झापा । झापामा प्रमुख जिल्ला अधिकारी छवि लाल रिजालले समाजमा रहेका सरोकारवाला पक्षले आत्महत्या विरुद्ध आफनो जिम्मेवारीको पहिचान गरी सचेतना फैलाउन सके आत्महत्या घटना दरमा कमि आउने बताए । आइतबार दमकमा इलाका प्रहरी कार्यालयले आयोजना गरेको आत्महत्या रोकथाम सम्वन्धि सचेतना कार्यक्रमलाई सम्वोधन गर्दै कानुन बनाएको छ भनेर मात्र आत्महत्याको घटनामा न्युनिकरण नहुने उनले बताएका हुन् ।
झापामा यसको उच्चदर रहेको हुँदा यसलाई घटाउदै लैजान स्थानीय सरकार, स्थानीय संघ संस्था सबैले योजना कार्यक्रममा राख्नु पर्ने रिजालले बताए । आत्महत्या बढनुको कारणमा धेरै कारणहरु रहे पनि आर्थिक समस्या पनि एउटा ठूलो कारण रहेको यस घटनाको शिकार आर्थिक, सामाजिक रुपले पछाडी पारिएका दलित, सिमान्तकृत लगायतका समुदाय बढी रहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
दमक नगर पालिकाका प्रमुख राम थापाले यसको बढदो उच्च दरलाई घटाउन स्थानिय सरकार सहितका सबै पक्षको सहकार्य हुनु पर्ने बताए । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक तथा कार्यालय प्रमुख विश्वमणी पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर पालिकाका उपप्रमुख रेगिना भटराई प्रसाईले आत्महत्याका घटना न्युनिकरण गर्न गाउँ,टोल सम्म अभियान सन्देशहरु चलाउनु पर्ने बताइन् ।

झापाका प्रहरी प्रमुख पोखरेलले प्रहरी कार्यालय जिल्लाको तथ्याङ हेर्दा पालिका स्तरमा सबै भन्दा बढी आत्महत्या हुने मेचीनगर नगरपालिका रहेको बताए । उनले दमक नगरपालिका जिल्लाको ५ औ स्थानमा रहेको समेत बताए । जसले निरासाका कुरा गर्दछ, एकान्तमा बस्न मन पराउछ भने त्यस्ता ब्यक्तिलाई एक्लै छोडन नहुने समुहमा राख्नु पर्ने प्रमुख पोखरेलले सुझाव दिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिलीप गिरीले कार्यक्रममा झापामा आत्महत्याको अवस्था ,आत्महत्या गर्ने तरिका ,उनीहरुले आत्महत्या गर्नको कारण, ब्यक्तिले आत्महत्या गर्नु अघि देखिने संकेत आदि विषयमा सहजीकरण गरेका थिए ।
स्थानीय सामाजिक संघ संस्था, स्काउट, एनसीसी, विधार्थी लगायतको सचेतना रयाली दमक नगर पालिका प्रांगणमा भेला भएर दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा आएर कार्यक्रममा परिणत भएको प्रहरी निरिक्षक देवानन्द मिश्रले जानकारी दिए ।