इलाम । उच्च अदालत बार एसोसिएसन इलाममा गठबन्धनका उत्तम पौडेल प्यानल निर्वाचित भएको छ । अध्यक्ष पदमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) र डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) गठबन्धनबाट उम्मेदवार बनेका पौडेल २४ मतान्तरले बिजयी बने ।
पौडेलले ३४ मत प्राप्त गर्दा गणतान्त्रिक प्रगतीशिल कानुन व्यवसायी एसोसिएसन (आरपिएलए) का कृष्ण श्रेष्ठले १० मत प्राप्त गरे । उपाध्यक्षमा विद्या सापकोटाले ३२ प्राप्त गर्दै विजयी भइन् । प्रतिस्पर्धी भिम रिजालले १२ मत ल्याएका थिए । सचिवमा लोकबहादुर तामाङ, कोषाध्यक्षमा प्रदिप अधिकारी निर्वाचित भएका छन् ।
सदस्यहरुमा जसबहादुर लुंगेली, सुधिर बोहोरा, अशेष मगर, तीर्थराज खतिवडा र जीवन कोइरालाले समेत निर्वाचित भएका छन् । केन्द्रिय पार्षदमा हिरण्य प्रसाद अधिकारी ४० मत, मणीराम निरौला ३३ मत र भाष्कर पोखरेलले ३२ मत सहित विजयी भएका छन् । तारानिधी घिमिरेले ११ मत प्राप्त गरे । अध्यक्ष सहित उपाध्यक्ष र केन्द्रीय पार्सद गरि तीन पदमा मात्र चुनाव भएको थियो । अन्य पदमा सर्वसहमत नेतृत्व चयन भएको हो ।
यस पटकको नेतृत्व चयनका लागि नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन (पिपिएलए) र नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले गठबन्धन गरेका थिए । माओवादी केन्द्र निकट गणतान्त्रिक प्रगतीशिल कानुन व्यवसायी एसोसिएसन आरपिएलएबाट श्रेष्ठले अध्यक्षमा मनोनयन दर्ता गराएका थिए ।
आगामी २ बर्षको लागि नयाँ नेतृत्व चयन भएको हो । बार एसोसिएसनको निर्वाचनमा ६३ जना मतदाता रहेका थिए । जसमा ४७ मत खसेको थियो । खसेको मत मध्ये एक मत बदर भएको छ । एसोसिएसनमा ९ जनाको कार्य समिति र ३ जना पार्षद चुनिने ब्यवस्था छ ।