Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

चाडपर्वको अर्थतन्त्र : गाउँसम्म पुग्छ, परनिर्भरता बढाउँछ

चाडपर्वको अर्थतन्त्र : गाउँसम्म पुग्छ, परनिर्भरता बढाउँछ

  • लोकल सन्देश
  • बुधबार, असोज १९ २०७९


चाडपर्वको अर्थतन्त्र : गाउँसम्म पुग्छ, परनिर्भरता बढाउँछ

काठमाडौं । गत आर्थिक वर्ष २०७८र७९ मा नेपालको भुक्तानी सन्तुलन ९शोधनान्तर स्थिति० २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा गयो । यस्तै चालु खाता ६ खर्ब २३ अर्ब ३३ करोड घाटामा रह्यो । आव २०७८र७९ मा प्रचलित मूल्यमा नेपालको अनुमानित कुल गार्हस्थ्य उत्पादन जीडीपीको आकार करिब ४८ खर्ब ५२ अर्ब हो । भन्सार विभागको तथ्यांक अनुसार गत आवमा नेपालको कुल वस्तु आयात १९ खर्ब २० अर्ब रुपैयाँ नाघेको छ, जुन गत आवको अनुमानित जीडीपीको करिब ४० प्रतिशत हो । कुल गार्हस्थ्य उत्पादन भनेको मुलुकको समग्र अर्थतन्त्र मापन गर्ने आधार हो ।
राष्ट्र बैंकका अनुसार, गत वर्षको कुल आयातमा अन्तिम उपभोग्य वस्तुको अनुपात ३७।९ प्रतिशत छ । अन्तिम उपभोग्य वस्तु भनेको तयारी सामग्री हुन्, जुन नेपाल ल्याएपछि सोझै उपभोग गर्न मिल्छ । केही प्रशोधनपछि उपभोग गर्न मिल्ने मध्यवर्ती वस्तुको अनुपात ५२।० प्रतिशत छ । यसको पनि ठूलो हिस्सा उपभोग्य वस्तु नै बन्ने गरेको छ । त्यस्तै पूँजीगत वस्तुको अनुपात १०।१ प्रतिशत मात्रै रहेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । नेपालमा आयात हुनेमध्ये तीन चौथाइभन्दा बढी हिस्सा उपभोग्य सामग्रीको छ । विलासीलगायत उपभोग्य वस्तुमा नेपाल पूर्ण रूपमा परनिर्भर बन्न लागेको यो तथ्यांकले देखाउँछ ।
अर्थतन्त्र चलायमान हुने मौका

दशैं पारिवारिक मिलनको चाड हो । अवसरको खोजीमा सहर पसेकाहरू यतिबेला दशैं मान्न धमाधम गाउँ फर्कन लागेका छन् । दुई वर्ष कोभिडको कारणले नियमित भेटघाट नभएका इष्टमित्र पुनर्मिलनका लागि यो अवसर बनेको छ । दशैंमा करिब २२ लाखले काठमाडौं छोड्न सरकारी अनुमान छ ।

चाडपर्वको आयाम पारिवारिक मिलनमा मात्रै सीमित हुँदैन । आर्थिक–सामाजिक दृष्टिकोणबाट हेर्दा दशैंको महत्व झनै ठूलो छ । विविध परिकार खाने र राम्रा–राम्रा कपडा लगाउने आम चाहना परिपूर्तिका क्रममा दशैंमा अर्थतन्त्र चलायमान हुन्छ । यसले गर्दा आवको पहिलो र दोस्रो त्रैमासमा आर्थिक वृद्धिदर नै उच्च हुने केन्द्रीय तथ्यांक विभागको विवरणले देखाउँछ ।

चाडबाडमा हुने खर्चले आन्तरिक रूपमा तरलता प्रवाह बढाउँछ । तर, यसले अन्ततोगत्वा आयातको चक्रमा नै योगदान गर्छ ।

पछिल्लो तथ्यांक अनुसार प्रचलित मूल्यमा अर्थतन्त्र जीडीपीको आकार ४८ खर्ब ५२ अर्बको देखिन्छ । त्यसलाई वर्षभरि बाँडेर हेर्ने हो भने एक महिनामा ४ खर्बको गतिविधि हुन्छ । चाडबाडको कारणले आर्थिक वर्षको पहिलो चार महिनामा २०–२२ खर्बको आर्थिक गतिविधि हुन्छ भन्ने अनुमान गर्न सकिन्छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणकर भट्ट वर्षभरि हुने कुल आर्थिक गतिविधिको ४० प्रतिशतभन्दा बढी आर्थिक वर्षको पहिलो चार महिनामा नै हुने बताउँछन् । उनका अनुसार, तीजदेखि सुरु हुने नेपालीको पारिवारिक भेटघाट र रमझम, दशैं–तिहार हुँदै छठसम्म रहन्छ ।

राजधानीमा रहेका मानिसहरू चाडपर्व सुरु भएसँगै गाउँ जाने सिलसिला सुरु हुन्छ । गाउँतिर लाग्नुअघि राजधानीको बजारमा किनमेल हुन्छ । यसबाट अर्थतन्त्रमा योगदान दिने प्रमुख क्षेत्रमध्येको एक होलसेल तथा खुुद्रा व्यापार व्यापक रूपमा फस्टाउँछ । ‘बजारपछि क्रमिक रूपमा यातायात क्षेत्र चलायमान हुन्छ’ डा। भट्ट भन्छन्, ‘यातायातसँगै पर्यटकीय गतिविधि र होटल–रेस्टुरेन्ट चल्छन् । यो क्रम छठ पर्वसम्म रहन्छ ।’

दशैंमा नै लामो विदा हुने भएकोले नेपाली घुमघाममा निस्कन थालेका छन्, जसले आन्तरिक पर्यटन चलायमान हुने गर्छ । राष्ट्र बैंकका प्रवक्ता डा। भट्ट भन्छन्, ‘पहिला दशैं बिदा भएपछि अधिकांश मान्छे गाउँ पुग्थे, अहिले घुम्न अन्तै जान थालेका छन् ।’

विदेश घुम्ने सहरी उच्च र मध्यम वर्गले यो अवसरमा पनि रुपैयाँ विदेश नै पुर्‍याइरहेका छन् । पछिल्लो समयमा भने सरकारले भिजिट भिसामा केही कडाइ गरेर खर्चको पनि सीमा तोकेर विदेश यात्रालाई निरुत्साहित गरेको छ ।

दशैंमा नै हो, औपचारिक क्षेत्रमा कार्यरत कर्मचारीले एक महिनाको अतिरिक्त तलब पाउँछन् । यसले पनि आर्थिक गतिविधि चलायमान बनाउँछ । सबैले पैसा खर्च गर्दा हुने गतिविधिले समग्र अर्थतन्त्र चलायमान बन्छ ।

विभिन्न क्षेत्रको रकम पनि यही बेला भुक्तानी हुन्छ । यसरी जीडीपीको सबै क्षेत्रको योगदान यो बेला बढ्ने डा। भट्ट बताउँछन् । उनका अनुसार, दशैंका बेला स्वास्थ्यबाहेक सबै क्षेत्रबाट अर्थतन्त्र विस्तार हुने गर्छ । ‘चाडमा गाउँ जाने भएपछि सुरु हुने किनमेलले पहिला सहरी अर्थतन्त्र चलयमान बन्छ । त्यसको लहर गाउँघरसम्म पुग्छ’, उनी भन्छन् ।
जस्तो– अर्थतन्त्र सामान्य अवस्थामा रहेको आर्थिक वर्ष २०७३र७४ को प्रथम र दोस्रो त्रैमासमा अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदर क्रमशः ११।८ र १३।७ प्रतिशत बढेको थियो । तेस्रो र चौथो त्रैमासको आर्थिक वृद्धिदर भने ५।३ प्रतिशत र ४।४ प्रतिशत मात्र रहेको केन्द्रीय तथ्यांक विभागको विवरणमा देखिन्छ ।
आव २०७४र७५ चुनावी वर्ष थियो । आव २०७५र७६ को प्रथम त्रैमासमा १०।१ प्रतिशत र दोस्रो त्रैमासमा ७।९ प्रतिशत रहेको आर्थिक वृद्धिदर तेस्रो र चौथो त्रैमासमा क्रमश ३।२ प्रतिशत र ४।७ प्रतिशत रह्यो ।

आयातमा आधारित उपभोग

ठूला चाडबाडमा आकाशिने खर्च आयातको लागि देशबाट बाहिरिन्छ । चाडपर्वको बेला अर्थतन्त्र ह्वात्तै बढेको देखिए पनि त्यसबाट अन्ततः आयात र परनिर्भरता बढेर जान्छ ।

नेपालमा आन्तरिक उत्पादन नहुँदा अधिकांश उपभोग्य वस्तु आयात गर्नुपरेको छ । दाल–चामल र नुनदेखि सुनसम्मका वस्तु आयात हुने गरेको छ । नेपालीको उपभोग प्रवृत्तिमा आएको बदलावले विलासिताका वस्तु किन्ने चलन समेत बढ्दो छ ।

गुल्मीको मालिका गाउँपालिकास्थित सिमलटारी बजार
चाडपर्वमा सर्वत चल्ने नेपाली गाउँघरमा अहिले सफ्ट ड्रिङ्क र मदिरादेखि मासुसम्मको उपभोग बढेको छ । एकाध कृषि उत्पादनबाहेक सबै आयातमा निर्भर हुन थालेको छ । त्यसले चाडपर्वमा आर्थिक गतिविधि वृद्धिसँगै परनिर्भरता बढेको तथ्यांकहरूले देखाउँछ ।

बढ्दो तडकभडक

चाडपर्व भनेको खर्च गर्ने समय हो भन्ने मानसिकता आम रूपमा हावी हुँदै गएको छ । विगतमा विपन्न परिवारलाई कसरी मनाउने भनेर पिरोल्ने चाडपर्वलाई पछिल्लो समय सहरी मध्यमवर्गले धनाढ्य सरह खर्च गरेको देखाउने अवसर बन्न थालेको छ । आर्थिक उदारीकरणपछि सर्वसुलभ बन्दै गएको वस्तुहरूको उपलब्धता र आयस्रोतमा पहुँचका कारण चाडबाडले पहिला जस्तो ऋणको भारी बोकाउने अवस्था छैन ।

गाउँ–गाउँसम्म वित्तीय पहुँच पुगेको छ । सहकारीले गर्दा नागरिकमा बचत गर्ने बानीको विकास भएको छ । चाडपर्व मान्नकै लागि ३६ प्रतिशत ब्याजमा ऋण लिनुपर्ने बाध्यता हटेको छ । ऋण नै लिनुपरे पनि औपचारिक क्षेत्रबाट सुलभ ब्याजदरमा पाइन्छ । यी कारणहरूले गर्दा ग्रामीण नेपालीलाई पनि चाडपर्व मनाउनु ठूलो चुनौतीको विषय रहेन ।

बरु चाडपर्वमा देखासिकी बढ्दो छ । दशैंमा सहरी क्षेत्र मात्र नभई गाउँमा पनि तडकभडकपूर्ण उपभोग हुन थालेको छ । त्रिभुवन विश्वविद्यालय, समाजशास्त्र केन्द्रीय विभागका उप–प्राध्यापक दीपेश घिमिरे यसलाई चाडपर्वमा भित्रिएको नयाँ विकृति मान्छन् ।

‘पहिला चाडपर्वमा राम्रो लगाउने र राम्रो खाने भन्ने हुन्थ्यो, अहिले कसले बढी महँगो गाडी किन्ने भन्ने तहमा पुगेको देखिन्छ’ उनी भन्छन्, ‘सहर त सहर भइहाल्यो गाउँमा पनि दशैं अनावश्यक रूपमा भड्किलो बन्दै गएको छ ।’

देशको अर्थतन्त्र अत्यधिक चलायमान हुने बेलाको भड्किलो खर्चले देशको परनिर्भरता झनै बढाउने राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख डा। प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

‘मुख्यतः दशैं–तिहारले देशको अर्थ–व्यवस्थालाई नै हल्लाउँछ । कुल वार्षिक खपतको २० प्रतिशत यही बेला हुन्छ’ उनी भन्छन्, ‘आयात बढाउने यो खपतले देशको अर्थतन्त्रलाई भने कमजोर नै बनाउँछ । आन्तरिक उत्पादनमा आत्मनिर्भर भएको भए चाहिं चाडबाडमा हुने खर्चले अर्थतन्त्रमा टेवा नै पुर्‍याउँथ्यो ।’

डा। श्रेष्ठका अनुसार, व्यवसायीहरूले व्यापारिक प्रयोजनका लागि लिने चालु पूँजी ९वर्किङ क्यापिटल० र अधि–विकर्ष ९ओभरड्राफ्ट० कर्जाको हिस्सा अहिले कुल कर्जामा ४० प्रतिशत छ ।

‘सीधै आयातसँग जोडिने यस्तो फाइनान्सको ब्यालेन्स सीटमा एलसीको हिस्सा ठूलो हुन्छ’ प्रवक्ता डा। भट्टले भने, ‘४८ खर्ब ५१ अर्बको अर्थतन्त्रमा १९ खर्ब २० अर्बको आयात छ ।’

बढ्दैछ परनिर्भरता

आर्थिक वर्ष २०५०र५१ मा नेपालको कुल वैदेशिक व्यापार ७० अर्ब ८६ करोड ४२ लाख हुँदा १९ अर्ब २९ करोड ३४ लाखको निर्यात थियो । त्यस्तै, ५१ अर्ब ५७ करोड ८ लाखको आयात थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा २७।२३ प्रतिशत हुँदा आयात ७२।७७ प्रतिशत थियो ।

२०७८र७९ मा आउँदा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०।५७ प्रतिशत पुगेको छ भने निर्यात ९।४३ प्रतिशत । तीन दशकयता यसरी आयात बढ्दो र निर्यात घट्दो दरमा छ ।

‘चामल र कनिका नै वार्षिक ५० अर्बको आयात हुन्छ, आलुमै १० अर्ब गइरहेको छ’ पूर्व गभर्नर डा। तिलक रावल भन्छन्, ‘महँगा गाडी र विद्युतीय सामानदेखि विदेशी मदिरासम्मका विलासी वस्तुको प्रयोग बढेर गएको छ । यसले बढाउने भनेकै उपभोग्य वस्तुमा परनिर्भरता हो ।’

चाडबाडको बेलामा ग्रामिण भेगको तुलनामा शहरी भेगमा हुने अर्थतन्त्रको चलायमानले आयातलाई नै गतिशिल बनाउछ र नेपाली पुँजी बाहिरिन्छ । ‘चाडपर्वको समयमा विगतमा ग्रामीण अर्थतन्त्र चलायमान हुने गर्थ्यो, त्यसमा क्रमशस् कमी आउँदै गएको छ,’ राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा। प्रकाश कुमार श्रेष्ठ भन्छन्, ‘अहिले चाडपर्वमा स्थानिय उत्पादन भन्दा आयातित बस्तुकै प्रयोग हुन्छ, यसले ग्रामीण अर्थतन्त्रलाई खासै टेवा पुर्याउँदैन । उपभोग्य बस्तुको ज्यादा प्रयोगले नेपाली पूजी विदेशिने जोखिम ज्यादा हुन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार