन्द्र रत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सदस्यको रुपमा निर्वाचित भए ।

विद्यार्थी राजनीतिमा आफुलाई स्थापित गरेपछि खनाल बहुदलको पक्षमा जनमत संग्रह गर्नुपर्ने पक्षको वकालत गर्न थाले । पहिलो जनआन्दोलन सफल भएपछि २०४७ सालमा नेकपा एमालेको सदस्यता लिएपछि बस्नेतले आफुलाई राजनीतिक रुपमा स्थापित गराउन लागेका छन् ।

युवाहरुलाई एकत्रित गर्न एमालेको जनवर्गिय संगठन प्रजातान्त्रिक युवा संघको इलाम नगर सदस्य समेत भए । बस्नेतको सक्रियतालाई देखेर पार्टीले २०४७ साल देखि २०५२ सालसम्म पार्टीको नगर कमिटी सदस्यको जिम्मेवारी दिएको थियो ।

२०५२ देखि ५४ सालसम्म नगर कमिटीको सचिवको जिम्मेवारीमा थिए । इतिहासमा स्नात्तकोतर गरेका बस्नेतले इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा २०५४ सालसम्म प्राध्यापकको रुपमा कार्य गरे । त्यसअघि उनी आंशिक प्राध्यापकको रुपमा कार्यरत थिए ।

बस्नेत विद्यार्थी राजनीति र प्राध्यापन पेशाका कारण पुरानो थाक थलो शान्तिपुर छाडेर इलाम बस्न थालेका हुन् । उनको स्वस्र्फुत राजनीतिक लगाव र लोकप्रियतालाई देखेर नेकपा एमालेले २०५४ सालको स्थानीय निकायको निर्वाचनमा इलाम नगरपालिकाको मेयरको रुपमा सिफारिस गरेको थियो ।

मेयरमा सिफारिसपछि प्राध्यापक पेशालाई छाडेर पुर्ण राजनीतिक कार्यकर्ता बने । २०४३ देखि २०४६ सम्म इलामको मेयर निर्वाचित भएका नेपाली कांग्रेसका हिमालय कमचार्य विरुद्ध निर्वाचनमा होमिनु बस्नेतका लागि कठिन थियो । तर अप्रत्यासित रुपमा कमचार्यलाई ७३ मतान्तरले हराउँदै बस्नेतको स्थानीय सरकार प्रवेशको ढोका खुल्यो ।

स्थानीय निकायको पदावधि सकिएपछि पार्टीले २०५९ साल देखि २०७२ सालसम्म जिल्ला कमिटी सदस्यको रुपमा जिम्मेवारीमा थिए । नेकपा एमालेको ९ औ महाधिवेशनबाट उनी जिल्ला सचिव चुनिए ।

सचिवको जिम्मेवारीमा रहेको बेला उनलाई पार्टीले पुनः मेयरको रुपमा अघि सारेको थियो । २० बर्ष अघिका उहि पद र उहि कुर्सीका लागि उहि कर्मचार्यलाई एक हजार ७६५ मतान्तरले पराजित गदैै दोश्रो पटक मेयर निर्वाचित भए ।

२०७५ जेठ २ गते तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रविचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कार्यालय सदस्यको जिम्मेवारीमा रहे । तर सर्वोच्च अदालतको आदेशमा पार्टी विभाजन भएपछि बनेको नेकपा एमालेको केन्द्रिय सदस्यसंगै जिल्ला अध्यक्षको समेत जिम्मेवारी पाए ।

२०७८ पौषमा भएको पार्टीको १० औ महाधिवेशनबाट उनी जिल्ला अध्यक्ष चुनिए । प्रतिद्धन्द्धी डा देवी क्षेत्री दुलाललाई ६३० मतान्तरले हराउँदै बस्नेत जिल्ला अध्यक्ष बनेका थिए । क्षेत्रीले ६४ मत ल्याउँदा बस्नेतले ६ सय ९४ मत ल्याएका थिए । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेले खनाल विरुद्ध बस्नेतलाई उभ्याएको छ ।
के छ एजेन्डा
इलामको सर्वाङ्गीण विकासको लागि आफ्नो उम्मेदवारी रहेको बस्नेतले बताए । उनले पुख्यौली थलो शान्तिपुर इलाम क्षेत्र नं १ भित्र पर्ने भएकाले त्यस क्षेत्रको विकास आफ्नो मुल मुद्धा रहेको उनले सुनाए ।

‘ इलाम बजारको मान्छे भनेर जुन आरोप लगाइएको छ । त्यो सत्य हैन् पढाई र जागिरको सिलसिलामा इलाम बजारमा बसेको हुँ अझै पनि पुख्यौली सम्पती शान्तिपुरमै छ । आफन्तहरु त्यतै हुनुहुन्छ ।’ बस्नेत भन्छन्

इलाम–१ को ग्रामिण क्षेत्रमा बाटोघाटो, बिजुली, पानी, शिक्षा र स्वास्थ्यको सुनिश्चितका लागि र सहर क्षेत्रमा सुव्यवस्थित सहरीकरण, उद्योग कलकारखाना लगातयको विकासलाई जोड दिने उनले सुनाए । संसदमा आफ्नो क्षेत्रको सांसदले राजनीतिक र राज्यसत्तालाँई सुशासन र नैतिकताको मार्गनिर्देशन गर्नका लागि मत दिन बस्नेतले अपिल गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार