इलाम । इलाम नगरपालिका–७ को समग्र बस्तुस्थिती समेटिएको स्मारिका सदरमुकाममा एक कार्यक्रमका बीच आइतबार बिमोचन गरिएको छ । इलाम नगरपालिकाकी उपमेयर बिष्णु दाहाल लिम्बूले स्मारिका विमोचन गरिन् । वडा नम्बर ७ ले तयार पारेको स्मारिकामा बिभिन्न २२ शिर्षकमा बिषयबस्तुहरु समेटिएको छ।
वडाध्यक्ष नरेश श्रेष्ठको अध्यक्षमा भएको बिमोचन कार्यक्रममा उपमेयर लिम्बूले इलाम जिल्लाको सदरमुकाम रहेको यस वडा नम्बर ७ ले वडाको समग्र बिषयलाई समेटेर प्रकाशन गर्नु महत्वपूर्ण कुरा रहेको जनाउँदै यस स्मारिकाले सिंगो नगरपालिकाको गतिबिधिलाई समेट्ने किसिमको प्रोफाइल बनाउन मद्धत पुग्ने बताइन् ।
कार्यक्रममा नगरपालिकाका निवर्तमान मेयर महेश बस्नेतले इलाम नगरपालिकाले नगरको भौतिक, कानुनी र मानविय सोचको आधार तयार गरेको उल्लेख गर्दै वडाको समग्र बिषयबस्तु समेट्न नसके पनि नगरको बिकास र समृद्धिका लागि एउटा आधार खडा गरेको उल्लेख गरे । उनले यस वडाको भौतिक संरचना, बाटोघाटोको अवस्था, सांस्कृतिक, धार्मिक, प्राकृतिक, खेलकुद जस्ता बिषयबस्तुलाई थोर बहुत समेटे पनि पूर्ण रुपमा समेट्ने गरी नगरको प्रोफाइल बनाउन मद्धत पुग्ने जनाए ।
कार्यक्रममा इलाम नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष दिलिप प्रधानले वडा नम्बर ७ ले वडाको स्मारिका प्रकाशनले अन्य वडालाई यसको प्रेरणा मिलेको उल्लेख गरे। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगाना, इलाम नगरपालिका–१ का पूर्व वडाध्यक्ष अम्बिका गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए । स्मारिका प्रकाशनका लागि युद्धप्रसाद बैद्यको संयोजकत्वमा ११ सदस्यिय समिति रहेको थियो ।
जसको सदस्यहरुमा कोमल निरौला, देवीप्रसाद गौतम, राजेन्द्रप्रसाद बराल, हिराकाजी घले, बिकास कर्मचार्य, कमल श्रेष्ठ, शारदा उप्रेती, हरिनन्दन निरौला, रोशन बुढाथोकी र सदस्य सचिबमा बबुल भक्तराज रहेका थिए। अघिल्लो आर्थिक बर्षमा नै स्मारिका प्रकाशन गर्ने तयारी गरेको वडा कार्यालयले कोरोना महामारी र निर्वाचनको कारण गर्न नसकेको जनाएको छ ।
इलाम नगरपालिका वडा नम्बर ७ को ऐतिहासिक चिनारी, संस्थागत बिकास, नगरपालिका र वडाको जनसंख्या बिबरण एवं वडाको भू उपयोग, पूर्वाधार एवं पर्यटन बिकास र उपलब्धि, कृषि तथा पशुपालन क्षेत्रको बिकास र उपलब्धि, शिक्षा क्षेत्रको बिकास र उपलब्धि, साहित्य, संस्कृति र कला, स्वास्थ्य क्षेत्रको बिकास र उपलब्धि, समेटिएको छ ।
त्यसैगरी कोरोना रोकथाम तथा नियन्त्रणमा वडाको पहल, खानेपानी वाताबरण, सरसफाई तथा बिपद ब्यबस्थापन, सुचना र सञ्चार, धार्मिक सांस्कृतिक क्षेत्रमा भएका बिकास र उपलब्धि, सामाजिक क्षेत्रको बिकास र उपलब्धि जस्ता बिषयहरु स्मारिकामा समेटिएका छन् । यस्तै वडा न्यायिक समिति र मुद्धाको तथ्याङ्क, वडा बिकासका संभावित भावि योजना, राजश्व संकलनमा वडाको योगदान, वडा मार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु र इलाम बजार क्षेत्रको ऐतिहासिक तस्बिरहरु समेटीएको छ ।
वडाध्यक्ष नरेश श्रेष्ठले वडालाई अझ प्रबिधिमैत्री बनाउने गरी वडाले काम गरिरहेको जनाए। नामसालिङ्ग सामुदायिक बिकास केन्द्र (एनसिडिसी) को प्राबिधिक सहयोगमा वडामा मोबाइल एप्सलाई प्रयोगमा ल्याउने तयारी गरीरहेको वडाध्यक्ष श्रेष्ठको भनाई छ ।