इलाम । परम्परागत घरेलु मदिरा कोदोको रक्सी प्रर्वद्धनमा दबाबका लागि प्रदेश नम्बर एकमा काम अघि बढाइएको छ । परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रर्वद्धन समितिले प्रदेशका विभिन्न जिल्लामा समिति गठन गरेर दबाबको काम अघि बढाउँदै आएको हो । समितिले इलाममा साधना फागोको नेतृत्वमा २१ सदस्यीय समिति गठन गरेको छ ।
हालसम्म प्रदेश १ का मोरङ, सुनसरी, झापा लगायतका जिल्लाका समिति नै गठन गरेर काम अघि बढाएको छ । रक्सी उत्पादनको लागि मदिरा ऐन २०३१ र मदिरा सम्बन्धी नियमावली २०३३ ले प्रतिबन्ध लगाएको र ऐन संशोधन गर्न राजनीतिक दललाई दवाव दिन समिति गठन गरिएको जनाइएको छ । तत्कालिन प्रदेश १ को सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने चर्चा चलाएकी थिइन् ।
उनले २०७८ चैत १३ गते सामाजिक विकास मन्त्रीको पदभार ग्रहण लगत्तै कोदोको लोकल रक्सीमाथिको व्याण्ड हटाएर ब्राण्ड बनाउने नारा प्रदेश १ बाट लागु गर्न कोशिस गर्ने बताएकी थिइन् । २०७७ साल असार १५ गते संसदको विनियोजन विधेयकमाथिको छलफलका क्रममा लोकल रक्सीलाई व्यवसायीकरण र औद्योगिकरण गर्न सके सिंगो देशको आर्थिक समृृद्धिमा टेवा पुग्ने भन्दै ‘व्याण्ड भर्सेज ब्राण्ड’को नीति अख्तियार गर्नुपर्ने धारणा राखेपछि घरेलु मदिरालाई ब्रान्डिङ गर्ने बिषयले चर्चा पाएको थियो ।
पुर्वमन्त्री राईको धारणापछि प्रदेश सरकारले तत्कालिन प्रदेश १ योजना आयोगका सदस्य (हाल उपाध्यक्ष) पूर्णकुमार लोक्सोमको संयोजकत्वमा अध्ययन कार्यदल बनाएर कार्य अघि बढाएको थियो । कार्यदलले ४ महिनाको अवधिमा विभिन्न जिल्लाका उत्पादक, उपभोक्ता र जनप्रतिनिधिसँगको प्रत्यक्ष जानकारी सर्वेक्षण तथा सम्बद्ध विज्ञबाट प्राप्त राय सुझावको आधारमा ७० पृष्ठ लामो प्रतिवेदन तयार पारेको थियो । त्यसपछि परम्परातग घरेलु मदिरालाई कानुनी मान्यताका लागि दबाब स्वरुप जिल्ला जिल्लामा विविधि कार्यक्रमहरुले तिव्रता पाउँदै आएको छ ।
परम्परागत घरेलु मदिरा (कोदोको रक्सी) प्रर्वद्धन प्रदेश समितिले इलामको सूर्योदय नगरपालिका–८ शान्तिचोकमा कार्यक्रम आयोजना गर्दै घरेलु मदिरालाई कानुनी प्रक्रिया पुरा गरेर ब्रान्डिङको माग राखेको छ । कार्यक्रममा बोल्दै समितिका संयोजक टेक बहादुर खुजुमले अहिले पनि नेपालमा करिब २३ अर्ब बराबरको कोदो आयात हुँदै आएको बताए । उनले प्रतिबन्धन गरेर भन्दा पनि ब्रान्डिङ गरेर स्वरोजगार बृद्धि गर्न सकिने बताए । कार्यक्रममा निवर्तमान प्रदेश सांसद काजीमान कागतेले नेपालमा कोदो खेती प्रोत्साहन गर्नुपर्ने बताए ।
उनले घरेलु रक्सीको फाइदा र बेफाइदा बारे अध्ययन गर्नुपर्ने बताए । कागतेले घरेलु रक्सीसंगै गाउँका बारीमा उम्रिएका गाँजालाई समेत कानुनी प्रक्रिया पु¥याएर अघि बढ्नुपर्ने बताए । उनले कानुनी प्रक्रिया पु¥याएर अन्तराष्ट्रिय रुपमा बजारीकरण गर्नाले देशले आर्थिक उपार्जन समेत गर्ने बताए । प्रदेश १ को खोटाङ, ओखलढुङ्गा उदयपुर लगायतका जिल्लामा उल्लेख्य मात्रामा कोदोको उत्पादन हुँदै आएको छ । रक्सी नेपाली संस्कार र संस्कृतिसँग पुस्तौँदेखि जोडिँदै आएको छ ।
नेपालको कतिपय जाति समुदायमा पूजाआजा, संस्कार, संस्कृति र चाडपर्वको नाममा मदिराको प्रयोगलाई अनिवार्य गरिएको छ । कतिपय समुदायहरूमा बच्चा जन्मदेखि मृत्यु संस्कारसम्मका विभिन्न धार्मिक तथा सांस्कृतिक अवसरहरुमा रक्सी चढाउने, पिउने परम्परा रहेको पाइन्छ । प्रर्वद्धन समितिका मिडिया कोअर्डिनेटर दिपिन राईले घरेलु रक्सीलाई ब्रान्डिङ गर्नाले बर्सेनी नेपालबाट मदिराका लागि बाहिरिने अर्बौ रुपैया रोकिने बताए । उनले घरेलु मदिरालाई कानुनी दायरामा ल्याएर विक्रि वितरण गर्ने नीति बनाउँदा कोदोको उत्पादन प्रोत्साहन र किसानको आय स्तरमा समेत सुधार हुने बताए ।
राईले आगामी बैशाख ४ र ५ गते धनकुटा र तेह्रथुममा समिति गठनको कार्यक्रम राखिएको बताए । त्यसैगरी १० गते पाँचथर र १२ गते ताप्लेजुङमा समिति गठन तथा अन्तरक्रिया कार्यक्रम राखिएको उनले बताए । झापामा घरेलु मदिरा उत्पादन गर्दै आएकी पुष्पा बोखिमले ५ केजी कोदोबाट ४ बोतलसम्म गुणस्तरिय रक्सी उत्पादन गर्न सकिने बताए । उनले प्रति बोतल ४ सय रुपैयासम्म विक्री हुँदै आएको बताइन् ।
नेपालको रक्सीलाई विश्वकै ५० मीठो पेयपदार्थको सूचीमा सूचीकृत गरिएको छ । अमेरिकी सञ्चार एजेन्सी सीएनएनले ८ मे २०१८ मा प्रकाशित ट्राभल जर्नलमा ‘वल्ड्र्स फिप्टी मोस्ट डेलिसियस ड्रिंक्स’ शीर्षकमा संसारका ५० मीठो पेय पदार्थको सूचीमा रक्सीलाई पनि समावेश गरेको छ । यस जर्नलमा नेपाली रक्सी ४१औँ नम्बरमा परेको छ । नेपालमा उत्पादन गरिने कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले तुरुन्तै थाहा पाउने र पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि आनन्द दिने उल्लेख छ ।
नेपालको हिमाली भेगमा बस्नेहरु चिसोबाट जोगिन तथा पहाडमा जाडो भगाउन घरमा बनाएको रक्सी पिउने गरेका छन् । पहाडमा उकालो र ओरालो गर्दा प्यास मेट्न साथै तराईमा परिश्रम गरेर थकाइ मारिरहँदाको अवस्थामा गलेको शरीरलाई आराम दिन मदिरा सेवन गर्ने चलन रही आएको छ । चाडपर्वमा चिल्लो र गुलियो बढी मात्रामा खाने हुँदा त्यसको असरलाई काट्न पनि जाँडरक्सी पिउनुपर्दछ भन्ने मान्यता छ ।
गत आर्थिक बर्षको ११ महिनामा झापाको काँकडभिट्टा नाकाबाट मात्र १४ करोड ९४ लाख ७५ हजार रुपैयाँ मुल्य बराबरको ४ हजार ६ सय ७१ मेट्रिक टन कोदो आयात गरिएको तथ्यांकले देखाउँछ ।