इलाम । सन्दकपुर गाउँपालिका ३ का नरबहादुर राई उमेरले ४८ वर्ष पुगे । अझ धेरै बाँच्न मन छ । तर उनका दुबै मृगौलाले काम गर्न छोडेको एकवर्ष नाघिसक्यो । उपचार गराउँदा गराउँदै आफ्नो धेरै सम्पती खर्च भइसकेको उनले बताए । हालसम्म १४ लाख खर्च भइसकेको बताउने राईले कहिले मेची अञ्चल अस्पताल त कहिले बिराटनगर स्थित नोवेल अस्पतालमा उपचार गराउँदै सो रकम सकिएको बताए ।
गाउँमा नै सामान्य चिया पसल गर्ने गरेका उनको पसलबाट जिवन चलाउन नै मुस्किल भएको भएपनि थप उपचार गराउने पैसा नहुँदा परिवार पिडामा छ यतिबेला । आफुलाई पनि अधबैँसमा नै रोग लागेपछि श्रीमती र छोराछोरी पाल्न नै समस्या भएको पिडित राईको भनाई छ ।
परिवार पनि कमाउन भन्दा पनि उपचारमा नै लाग्नु पर्दा घरमा कमाइ गर्ने कोही नभएको राईको भनाई छ । एक छोरा र एक छोरी छन् राईका । छोराछोरी पनि पढ्ने उमेरका भएका कारण श्रीमतीले आफ्नै स्हार गर्दै ठिक हुने बताए ।
गाउँमा नै रहेको चिया पसल पनि बजारमा जस्तो नचल्ने हुँदा जिविकोपार्जन र उपचार गराउन समस्या भएको उनले बताए । सन्दकपुर गाउँपालिका ३ गैरीगाउँमा रहेको चिया पसलबाट घर खर्च गर्न पनि मुस्किलले पुग्ने गरेको उनले सुनाए ।
उनी एक वर्ष यता मृगौलाको डाइलासिस गराइरहेका छन् । बिराटनगर र झापाका अस्पतालपछि उनी यतिबेला इलाम अस्पतालमा सुरु भएको डाइलासिस सेवा लिइरहेका छन् । दुवै मृगौलाले काम गर्न छोडेपछि हप्तामा दुई पटक डाइलासिस गर्नु पर्ने चिकित्सकहरुले बताएका छन् ।
इलाममा नै सो सेवा सुरुभएपछि केही राहत मिलेको उनको भनाई छ । सन्दकपुरबाट इलाम अस्पताल हप्तामा दुईपटक आवतजावत गर्न र औषधिमा नै निकै खर्च लाग्ने गरेको छ । राईका १५ वर्षको एक छोरा र १७ बर्षकी एक छोरी र श्रीमती सहित गाउँमा नै बस्दै आएका छन् । सामान्य ठेक्का सहित मिस्त्रीको काम गर्दै आएका उनी रोगले थलिएपछि परिवारमा समस्या भएको उनले बताए ।
हाल उनी मृगौला फेरेर बाँच्न चाहान्छन् । तर मृगौला फेर्न अस्पतालले २५ लाख जती रकम लाग्ने बताएपछि जिवन र मरणको दोसाँधमा छन् उनी यतिबेला । उनले यस अघिको उपचारमा समेत गाउँघरबाट २०/३० हजार रकम संकलन गरिसकेको बताएका छन् । अब बाँच्ने रहर भएपनि उपचार गराउने रकम नहुँदा समस्या भएको उनले बताए ।
राईले यतिबेला दानविर मनकारीहरुको साथ खोजीरहेका छन् । उनको परिवामा समेत बिरामी भएयता पिडा बढेको छ । सहयोगी मनहरुको खोजीमा छु यतिबेला उनले भने । उनको परिवारले पनि सकेको सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।
सहयोग गर्न इच्छुकहरुले श्रीमती अमृता राईको मुक्तिनाथ विकास बैंकको खाता नम्वर १३२२१६००९३३३४००००००१ मा पैसा जम्मा गरिदिन आग्रह समेत गरेका छन् । इच्छुकले ९८१७००९९५६ मा फोन गरेर समेत रकम सहयाग गर्न सक्ने भन्दै सहयोगका लागि विन्ती गरेका छन् ।