माई : इलामको माई नगरपालिका–५ कालिखोलामा बस्दै आएका एक युवाको उपचारका क्रममा मृत्यु भएपछि उनको अन्त्येष्टि गर्न आफन्त नपाउँदा समस्या भएको छ । नागरिकतामा साविक पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका –१ ठेगाना रहेको बच्चन साहका ४० बर्षिय छोरा आषिश साहको सोमबार मेची अञ्चल अस्पताल झापामा मृत्यु भएको थियो ।
फोक्सोमा समस्या देखिएपछि उपचारका लगिएकोमा उपचार सम्भव नभएको माई–५ का वडाध्यक्ष भुपाल पुर्वछाने मगरले जानकारी दिए । मृतक साह केहि बर्षदेखि माई–५ कालिखोलामा बस्दै आएका थिए । घरदैलो ब्यपार गर्दै हिड्ने क्रममा शाहले माई–५ कै प्रमिला तुम्वाफेसंग विवाह समेत गरेका छन ।
एक तीन वर्षीया छोरी रहेका मृतक साहको श्रीमती हाल ६ महिनाकी गर्भवती समेत रहेको बताइएको छ । मृतक साहले श्रीमतीलाई समेत स्थायी ठेगाना नभनेको र अहिलेसम्म नलगिएको प्रर्मिला बताउँछिन । मृतक साहको परिवारका अन्य सदस्यहरुसंग मृत्यु भएको ३६ घण्टा सम्म सम्पर्क नहुँदा लास ब्यवस्थापनमा समस्या भएको वडाध्यक्ष पुर्वछानेको भनाइ छ ।
नागरिकताको आधारमा सम्बन्धित वडाको वडाध्यक्ष सम्म जानकारी पुर्याईएको र वडाध्यक्षले ठुलो गाउँ भएकोले पहिचान गरी खबर पठाउने जानकारी दिएको बताइएको छ । मृतक साहको घर परिवार पहिचान गर्न प्रहरी समेत लागेको लोदिया प्रहरी चौकी दानाबारीका प्रमुख पदम सुन्दर लिम्बूले बताए ।
यता वडाध्यक्ष पुर्बछाने परिवारको पहिचान गरि जिम्मा लगाउन केहीदिन लाग्न सक्ने भन्दै मृतकलाई मेची अञ्चल अस्पताल झापाको लास गृहमा ४–५ दिन राख्ने तयारीमा रहेको बताए ।