Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

चियाको पहिचान जोगाउन संघले लेटरहेडमा चियाको लोगो राख्ने

चियाको पहिचान जोगाउन संघले लेटरहेडमा चियाको लोगो राख्ने

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज ३ २०७९


चियाको पहिचान जोगाउन संघले लेटरहेडमा चियाको लोगो राख्ने

इलाम । इलाम जिल्लालाई चियाको राजधानी भनिन्छ । तर इलामलाई चिनाउने चियाको प्रचारप्रसार पर्याप्त बन्न सकिरहेको छैन । इलामको पहिचान बोकेको चियाको माध्यमबाट इलाम जिल्लाको आर्थिक सहित पर्यटनको बिकासका निम्ति सबै लाग्न आवश्यक रहेको भन्दै सहकारीकर्मी लागेका छन् ।

यसै क्रममा इलामलाई चिनाउने र पहिचान बनाएको चियाको प्रचारप्रसारलाई अघि बढाउने उद्धेश्यका साथ बचत तथा ऋण जिल्ला सहकारी संघ इलामले आफनो संस्थाको लेटरहेडको दायाँतर्फ तीनपात एक सुइरो भएको चियाको लोगो राख्न थालेको छ । यस्तै संघले संघभित्र आबद्ध रहेका जिल्लाभरका बचत तथा ऋण सहकारी संस्थालाई पनि संस्थाको लेटरहेड तथा संस्थाको प्रचार सामाग्रीको दायाँतर्फ हरिया चियाको लोगो राख्न आग्रह गरेको छ ।

इलाम जिल्लालाई चियाको राजधानी भनेर चिनिए पनि पछिल्लो समय चियाको पहिचान हराउँदै गएको र प्रचारप्रसार कम हुँदै गएकाले चियाको प्रचार प्रसारलाई बढावा दिनकै लागि संघले यो अभियान थालेको संघका अध्यक्ष लिलाप्रसाद थापाले बताए । यसैबीच संघको २० औं बार्षिक साधारण सभा ९सोमबार० सदरमुकाममा सम्पन्न भएको छ ।

थापाको अध्यक्षता एवं राष्ट्रिय सहकारी बैंक इलाम शाखा प्रबन्धक मनोज लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न सभाले ५८ लाख ६ हजार ९ सय ५८ रुपैंयाँ बराबरको बार्षिक आयब्यय पारित गरेको छ । संघमा जिल्लाभरका ४३ वटा बचत तथा ऋण सहकारी संस्था रहेपनि १८ वटा संस्था निस्क्रिय रहेको छ ।

सक्रिय रहेका २५ वटा संस्थाको काम कर्तब्यलाई अझ तदारुकता बनाउनेगरी संघ लागेको संघले जनाएको छ । त्यसका लागि संस्था र संस्थाका सदस्यहरुको भूमिका महत्वपूर्ण रहने अध्यक्ष थापाको भनाई छ । यसैबीच संघले उत्कृष्ट संस्थाको रुपमा फाकफोकथुम गाउँपालिका–६ को परिश्रमी बचत तथा ऋण सहकारी संस्थालाई प्रशंसा पत्र प्रदान गरेको छ।

उत्कृष्ट ब्यबस्थापकको रुपमा इलाम नगरपालिका १० गोदकको फ्रेण्डसिप सहकारी संस्थाका ब्यबस्थापक सुबास राईलाई दोसल्ला ओढाएर सम्मान गरेको संघका सचिब कृष्ण बस्नेतले जानकारी दिए । यता अध्यक्ष थापाले संघको बार्षिक प्रगति प्रतिबेदन र भावि कार्ययोजनाको प्रतिबेदन पेश गर्दै जिल्लामा आएका बाह्य जिल्लाबाट आएका सहकारी संस्थाको हस्तक्षेप र आक्रमणले बचत तथा ऋणको कारोबार गरीरहेका सहकारी संस्थालाई चुनौती थपेको जनाउँदै यहाँका सहकारी संस्थाको चुस्त ब्यबस्थापन, सुदृढ संगठन र एकिकरणमा एकताबद्ध हुन अपिल समेत गरे ।

कार्यक्रममा समृद्ध पहाड परियोजना प्रमुख सुनील गौतम, कृषि संघका उपाध्यक्ष बिनोद देवान लागयतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार