इलाम । प्रतिनिधिसभा र प्रदेशसभामा मा ५४ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गर्नेछन् । इलाममा गत असोज २३ गते मनोनयन गरेका कसैले पनि फिर्ता लिएनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभामा २ र प्रदेशसभामा ४ क्षेत्र रहेको इलाममा प्रतिनिधिसभा तर्फ २५ र प्रदेशसभामा २९ जना उम्मेदवार छन् ।
पुर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा इलाम–१ मा प्रतिनिधिसभा तर्फ ३ स्वतन्त्र सहित ११ जना उम्मेदवार छन् । त्यसैगरी पुर्वसभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्र इलाम–२ मा १२ राजनीतिक दल र २ स्वतन्त्र गरी १४ जनाले मनोनयन दर्ता गरेको निर्वाचन कार्यालय इलामले जनाएको छ ।
क्षेत्र नम्बर १ मा खनाललाई सत्ता गठबन्धनको साथ छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को समथर्नमा खनालले वारेस मार्फत मनोनयन दर्ता गरेका थिए । सो क्षेत्रमा खनाललाई चुनौती दिन नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेत, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष कमलकुमार राई, नेपाली कांग्रेस (वि.पी.) का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, राष्ट्रिय जनमुक्तिका पदमबहादुर लिम्बू र मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचेले मनोनयन दर्ता गरेका छन् ।
त्यस्तै नीमातेन्जिङ शेर्पा, नेत्रप्रसाद रेग्मी र विक्रम पाण्डेले स्वतन्त्रको हैसियतमा मनोनयन दर्ता गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा नेम्बाङलाई चुनौती दिन सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीका खड्गबहादुर पालुङ्वा, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोविन्दसिंह लिम्बूले उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेस (वि.पी.) का डाकप्रसाद गौतम, सामाजिक लोकतान्त्रिक पार्टीका तिलकबहादुर मगर, लोकतान्त्रिक समाजवादी पार्टीका निरमणी माङमु लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटा, मंगोल नेशनल अर्गनाइजेशनका मणीकुमार लिम्बू (पापो), नेकपा कम्युनिष्ट पार्टीका याकबहादुर लिम्बू र जनता समाजवादी पार्टी नेपालका यामप्रसाद लिम्बूले मनोनयन दर्ता गरेका छन् । त्यस्तै जुनु माखिम र दिपेश बोहोराले स्वतन्त्रको हैसियतमा मनोनयन दर्ता गरेका छन् ।
प्रदेशसभामा को–को उम्मेदवार
प्रदेशसभा सदस्यका लागि इलाम क्षेत्र नं १ को (१) मा ८ जना इलाम क्षेत्र नं १ को (२) मा ६ जना उम्मेदवार छन् । इलाम क्षेत्र नं २ को (१) मा ७ र इलाम क्षेत्र नं २ को (२) मा ७ राजनीतिक दल र १ स्वतन्त्र गरी ८ जनाले मनोनयन दर्ता गरेका छन् । इलाम क्षेत्र नं १ को (१) मा सत्ता गठबन्धनका तर्फबाट प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवं एकीकृत समाजवादीकी नेतृ खिनु लङ्वा (लिम्बू) उम्मेदवार छिन् ।
लङ्वालाई चुनौती दिन एमालेकी शोभा पराजुली, मंगोल नेशनल अर्गनाइजेशनका अनुपंदेव माक्रेहाङ, मौलिक जरोकिलो पार्टीका आशिष महत, राष्ट्रिय प्रजातन्त्र पार्टीका कृष्ण कट्टेल, राष्ट्रिय जनमुक्ति पार्टीका दलप्रसाद लिम्बू, जनता समाजवादी पार्टी नेपालका लिलाबहादुर सुनुवार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुस्मा फागो चुनावी मैदानमा छन् । इलाम क्षेत्र नं १ को (२) मा गठबन्धनका तर्फबाट रोङ गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं कांग्रेसका क्षेत्रीय सभापति समशेर राई उम्मेदवार छन् ।
राईलाई चुनौती दिन एमालेका तर्फबाट माई नगरपालिकाका निवर्तमान नगरप्रमुख दिपककुमार थेवे, राष्ट्रिय जनमुक्ति पार्टीकी इन्द्रकुमारी लुङ्गेली, जनता समाजवादी पार्टी नेपालका ओपेन्द्र राई, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार तामाङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रकुमार लामिछाने मनोनयन दर्ता गरेका छन् । इलाम क्षेत्र नं २ को (१) मा गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द गिरी उम्मेदवार छन् ।
उनलाई चुनौती दिन एमालेका तर्फबाट प्रदेश कमिटी सदस्य एवम जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख गणेशप्रसाद बराल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका टंकबहादुर नोगु, राष्ट्रिय जनमुक्ति पार्टीका मित्र जवेगू, राष्ट्रिय प्रजातन्त्र पार्टीका यामनाथ भण्डारी, जनता समाजवादी पार्टी नेपालका रामकुमार लिम्बू र मंगोल नेशनल अर्गनाइजेशनका लक्षुमान राई माक्रेहाङने मनोनयन दर्ता गरेका छन् ।
इलाम क्षेत्र नं २ को (२) मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हर्कबहादुर लावती (कान्छा) उम्मेदवार छन् । उनलाई चुनौती दिन एमालेका तर्फबाट प्रदेश १ का निवर्तमान भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगर राना, मंगोल नेशनल अर्गनाइजेशनका उजितकुमार राई, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाङ्फे, जनता समाजवादी पार्टी नेपालका बलबहादुर आङदेम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर डाँगी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विनयकुमार फागु र स्वतन्त्रको हैसियतमा हर्कप्रसाद साम्वा चुनावी मैदानमा छन् ।
इलाममा १ लाख ८ हजार ९ सय २३ महिला, १ लाख १५ हजार ९ सय ५२ महिला पुरुष र २ जना तेस्रो लिङ्गी गरी २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेका छन् । जसमध्ये प्रतिनिधिसभा निर्वचन क्षेत्र नम्बर १ मा १ लाख ९ हजार ५ सय ३५ र क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ३ सय ४२ मतदाता रहेका छ । त्यसैगरी प्रदेशसभा निवाचन क्षेत्र नम्बर १ को (१) मा ५५ हजार २ सय ४७, इलाम क्षेत्र नम्बर १ को (२) मा ५२ हजार २ सय ८८ मतदाता रहेका छन् । त्यस्तै क्षेत्र नम्बर २ को (१) मा ६० हजार ८२ र क्षेत्र नम्बर २ को (२) मा ५५ हजार २ सय ६० मतदाता रहेका छन् ।
स्वतन्त्रलाई के–के निर्वाचन चिन्ह
इलाममा उम्मेदवारहरुलाई चुनाव चिन्ह समेत प्रदान गरिएको छ । राजनीतिक दलबाट उम्मेदवार भएकाहरुले आफ्नो पार्टीको चिन्हबाट चुनावमा लड्दैछन् । स्वतन्त्रहरुलाई समेत चिन्ह दिइएको छ । प्रतिनिधिसभा इलाम क्षेत्र नं १ बाट उम्मेदवार बनेका विक्रम पाण्डेलाई माछा चिन्ह प्रदान गरिएको छ । निमा तेन्जिङ शेर्पालाई क्रस खुकुरी र नेत्र प्रसाद रेग्मीलाई मुढा चिन्ह दिइएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकरी दिए ।
त्यसैगरी प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा स्वतन्त्र जुनु माखिमलाई खर्पन बोकेको मानिस र दिपेश बोहरालाई मुडा चिन्ह प्रदान गरिएको छ । त्यसैगरी इलाम क्षेत्र नं २ को (२) बाट उम्मेदवार बनेका हर्क प्रसाद साम्बालाई जेब्रा चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृत दिपक दाहालले जानकारी दिए ।