इलाम । इलाम बजारमा बढ्दै गएको अब्यवस्थित यातायात ब्यवस्थापनमा इलाम नगरपालिकाको नगर पर्यटन समितिले चासो देखाएको छ । पर्यटनमैत्री बजार निर्माणमा यातायात ब्यवस्थापन पनि महत्वपुर्ण रहेकाले सो समितिले यसमा चासो देखाएको हो । समितिले इलाम सदरमुकाममा इलाम नगर क्षेत्रको ट्राफिक ब्यवस्थापन सम्वन्धमा सम्वन्धित सेवा क्षेत्र एवम् सरोकारवाला संस्था तथा कार्यालयहरु बिच अन्तरक्रिया आयोजना गर्दै सम्वन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
कार्यक्रममा उपस्थितहरुले अब्यवस्थित पार्किङले समस्या निम्तिएको बताएका छन् । इलाम नगरपालिकाका प्रमुख केदार थापाले इलाम चोक बजार भित्र निजि सवारी तथा मोटर साइकललाई मात्र ब्यवस्थित पार्किङको ब्यवस्था मिलाउन ट्राफिक प्रहरीलाइ आग्रह गरेका छन् । उनले मोटर साइकल पार्किङको छुट्टै स्थान रहेकाले सोही स्थानमा पार्किङ गराउन आग्रह गरे।
इलाम बजार मालापथमा बिहानदेखी बेलुकासम्म रहने सोयाङ, नयाबजार, प्याङ क्षेत्रका सवारीले यातायात ब्यवस्थापनमा समस्या गराएकाले तिनको ब्यवस्थापनमा समेत नगरपालिका लाग्ने बताए । उनले सो स्थानमा रहेका सवारीलाई आदर्श माविको जग्गा (पुरानो कृषि बजार) मा राख्ने र बिहान बेलुका मात्र सो स्थानबाट सञ्चालन गराउने समेत बताए । इलाम नगरपालिकाले ट्राफिक ब्यवस्थापन सम्वन्धि योजना बनाइसकेको बताउँदै कार्यान्वयनमा लाग्ने बताए ।
कार्यक्रममा इलाम नगरपालिकाकी उपप्रमुख बिष्णु दाहालले इलामको समृद्धिसँग पर्यटन जोडिएकाले नगरपालिकाले पर्यटन प्रवद्र्धनमा चासो राखेको बताइन्। उनले ट्राफिक ब्यवस्थापनमा समेत नगरपालिकाले उत्तिकै चासो राखेकाले क्रमशः ब्यवस्थित हुने धारणा राखिन् । एकातिर इलाम बजार भित्रको सडक नै साघुँरो अर्कातर्फ दुवै किनारामा मोटरसाइकल पार्किङले अझ समस्या निम्तिएको सरोकारवाला निकायको धारणा छ ।

होटल एसोसिएसन इलामका अध्यक्ष देवी पौडेलले मोटरसाइकल जथाभावी पार्किङ गर्ने गरिएकाले समस्या निम्तिएको बताए । उनले इलाम बजारका केही होटल बाहेकमा पार्किङको सुविधा नभएका कारण पनि समस्या बढेको बताए ।
इलाम नगरपालिका ९ शेरामा रहेको बसपार्क निर्माण सम्पन्न भएर पनि अर्कै प्रयोजनमा लगाइएकाले यो परिस्थिती आएको नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष बिप्लब भट्टराईले बताए । उनले तत्काल बसपार्क सञ्चालन गराउन नगरपालिका लाग्नु पर्ने धारणा राखे । बाहिरबाट आउने पर्यटकहरुले होटलभन्दा पहिला पार्किङ सोध्ने गरेकाले पनि पार्किङ ब्यवस्थित हुनु पर्ने उनले तर्क छ ।
बजारको सुन्दरता नै भिडभाड भएकाले भिडभाडलाई ब्यवस्थित गर्नु पर्ने पूर्वेली ट्याक्सी जिप तथा यातायात प्रालिका अध्यक्ष ग्रीष्म सुब्बाको भनाई छ । उनले पार्किङ ब्यवस्थित गर्न सके भिडभाडले मात्र खासै असर नगर्ने बताए । मोटरसाइकल चालकलाई लाइसेन्स लिँदा नै पार्किङ सम्वन्धित ज्ञान दिनु पर्ने धारणा राखे।
बजारबासी हुकुम थेवेले यातायात मात्र समस्या नभएको भन्दै सडकको अवस्था सुधार गर्नु पर्ने धारणा राखे । उनले सधै यातायातले मात्र भिड बढाउने कुरा बाहिर आए पनि सडकको अवस्थामा कसैको ध्यान नगएको भन्दै चिन्ता ब्यक्त गरे। सबैले नियम कानुन मानेर अघि बढ्ने हो भने समस्या नरहने सरस्वती कर्माचार्यको भनाई छ । उनले पनि कहाँ पार्किङ गर्ने हो भनेर पहिला सिकाउनु पर्ने धारणा राखे ।
इलाम नगरपालिका–७ का वडा सदस्य बिमल बैद्यले इलाम पुरानो बसपार्कमा निर्माणाधिन ट्याक्सी स्टेण्ड सम्पन्न भएपछि समस्या समाधान हुने बताए । उनले सो स्टेण्ड सम्पन्न भएपछि ५० प्रतिशत समस्या हराउने धारणा राखे ।
जिल्ला प्रहरी कार्यालय इलामका डिएसपी गंगाबहादुर थापाले जिल्लामा ९ जनाको दरबन्दी रहेको भएपनि हाल २० जना ट्राफिक हुँदा पनि अझै अपुग भएको बताए । उनले ५५ किलोमिटर पक्की र ३ सय ३६ किलोमिटर कच्ची सडक रहेकाले एकजना ट्राफिकले ८७ किलोमिटर सडक हेर्नु परेको बताए ।
ट्राफिक संकेतको समेत कमि भएको उनको भनाई छ । यातायात ब्यवस्था सेवा कार्यालय इलामका निमित्त प्रमुख रविन श्रेष्ठले गएको एकै वर्ष १ हजार ६ सय गाडी कार्यालयमा दर्ता भएको बताए । यातायातका साधन बढ्दै गएकाले पनि यस्तो समस्या बढ्दै गएको उनको धारणा छ ।
कार्यक्रममा सञ्चारकर्मी भिम चापागाइँले इलाम नगरपालिका भित्र रहेको ट्राफिक जाम र भोग्नु परेको असरबारेको एक भिडियो सामाग्री प्रस्तुत गर्नुभएको थियो । पर्यटन समितिका संयोजक प्रकाश अधिकारी अध्यक्षतामा सम्पन्न कार्यक्रममा केचना कन्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली, ट्राफिक प्रहरी प्रमुख लगायत बिभिन्न संघसस्था तथा कार्यालयका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
रिना घिमिरेले कार्यक्रमको संचालन गरेकी थिइन् ।